रुसमा विमानमा आगलागी, ४१ काे मृत्यु

मस्को । रुसको राजधानी मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ ।

रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्। विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य थिए ।

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।

सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ । अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ ।

प्रतिक्रिया