मान्छेमा नै बर्डफ्लु, २१ वर्षे युवकको मृत्यु

काठमाडौं । पंक्षीमा लाग्ने बर्डफ्लु (एन्फ्लुएन्जा ए एच.फाइभ, एन.वान) नेपालमा पहिलोपटक मानिसमा नै देखा परेको छ । २१ वर्षीय युवकमा एन्फ्लुएन्जा रोगको संक्रमण भएको हो ।

ती युवकको १५ चैतमा मृत्यु भएकोमा जापानस्थित डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुयन्जामा ¥याल नमुना परीक्षणपछि बैशाख १७ गते बर्डफ्लु लागेको पुष्टि भएको थियो । अस्पतालमा भर्ना भएको र चिकित्सकद्वारा एन्फ्लुएन्जा रोगको संक्रमण भएको शंका लागी घाँटीको ¥याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा चैत्र ११ गते ल्याइएको थियो ।

तर उनको कुन अस्पतालमा उपचार भएको थियो भन्ने कुरा सार्वजनिक गरिएको छैन । विहिबार स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी बर्डफ्लुको संक्रमण भएको स्पष्ट पारेको छ । यसअघि कुखुरा तथा चराहरूमा बर्डफ्लु देखा परेपनि मानिसमा सरेको पुष्टि भएको थिएन ।

पहिलोपटक यसको संक्रमण मानिसमा भएको र त्यसबाट संक्रमितको उपचारका क्रममा मृत्यु गएको पुष्टि भएपछि स्वास्थ्य र कृषि तथा पशुपंक्षी मन्त्रालय संयमित भएको छ ।

बर्डफ्लु नामले चिनिने इन्फ्लुएन्जा रोगको संक्रमण भएपछि उपचार पाए पनि आधाभन्दा बढी संक्रमितको मृत्यु हुने गरेको विश्वको अनुभव छ ।

देशमा भाइरस यकिन गर्न सक्ने परीक्षण प्रविधिको अभावका कारण यसको रिपोर्ट केही दिनपछि सार्वजनिक भएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले संक्रमणबाट मृत्यु भएका व्यक्तिको बारेका थप विवरण र उपचार गराउने स्वास्थ्य संस्थाबारे जानकारी गोप्य राखेको छ ।

सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म ८ सय ६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ । यस भाइरसको संक्रमण हुँदा आधा जति विरामीहरु (४ सय ५४ जनाको) मृत्यु भएको तथ्यांकले देखाएको छ ।

यस संक्रमणको सम्बन्धमा नियमित निगरानीका क्रममा गरिएको प्रयोगशाला परीक्षणहरूमा अन्य कुनै पनि बिरामीमा इन्फ्लुएन्जा ए (एच.पाइभ, एन.वान) भाइरसको संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो भाइरसको संक्रमण पंक्षीहरूमा हुने गर्दछ । संक्रमणपछि केही लक्षणहरू देखिने गर्छन् भने संक्रमित पक्षीको मृत्यु समेत हुने गर्छ । यो भाइरस संक्रमित पंक्षीबाट मानिसमासमेत सर्ने गरेको पाइएको छ, तर मानिसबाट मानिसमा सरेको भने हालसम्म पाइएको छैन । सामान्यतया संक्रमित पक्षीको संक्रमणको १० दिनपछि मृत्यु हुने गर्दछ भने १० दिनभित्र पंक्षीको विना सुरक्षा सम्पर्कमा आउने मानिसमा यसको संक्रमणको खतरा हुन्छ ।

यसको संक्रमित तथा यसका कारण मरेको पक्षीको मासु, सुली, अण्डालगायतको सम्पर्कका कारण यो भाइरस मानिसमा सर्ने गरेको पाइएको छ । ७० डिग्री सेल्सियस तापक्रममा भाइरस मर्ने भएकाले राम्ररी मासु पकाएर खाएमा भने यसको संक्रमणको खतरा नरहने पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्माले बताए ।

यसबाट बच्न संक्रमित तथा मृत पक्षीबाट टाढा रहने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

नेपाल सरकारले यसको संक्रमणका सम्बन्धमा विस्तृत अध्ययन गर्न लागेको पनि बताइएको छ । यो मानिसमा सजिलै संक्रमित हुदैन र यो मानिसबाट मानिसमा सामान्यतयाः सर्दैन । राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो फैलिन सक्दैन । यसको लक्षण भनेको उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांशपेसीहरु दुख्ने र सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने समेत हुन्छ ।

प्रतिक्रिया