मेरो सास रहुन्जेल कराँतेलाई छोड्न सक्दिनँ – रामदास गोपाली

रामदास गोपाली, कराँते खेलाडी तथा प्रशिक्षक

तपाईको खेल यात्रा कसरी सुरु भयो ?
मेरो जन्म मकवानपुर जिल्ला हालको थाहा नगरपालिका– १० मा भएको हो । म खेलकुद भनेपछि सानैदेखि एकदमै रुचि राख्ने गर्दथेँ, सानैदेखि गाउँ घरमा खेलिने भलिवल, फुटबल लगायतका खेलमा सहभागी हुन्थें । जब मैले विद्यालय तहको पढाई सकेर काठमाडौं प्रवेश गरें । त्यसपछि चाहिँ मैले आफ्नो रुचि भएको कराँते खेलतिर लागें । कराँते सिक्ने ठाउँ मेरो कलेज जाने बाटोमै थियो । पढाईबाट बचेको समयमा मैले कराँते सिक्न थालेँ । मैले नेपाल कराँते महासंघ अन्र्तगतको शाखा डोजो घण्टाघरमा कराँते सिकेको हुँ । जसको अभ्यास त्रिचन्द्र क्याम्पसको भित्र ग्राउण्डमा गराइन्थ्यो । सोही क्रममै पढाई र कराँते खेल मैले सँगसँगै लिएर गएँ । सुरुआतमा त रुचिकै हिसाबले विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन्थें  तर खेल्दै, सिक्दै जाँदा कराँते खेल मेरो पेसा नै बनेर गयो । मेरो नशानशामा कराँते नै छ । म पेसागत हिसावले खेलतिर लागेको १५ बर्ष भयो तर सिक्दै रहरको लागि खेलेको त अझैं दोब्बर भयो ।

अन्य खेल तिर नलागेर किन कराँते तर्फ लाग्नु भयो ?
गाँउघर तिर धेरै खेलिने खेल भनेको भलिवल हो, तर भलिवल खेल्न मेरो हाईट पुगेन । अरु खेलहरूतर्फ त्यति रुचि लागेन । मलाई एक्सन भनेपछि असाध्यै मन पर्ने, त्यसकारण पनि कराँते तिर रुचि बढेको हो । खेल्दै गइयो प्रतिस्पर्धामा सहभागी हुदैं गएँ, सिक्दै गए । रुचि पनि यही पेसा पनि यही कराँते बन्दै गयो । अब त कराँते खेल मेरो दैनिक नियमित कर्म जस्तै भईसक्यो ।

हाल तपाईंको दैनिकी कसरी बितिरहेको छ ?
अहिले मेरो दैनिकी अन्तर्गत शनिबार बाहेक हरेक बिहान ५ देखि दुई घण्टा शाखा डोजो घण्टाघरमा कराँते सिकाउँछु । त्यसपछि आफू पनि क्लास लिन्छु, या नयाँ कुराहरू कराँतेबारे नै सिक्दै छु । दिन दिनै आफू पनि सिक्ने बच्चाहरूलाई सिकाउँछु । अनि त्यसपछि अन्य कामह गर्छु । हाल कराँतेबाहेक अन्य खेलतिर समय दिएको छैन ।

के कस्ता प्रतियोगितामा सहभागी हुनुभयो ?
हालसम्म मैले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिहरू समम भाग लिईसकेको छु । मैले नेपालमा धेरै हुने डोजो प्रतियोगिता, जिल्ला स्तरीय, भ्याली स्तरीय तथा राष्ट्रिय स्तरको थुप्रै प्रतियोगितामा सहभागी भईसकेको छु । पछिल्लो समय मैले जापान गएर बल्र्ड कोचिका कराँते फडेरेसनबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर गोल्ड मेडलसमेत जितेको छु । खेलमा सहभागी भईकेपछि पदकबिहीन हुनु परेको छैन । कहीँ गोल्ड मेडल, कहीँ कास्य त कहीं रजत पदक जितेर नै आएको छु ।

रामदास गोपाली, कराँते खेलाडी तथा प्रशिक्षक

घरपरिवारको साथ कत्तिको छ ?
म जहाँ जुनसुकै फिल्डमा गएपनि घरपरिवारको साथ सहयोग एकदमै सकारात्मक हुन्थ्योे, छ पनि । मैले जति घरपरिवारको साथ पाएँ अहिलेको सफलता, मेरो नाम त्यसैको प्रतिफल हो ।

विशुद्ध खेलाडी भएर दैनिकी चल्छ त ?
विशुद्ध खेलाडी भएर दैनिकी चलाउन गाह्रो नै छ । विशुद्धरूपमा खेलमा लागेका खेलाडीहरूको लागि राज्यले बाँच्न सक्ने स्थिति गराईदिनु पर्छ । उचित भौतिक विकासँंगै देशको नाम राख्ने खेल जगतलाई राज्य हेर्नु पर्दछ । उच्च मूल्यांकन गरिदिनु पर्छ । मेरो विचारमा खेलाडीलाई तलब नै दिएर पनि खेललाई उत्थान गरिदिनु पर्छ । सरकारले एकपटक तलब दिने भनेर अनुबन्ध गरे पनि तलव नपाएको गुनासो आउने गरेको पनि सुनिन्छ । सरकारले खेलाडीलाई खेलमा सहभागी भएर बाँच्न सक्ने अवस्था सृजना गरिदिनु पर्छ ।

 

कराँते खेल तथा खेलाडीका समस्याहरू के के हुन ?
कराँते खेलमा समस्या भन्नाले प्रमुख कुरो यसैलाई पेशा बनाएर बाँच्न सक्ने अवस्था नै छैन । त्यस्तै, देश तथा विदेशमा राम्रो खेल खेलेर आएका खेलाडी आज सम्मान हुने तर भोलि गएर बिर्सिदिने भएकाले खेलाडीहरू टिकाउन समस्या छ । राज्यले उचित मूल्यांकन गर्न नसक्दा खेलबाट पलायन हुने अवस्था छ । कराँते खेल्न देशको कुनै पनि ठाँउमा उचित कबड हल नै छैन । कंक्रिटको भुईमा खेल्नु पर्ने बाध्यता छ ।

 

राज्यसँग तपाईंको अपेक्षा के हो ?
कराँतेलगायतका अन्य खेल तथा कुशल खेलाडीहरूको लागि राज्यले पहिलो प्राथमिकतामा खेल्ने ठाँउ तथा भौतिक पूर्वाधारको व्यवस्था गरिदिनु पर्छ । जसले नयाँ नयाँ खेलाडी उत्पादन गर्न र उत्पादित खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकोस । कम्तिमा खेलाडी प्रयोग गर्ने साधनहरूको व्यबस्था सरकारले गरि देओस् । विदेशमा विभिन्न प्रतियोगीताहरू जितेर आएका खेलाडीहरूको उचित सम्मान गरि देओस । खेलाडीलाई बााच्न सक्ने अवस्था राज्यले सृजना गरिदेओस् भन्ने मेरो अपेक्षा छ ।

 

कराँतेमा युवाहरूको आकर्षण कस्तो छ ?
कराँतेमा सानै उमेर देखिका बच्चाहरूको आर्कषण बढेको छ र युवाहरू कराँते खेल खेल्न उत्साहीत छन । घरघरमा खेलाडी छन् , आँगन आँगनमा डोजो छ । तर अलि उमेर बढ्दै जादा अन्य जिम्मेबारी थपिंदै जाँदा यस खेलमा निरन्तरता दिन सकेका छैनन् । चाख छ तर उचित खेल्ने ठाँउ पनि छैन । यदि संघर्ष गरेरै सिके पनि त्यसको उपलब्धि शून्य प्रायः हुने भएकाले घर व्यबहार चलाउन खाडी जानु पर्ने स्थिति पैदा भएपछि खेलाडीहरू टिक्न सक्दैनन ।

 

कराँते खेल के हो ?
कराँते खेल प्रयोगात्मक कलात्मक एउटा सीप हो । यो कलात्मक एक प्रकारको देश चिनाउने माध्यम नै हो । यसले हरेक व्यक्तिलाई स्वच्थ रहन, आत्मरक्षा गर्न सहयोग गर्दछ ।

 

खेल क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिन्छ नि ?
उत्पादनमुलक क्षेत्र नै हो देशलाई विश्वमा चिनाउन खेलले ठूलो महत्वपूर्ण भुमिका खेलेको छ । धेरैजसो म ठाँउमा मानिसहरूले नेपालको नाम समेत सुनेका थिएनन होला । जति पनि खेल भए त्यसमा सहभागीले नेपालको नाम थाहा पाएँ । अव नेपाल के रहेछ भनेर खोज्छन नेपाल घुम्न आउछन भने, यो क्षेत्र कसरी अनुत्पादक हुन्छ ? खेलाडीले खेल मार्फत देशको ईज्जत वढाएको हुन्छ ।

नेपालको हकमा कराँते खेलको पहुँच कम जस्तो देखिन्छ नि ?
नेपालमा कराँतेलाई प्रबद्र्धन गर्ने, लगानी गर्ने संघसस्थाहरू त्यति धेरै मात्रामा छैनन् । राष्ट्रको ढिकुटिबाट कराँते प्रतियोगिताका लागि आउने कुरो पनि भएन । कराँतेमा ठूलठुला आयोजक र प्रायोजक नभएकै कारण पहुँच कमजस्तो देखिएको हो । सरकारले प्रवद्र्धन गरेन, लगानी गर्ने प्रायोजक नभएकाले आर्थिक अभावले नै कराँते खेल ओझेमा परेकोे छ ।

भावी योजना
मेरो सास रहुन्जेल म कराँतेलाई छोड्न सक्दिन । कुनैदिन खेलाडी थिए अनि प्रशिक्षक पनि बने, भोलिका दिन रेफ्रि बनिएला । यसरि नै विश्व कराँते महासंघसम्म पुग्ने लक्ष्य छ । खेल जिवनमा रहरले मात्र हुदैन संघर्ष धेरै गर्नु पर्छ त्यसकारण म निरन्तर संघर्ष मै रहनेछु ।

प्रतिक्रिया