पशु उपचार प्रभावकारी बन्दै

जनकपुरधाम । जिल्ला पशु सेवा केन्द्र धनुषाको पशु उपचार सेवा प्रभावकारी बन्दै गएको विगतको तथ्यांकबाट बुझिएको छ ।

संघीयता आएसँगै पशुसेवा कार्यालयको नाम परिवर्तन गरी प्रादेशिक भेटनरी विज्ञ केन्द्र नामकरण गरिएको सो कार्यालयमा दैनिक ५० पशुको उपचार गरिने गरिएको देखिएको छ ।

खासगरी बाख्रा ,कुकुर, भँैसी, गोरु, गाई, घोडा, बिरोलो, खरायो र कुखुराको दैनिक उपचार गरिँदै आएको छ । सो कार्यालयमा अन्य निकायभन्दा कम शुल्कमा उपचार सेवा प्राप्त भएपछि पशुधनीहरू निकै नै खुसी छन् ।

गत साउनदेखि चैतसम्ममा तीन हजार पाँच सय भन्दा बढी पशुलाई सफलतम उपचार गरिएको पशु चिकित्सक रामअशिष साहले वताए । दुई चिकित्सक र तीन प्राविधिकको भरमा चलिरहेको पशु अस्पताल प्रादेशिकस्तरकै भेटनरी अस्पताल निर्माण हुने क्रम जारी रहेको छ ।

कार्यालय प्रमुख तथा पशु चिकित्सक डा.शम्भु साहका अनुसार टाढा– टाढासम्म पनि पशुहरूलाई उपचार गर्नका लागि टोली बनाएर नै जाने गरेको वताए । डा. शाहका अनुसार धनुषाको कमला नगरपालिकाको पशुहरूमा केहि दिन पहिले भ्यागुते र चरचरे रोगले सन्त्रास फैलाएको थियो र त्यसलाई निराकरण गर्नका लागि मन्त्रालयसँग समन्वय गरी ठाउँमै गएर उपचार गरेको अहिले त्याहाँका पशुहरू रोगमुक्त रहेको वताए ।

संघीयता आएपछि प्रत्येक पालिकामा आफनै भेटनरी स्थापना गरिएकाले स्थानीय क्षेत्रमा जिल्लाको खासै आवश्यकता नरहे पनि भाइरल किसिमको रोग लागेपछि टोली बनाएर जाने गरेको बताए । उनले जनकपुरधाम स्थित भेटनरीमा नगर आसपासका स्थानियवासीहरूले आफना पशुहरूलाई उपचार सेवा लिदै आएको वताए । यहाँ खास गरी बाख्रामा डायरिया, भैसीमा मौसमी ज्वरो, नाम्ले किरा, जुका ,गर्भधारणमा समस्या, थुनेलो रोग सम्बन्धी उपचार गराउन बढी आईरहेको उनले बताए ।

केही समय पहिले धनुषाको सबै तहको पशुलाई सेवा दिने अभिभारा पाएको भेटनरीमा ५० भन्दा बढ दरबन्दी रहेको थियो । तर प्रत्येक स्थानीय तहमा आफ्नै भेटनरी स्थापना गरिएपछि अहिले सो कार्यालयमा ५ जना सम्बन्धित कर्मचारी मात्र रहेका छन् ।

अन्य ठाउँभन्दा भेटनरी अस्पतालमा उपचार गराए बाख्राका लागि पाँच रुपैयाँ, भैँसीका लागि १०, गोबर जाँचका लागि २०, कुकुरका लागि २५ र घोडाका लागि एक सय रुपैयाँ राजश्व शुल्क तोकिएको छ ।

प्रतिक्रिया