खाँडाचक्र नगरपालिकाका प्रशंसनीय एवं उदाहरणीय कार्यहरू

कर्णाली प्रदेशको कालीकोट जिल्लामा ९ ओटा स्थानीय तह रहेका छन् । यस जिल्लामा रहेका दुईओटा नगरपालिकामध्ये खाँडाचक्र एउटा हो । जो जिल्लाको सदरमुकाम मान्मामा अवस्थित छ । यो पालिका कर्णाली क्षेत्रको प्रवेशद्वार पनि हो । साविकका मान्मा, दाँहा, पांखा, भर्ता र बदालकोट गाउँ विकासका पूरै र आंशिक भूभाग एकीकृत गरी यो नगरपालिका घोषणा भएको हो । यस पालिकामा ११ ओटा वडा छन् । इतिहास कोट्याउँदा मलय बमको राज्य विस्तारका क्रममा खाँडो अर्थात् हतियार तयार भएको र सो घुमाउँदै विजय हासिल भएकाले यस स्थानको नाम खाँडाचक्र भएको भनाइ छ ।

खाँडाचक्र नगरपालिकाले स्थानीय जडीवुटी आफैँ प्रशोधन गरी आयुर्वेदिक औषधि उत्पादन र वितरण गर्ने कार्यक्रम राखेको कुरा चर्चामा आयो । यसैगरी, यस पालिकाले स्वास्थ्य स्वंयसेविकाहरूलाई मोवाईल, छाता, झोला सहित १–१ ओटा स्टेचर पनि वितरण गर्ने भयो भनी समाचार छापियो । यस अतिरिक्त खाँडाचक्रले गर्भवती तथा सुनौंला हजार दिनका आमालाई लक्षित गरी आयोडिनयुक्त नून, कुखुराका चल्ला तथा तरकारीको बीउ वितरणका साथै सितल चिनीको विरुवा वितरण गर्दैछ भन्ने जानकारी भएपछि यस पंत्तीकारलाई सो पालिकाको भम्रण गर्ने ईच्छा जाग्यो ।

सोही अनुरूप २०७५ महिनामा नगरप्रमुख जसीप्रसाद पाण्डे, नगर उपप्रमुख विजया विष्ट र प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले संयुक्तरूपमा सूचनाको हक र स्थानीय सरकार सञ्चालनसम्बन्धी तालिम दिन यस पंक्तिकारलाई आमन्त्रण गर्नुभयो । सो बखतको प्रशिक्षणमा जनप्रतिनिधि र कर्मचारीले प्रर्दशन गरेको केही गरौँ भन्ने भावनाको सम्मान गर्दै खाँडाचक्र नगरपालिकाले सम्पादन गरेका अनुकरणीय कार्यलाई समेटी यो आलेख तयार गरेको छु ।

पालिकाको मुख्य आर्थिक क्रियाकलाप कृषि मै आधारित छ । यसर्थ पालिकाले एउटा प्रांगारिक मल कारखाना खोल्ने लक्ष्य लिएको रहेछ । जसको मेसिन र उपकरण खरिदमा पालिकाले ७५ प्रतिशत अनुदान दिने नीति लिएको छ । साथै यस पालिकाले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको मौलिक हकलाई कार्यान्वयन गर्न यो वर्ष (आब ०७५–७६) ५ हेक्टर खाली जमिनमा व्यावसायिक खेती गर्न भाडामा जमिन उपलब्ध गराउने र यसको लागि पनि उपकरण खरिदमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।

यस अतिरिक्त कृषि उत्पादन बृद्धि गर्न बैंक ऋणमा सहजीकरण गर्ने, कृषि सडक विस्तार गर्ने, कृषि उपजको बजार पहुँच बढाउने, कृषक र उपभोक्ताबीच रहेको विचौलिया प्रथाको अन्त्य गर्ने, सहकारी बजार विकास गर्ने, मौरीपालन, च्याउ खेती, पशुपालनमा जोड दिने र ‘एक घर एक करेसाबारी’ को पहल गर्न खाँडाचक्र अघि बढेको छ । यस पालिकाबाट मुलुकका अन्य पालिकाले सिक्न सक्ने कुरा भनेको यस्ले घोषणा गरेको स्याउ, ओखर, सुन्तला, आँप, कागती, कफी, तरकारी र आलुका पकेट क्षेत्र हुन्, जो एक वडा एक उत्पादनको अवधारणाका द्योतक हुन् ।

खाँडाचक्रले जडिबुटी संकलन, प्रशोधन, प्याकेजिङ्ग लगायतको काममा आफ्नो ध्यान केन्द्रीत गरेको छ । यथार्थमा नेपाल जडिबुटीको भण्डार नै हो । यस्का लागि छरिएको स्रोत र व्यक्तिगतस्तरमा काम गरी आएका व्यापारीलाई एकतित्र जडिबुटीका क्षेत्रमा साना तथा घरेलु उद्योग स्थापनाको सम्भावना रहेको पाइन्छ । खाँडाचक्र पालिकाभित्र विकास भइरहेका साना ठूला थुप्रै बजार क्षेत्रलाई व्यवस्थित गर्ने र तिनलाई दर्ता गर्दा नगरपालिकाको आम्दानीको स्रोत वृद्धि हुने समेत देखिन्छ । साथै सहकारीको दर्ता गर्ने, नविकरण गर्ने, अनुगमन गर्नेलगायतको काम गर्न पनि खाँडाचक्र अग्रसर भई ५ लाख रूपैयाँ विनियोजन गरेको पाईन्छ

खाँडाचक्रले प्रत्येक बडामा स्वास्थ्य सेवा इकाई विस्तार गरी सेवा सुचारु गरेको छ । यस पालिकाले जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तरर्गत जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधि तथा विभिन्न जडीवुटीयुक्त चेवनप्रास वितरण गरिएको छ । यसैगरी, एक वडामा १ नर्सरी कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्द्नन गर्ने लक्ष्य राखिएको छ । कृषिमा आधुनिक प्रविधि भित्र्याउन अनुदानमा पावर ट्रेलर (हाते ट्रयाक्टर) वितरण कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष फलफुल खेतीलाई प्राथामिकता दिई हिउँदे फलफूल (स्याउ, ओखर) तथा वर्षे फलफूल (आँप, सुन्तला, कागती, टिमुर) आदीको पकेट क्षेत्र बनाई ३०,००० भन्दा वढी विरुवा वितरण गरिने लक्ष्य लिइएको छ ।

यस्तै सिचाई पोखरी तथा सिचाई कुलो निर्माण गरी उत्पादनमा वृिद्ध गर्ने कार्यक्रम रहेको छ । बजारमा सञ्चालित मासु पसल व्यवस्थित गर्ने विभिन्न उपकरणहरू अनुदानमा दिइएको छ । अनुदानमा कुखुराको चल्ला वितरण तथा उन्नत जातका बोयर बोका तथा जर्सी बहर र मुर्रा क्रस राँगो वितरण कार्यक्रम रहेको छ । नागरिकलाई स्वच्छ खानेपानी सेवा प्रदान गर्न खानेपानी ट्यांकी, पाइपलाइन तथा धारा मर्मत सुधार गर्ने कार्यक्रम रहेको छ ।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नको लागि शैक्षिक योजना निर्माण तथा शिक्षक व्यवस्थापन तथा अन्य अनुदानको कार्यक्रम लागु गरिएको छ । प्रत्येक वडाको केन्द्र जोड्ने सडक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिइएको छ । पर्यटन विकासको लागि रारा गन्तव्य वनाई आउने पर्यटकहरूलाई कम्तिमा एक दिन यस नगरपालिका वस्ने व्यवस्था गर्ने यस क्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलहरू कोट दरबार तथा ढुंगेबगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पञ्चदेवल मन्दिर आदि क्षेत्रलाई व्यवस्थित गर्ने कार्यक्रम अगाडी वढाइएको छ ।

यसरी खाँडाचक्र नगरपालिका आफ्नाे गन्तव्यमा निरन्तर अघि बढिरहेको सुखद पक्ष हाम्रो सामु छ । खाँडाचक्र नगरपालिका पर्यटन विकासमा पनि अघि बढेको छ । यो पालिका प्राकृतिक रूपमा रमणीय छ । यो पालिका पर्यटन प्रवद्र्धनमा आधुनिक सूचना प्रविधिको विकास गर्न लागी परेको छ । यस पालिकाले व्यवसायिक पदयात्रा, सहासिक पर्यटन र धार्मिक पर्यटनमा जोड दिएको छ । आफूभित्र रहेका रमणीय स्थान भ्रमणको प्याकेज बनाउन पालिका जुटेको छ ।

चुलिमालिकालाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । यसैगरी द्वन्द्वको बखत चर्चामा आएको पिलिलाई युद्ध पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने पालिकाको सोच छ । यस अतिरिक्त कोटदरबार, चुली, केबलकार (कोटदरबार नरहरिनाथ), लुहारकोट, पूजाडाँडा केबलकार तथा चुलिमालिका भ्यू टावरको सम्भाव्यता रहेको छ । पञ्चदेवल कोटदरबार क्षेत्र, खापट मष्टा लगायतका धार्मिक क्षेत्र र विशेष गरी रारा जाने र आउने मुख्य वासस्थानका रूपमा चर्चित मान्मा बजारका कारण यस पालिकामा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनको प्रशस्त सम्भावना रहेको छ ।

खाँडाचक्रले जडिबुटी संकलन, प्रशोधन, प्याकेजिङ्ग लगायतको काममा आफ्नो ध्यान केन्द्रीत गरेको छ । यथार्थमा नेपाल जडिबुटीको भण्डार नै हो । यस्का लागि छरिएको स्रोत र व्यक्तिगतस्तरमा काम गरी आएका व्यापारीलाई एकतित्र जडिबुटीका क्षेत्रमा साना तथा घरेलु उद्योग स्थापनाको सम्भावना रहेको पाइन्छ । खाँडाचक्र पालिकाभित्र विकास भइरहेका साना ठूला थुप्रै बजार क्षेत्रलाई व्यवस्थित गर्ने र तिनलाई दर्ता गर्दा नगरपालिकाको आम्दानीको स्रोत वृद्धि हुने समेत देखिन्छ । साथै सहकारीको दर्ता गर्ने, नविकरण गर्ने, अनुगमन गर्नेलगायतको काम गर्न पनि खाँडाचक्र अग्रसर भई ५ लाख रूपैयाँ विनियोजन गरेको पाईन्छ ।

शिक्षा तर्फ गुणस्तरको विकासमा पनि पालिकाले पहल आरम्भ गरेको छ । पालिकाभित्र रहेका सम्पूर्ण बाल विकास केन्द्र, सामुदायिक विद्यालयहरूलाई बालमैत्री बनाउने, अपांग मैत्री बनाउने, सुरक्षित भवन, पर्याप्त शैक्षिक सामाग्री, पुस्तकालय, छात्र छात्रा शौचालय, स्वच्छ खानेपानी, खेल मैदान, सरसफाई, स्वच्छ वातावरणको प्रवन्धमा खाँडाचक्र जुटेको छ । यो पालिका सबै वडालाई साक्षर वडा घोषणा गर्ने जमर्को गर्दैछ । शिक्षा क्षेत्रको विकासमा पालिकाले चालू आ. ब. मा रु. १ करोड विनियोजन गरेको छ ।
ऐतिहासिक ढुँगेधारा, कुवा, पोखरी जस्ता पानीका मूल र स्रोतको संरक्षणमा खाँडाचक्र नगरपालिका अघि सरेको छ । आम जनतालाई पिउने

पानीको प्रबन्ध गर्नु मेरो प्रथम कर्तव्य हो भन्ने कुरामा खाँडाचक्र नगरपालिका पूर्ण प्रतिबद्ध देखिन्छ । यस पालिकाले प्रत्येक वडामा खानेपानीको प्रबन्ध र सरसफाइसम्बन्धी कार्यक्रम गरिरहेको छ । यो पालिका प्रदूषण नियन्त्रण गर्ने, व्यवस्थित बसपार्क बनाउने र सार्वजनिक स्थलमा शौचालय निर्माण गर्ने काममा समेत जुटेको छ । पानीको मुहानमा पानीको स्रोत बढाउन वृक्षारोपण अभियानलाई अघि बढाइएको छ । खानेपानी योजनाको १ प्रतिशत रकम मर्मत कोषमा राख्ने यस पालिकाको नीति अन्य पालिकाका लागि अनुशरणयोग्य छ ।

यो पालिकामा पशुपालनको पनि राम्रो सम्भावना छ । यसर्थ पालिकाले बाख्रा पालनबाट मासुमा आत्मनिर्भर हुने सोच अघि बढाएको छ । यसैगरी, कुखुरा पालन, उन उत्पादन, अण्डामा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालित छन् । यसका लागि उन्नत जातको थुमा, बोका, बहर, राँगा, भेँडा, बाख्रा उत्पादन गरी आधुनिक पशुपालन व्यवसायको सुरुवातमा खाँडाचक्र पालिका कम्मर कसेर लागेको छ ।

नेपालको संविधानमा आधारभूत स्वास्थ्य सेवाको सुविधा पाउने हक सबै नेपालीलाई प्रदान गरेको छ । यस अनुरूप खाँडाचक्र निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न कटिबद्ध छ । सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा पालिका दत्तचित्त छ । यो पालिका आफ्नो क्षेत्रभित्र आफ्नो क्षेत्रभित्र उपलब्ध जडिबुटीसमेतको प्रयोगद्वारा आयुर्वेद स्वास्थ्य सेवा प्रणाली विकासमा समेत जुटेको छ । आम जनतालाई आवश्यक पर्ने औषधिको आपूर्तिमा पालिका सजग छ ।

कुपोषणलाई न्यूनीकरण गर्न पनि पालिकाले कार्यक्रम ल्याएको छ । सबै वडामा सञ्चालन हुँदै आएको खोप क्लिनिक र गाउँघर क्लिनिकलाई अझै प्रभावकारी तुल्याउने पालिकाको प्रतिबद्धता छ । स्वास्थ्य संस्थामा प्रसूति गराउन जनचेतना अभिबृद्धि गर्नुका साथै यातायात खर्च दिएर प्रोत्साहित गर्ने पालिकाको नीति रहेको छ । यो पालिका स्वास्थ्य बिमा कार्यक्रमलाई पनि प्रभावकारीता दिन लागि परेको छ । यसैगरी प्रयोगशाला विस्तार गर्ने पनि पालिकाको ध्येय छ । यो पालिका बालबालिकाका लागि पूर्ण खोपयुक्त पालिका हुने, स्वास्थ्य शिविर सञ्चालन गर्ने र यस क्षेत्रमा देखिएका चर्म रोग लगायतको उपचार र निदानमा क्रियाशील छ । यी कार्य अन्य पालिकाका लागि अनुकरणीय छन् ।

खाँडाचक्र नगरपालिकाले सूचना अधिकारी तोकेको छ । नागरिकको सम्वैधानिक हकका रूपमा रहेको सूचनाको हकको सम्मान गर्न पालिका प्रतिबद्ध रहेको जनाइएको छ । यस पंक्तीकारले प्रशिक्षण प्रदान गर्दा ३–३ महिनामा स्वतः प्रकाशन गर्न पालिकाले प्रतिबद्धता जनाएको छ । यो पालिका नागरिकका अन्य मौलिक हक प्रति पनि सम्मान व्यक्त गर्दछ । खाँडाचक्र लैंगिक समानता र सामाजिक समावेशीकरणको सिद्धान्तमा चलेको छ । यसले महिला हिंसा, घरेलु हिंसा, बहुविवाह, जातीय विभेद, छुवाछुत, छाउपडी प्रथा, बाल श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

साथै, लक्षित समुदायका परम्परागत पेशा, ज्ञान, सिप र कलाको जगेर्ना गर्दै तिनको आधुनिकीकरण र व्यवसायिकीकरणमा पनि पालिका जुटेको छ । यस पालिकाले जेष्ठ नागरिक, बाल पोषण, विधवा महिला, शारीरिक अपांगता, शिशु स्याहार तथ्यांकलाई अद्यावधिक गरी अनलाइन दर्ता र सुविधाहरूको सहज प्राप्तिमा आफू क्रियाशील रहेको पालिकाले दाबी गरेको छ । यस अतिरिक्त द्वन्द्व प्रभावित टुहुरा, विपन्न तथा जेहेन्दार बाल बालिकालाई पठन पाठनमा सहयोग गर्न र बाल संरक्षण कोष सञ्चालनमा ल्याउन पनि खाँडाचक्र प्रतिबद्ध छ । यी कुरा पनि अन्य पालिकाका लागि अनुशरणयोग्य छन् ।

खाँडाचक्र पालिका पूर्वाधार विकास निर्माणमा पनि कस्सिएको देखिन्छ । विभिन्न टोल–बस्तीको छनोट गरी पूर्वाधार र सामाजिक विकासलाई एकसाथ परिचालन गर्न खाँडाचक्र प्रतिबद्ध छ । यस पालिकाले पूर्वाधार निर्माणका निश्चित मापदण्ड तोकेको छ । आफैले गर्ने काम र संघीय एवं प्रादेशिक सरकारको सहयोगमा सञ्चालित हुने काममा तोकिएकै समयमा आयोजना पूरा गर्न पनि पालिका सजग रहेको छ । यस पालिकाले ‘रूख रोपौँ वन जोगाउँ, मानव जीवनमा आई पर्ने विपत्ति भगाउँ’ भन्ने मूल नाराका साथ वातावरण संरक्षण र विपत व्यवस्थापनको योजना तर्जुमा गरि आएको छ ।

यो पालिका आफू भित्र रहेको सबै नांगो भू–भागमा २ वर्षभित्र वृक्षारोपण गरिसक्न पनि प्रतिबद्ध छ । यस पालिकाले जोखिमयुक्त स्थानको सुरक्षाका लागि विशेष कार्यक्रम गरिरहेको छ । साथै वन तथा भू–संरक्षणका लागि विशेष कार्यक्रम गरिरहेको छ । साथै वन तथा भू–संरक्षण, जलाधार संरक्षण, जलवायू परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद व्यवस्थापन, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालनमा पनि पालिका दत्तचित्त छ । यस पालिकाले डम्पिङ साइटको पनि व्यवस्थापन गरेको छ । यस अतिरिक्त दैवी प्रकोप, बाढी पहिरो, आगलागी घटना, दुर्घटनाका पीडितको उद्धार र राहतमा पनि पालिका क्रियाशील देखिन्छ ।

खाँडाचक्र नगरपालिकाले प्रत्येक वडामा कृषि तथा वन नर्सरीको कायक्रम सञ्चालनको योजना बनाएको छ । यस पालिकाले नागरिक बडापत्रको व्यवस्था वडा कार्यालयमा समेत गरेको छ । मानव संशाधनको विकासमा पनि खाँडाचक्र संवेदनशील देखिन्छ । यस पालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । आन्तरिक राजस्व वृद्धि गर्न विस्तारै सबैलाई करको दायरामा ल्याउँदैछ । एक वर्षभित्र विद्युतीय लेखा प्रणालीमा रूपान्तरित गर्ने अभियान आरम्भ भएको छ । पालिकाभित्र उत्कृष्ट काम गर्नेलाई पुरस्कार गर्ने प्रबन्ध मिलाइएको छ । यसरी खाँडाचक्र नगरपालिका आफ्नो लक्ष्यमा क्रमशः सफलता चुम्दै छ ।

नेपालका दुर्गम जिल्लाहरूमध्येको एक यस जिल्ला सामाजिक, आर्थिक, विकास लगायतको क्षेत्रमा निकै पछि परेको भएता पनि नेपालको संविधान तथा संघियता कार्यान्वयनको क्रममा केही वर्षयता यस क्षेत्रमा विकास निर्माणको गति तीव्र हुँदै गएको छ । खाँडाचक्र नगरपालिकाले नगरको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पशु, पर्यटन, लक्षीत समुह विकास, खानेपानी सरसफाइ लगायतका क्षेत्रमा नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्न हरदम प्रयास गरिएको छ । खाँडाचक्र नगरपालिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

प्रतिक्रिया