शिक्षित परिवारमै महिला हिंसा

हामी महिला अगुवाहरूका दिन प्राय पीडितपक्षका लागि वकालत र पैरवी गर्दैमा बित्ने गर्छ । महिला अधिकारका लागि हामी सधै अगाडि नै हुन्छौँ । कतिपय यस कुरामा सहमत हुन्छन् । कतिपयले नाक खुम्च्याउने गर्छन् । तर, हामी महिला अगुवा कसैको परवाह नगरी समाजका लागि केही गरौँ भन्ने उदेश्यले कामलाइ प्राथमिकता दिन्छौँ । कैयौँले प्रत्यक्ष रूपमै प्रश्न गर्ने गर्छन र कसैले कामको प्रशंसा पनि गर्छन् ।

मैले पनि यसै क्षेत्रमा काम गर्ने भएकाले धेरै अगुवा महिलाहरूसँग सहकार्य गर्ने मौका पाएको छु । कतिपय समयमा हामी पीडित महिलाका लागि सँगै आवाज पनि उठाउने गर्छौं । महिलाको अवस्था बारे विश्लेषण गर्छौं । महिलाहरूले कुनै पनि प्रकारको हिंसा सहनु हुन्न भन्दै हिड्छौँ । जुन कुरा जायज पनि हो । पछिल्लो समय महिलाहरूले खुलेर कानुनी पक्रिया अपनाउन थालेका छन् । यस कुराले प्रष्ट्याउँछ अब हाम्रो समाजमा रहेका विभिन्न बहानामा पछाडि पारिएका र पीडित महिलाहरूभित्र चेतनाको विस्तार हुँदैछ भनेर ।

सामान्यतया महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूको संख्या न्यून छ । उसै पनि कर्णाली प्रदेशमा महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूको संख्या झनै कम छ भने भौगौलिक बनावटले पनि सबै महिला अगुवाहरू सधैं सँगै भेट हुने अवसर जुट्दैन् । भूगो र यहाँका महिला निकै कम सामाजिक रूपमा बाहिर निस्कने हुनाने पनि ती समस्या आएका हुन्

पीडित महिलाहरूको पक्षमा आवाज उठाउने महिला समाजमा जान्नेसुन्ने, बौद्धिक, नेतृत्व तहमा पुगेका महिलाहरूसँग दैनिक जसो नै भेटघाट र छलफल हुन्छ । उनिहरूसँग यस विषयमा सोध्दा कतिपयले आप्mनो निजी जीवनमा भोगेको दुःखका कुराहरू, वेदनाहरू पोख्छन् त कति खुलेर बोल्नै चाहँदैनन । उनीहरूसँगको कुरा र आफूले देखेको सनमाजिक बनोटले हाम्रो समाज अझै पनि महिलामैत्री हुन सकेको छैन भन्ने लाग्छ ।

सामान्यतया महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूको संख्या न्यून छ । उसै पनि कर्णाली प्रदेशमा महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूको संख्या झनै कम छ भने भौगौलिक बनावटले पनि सबै महिला अगुवाहरू सधैं सँगै भेट हुने अवसर जुट्दैन् । भूगो र यहाँका महिला निकै कम सामाजिक रूपमा बाहिर निस्कने हुनाने पनि ती समस्या आएका हुन् । केही प्रतिनिधि घटना जसले महिला अधिकारकर्मीका पीडा, हेर्ने समाज र परिवारको दृष्टिकोण अनि निति र व्यवहारको अन्तरलाई केलाउन मद्दत पुग्नेछ ।

घटना–१
करिब एक महिनाअघि एउटा दिवस मनाउने क्रममा करिब आधा दर्जन महिला अधिकारकर्मीको जमघटका क्रममा महिला अधिकार क्षेत्रमा काम गर्दा भोग्नुपरेका चुनौती, पिडा, समस्या र भोगाइहरूका बारेमा अन्तरंग छलफल गर्ने वातावरण मिल्यो । केन्द्र, प्रदेश र जिल्ला तहमा क्रियाशील आधा दर्जन महिला अधिकारकर्मीका भोगाइहरू सुन्ने क्रममा एकजना महिला अधिकारकर्मिको भोगाइले मेरो माथिंगल हल्याइ दियो ।

उनका श्रीमानले उनलाई तेरो त ठूला ठूला मान्छे सँग उठबस छ भनेर मानसिक तनाव दिँदा रहेछन् । कार्यालय प्रमुखहरूसँग बसेर चिया खाने, भेटघाट गर्ने र अधिकारकर्मिका नाममा आफ्नो घर व्यवहार नहेरेको भनेर नियमित मानिसिक तनाव दिँदै आएका रहेछन् । सरकारी जागिरे उनका श्रीमानले अधिकारका कुरा गर्न छोडेर घरमै बस्नु पर्ने दबाब दिँदै आएको र आफूले श्रीमानबाट मानसिक पिडा भोगेको उनले सुनाइन् । आफ्ना पिडा खुलेर राख्न आग्रह गर्दा उनले भनिन्, ‘मैले आफ्ना सकै पीडा सार्वजनिक गरेकी घरभित्र मात्रै सीमित भएर सामाजिक काम छोड्नुपर्छ की उहाँसँग सम्बन्धविच्छेद गर्नुपर्छ’ श्रीमान्ले दिने गरेको पीडा सुनाउँदैन उनले आफू धर्मसंकटामा रहेको सुनाइन् ।

उले भनिन्, ‘के गर्नु दिनभरि महिला दिदीबहिनीहरूसँग अधिकार र कानुनका बारेमा छलफल गर्छौं । घर पुग्दा श्रीमानका प्रश्नको जवाफ दिन सकिँदैन् । कहाँ गाथिस ? को सँग सुतेर आइस ? खुब महिलाहरूलाई सिकाउन जान्छु भन्छेस् अनि मेरो फोन किन उठाइनेस् ? कतिदिन त कुटपिटसमेत हुन्छ । कति रात नखाएर पनि सुत्ने गरेको छु ।’ भावुक हुँदै उनले आफ्ना पीडा पोखिन् ।

यस्तो अन्याय किन सहनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले कानुनी प्रक्रियामा जान खोजेभने समाजले मलाइनै दोषी ठान्छ । अन्य महिलालाई पनि घरबाट बाहिर निस्कन गाह्रो हुन्छ । त्यसैले म एकले अन्याय सहेर अरुलाई न्याय दिने प्रयास गरेको हुँ ।’

अन्यायमा परेका महिलाहरूको पक्षमा बोल्ने उनी तर आफुले भोग्दै आएको अन्यायका बारेमा कसैसँग खुलेर कुरासमेत सक्ने अवस्थामा छैनन ! ‘कामको सिलसिलामा कहिले कहाँ कहिले कहाँ जानुपर्छ । कहिलेकाहिँ कार्यालय प्रमुख वा अरु कनै पनि पुरुषसँग बसेर चिया खाँदैमा मैले अपराध गरेको हुन्छ र ?’ उनले रुदै भनिन । महिलाहरूको पक्षमा वकालत गर्न दिनरात नभनी लाग्ने उनी प्रति श्रीमान्ले गर्ने व्यवहार सुन्दा सुरुमा पत्याउनै गाह्रो छ । तर, वास्तविकता उनले भने जस्तै हो । ‘गाउँ गाउँमा गएर महिलालाई हामीले हिंसा सहनुहुन्न आफ्ना पीडाको आवाज उठाउन पर्छ भनेर उत्साहित गराउने हामी आफै हिंसाको सिकार भइरहेका छौँ । हाम्रो आवाज उठाउने कस्ले ?’ भावुक हुँदै उनले भनिन् ।

घटना–२
केही समयअघि केन्द्रीयस्तरमा काम गर्ने एकजना महिला अधिकारकर्मी एउटा कार्यक्रमको सिलसिलामा सल्यान आएकी थिइन् । महिला नेतृ आएका कारण उनको अनुभव सुन्न र नयाँ कुरा जान्न आतुर थियौँ हामी । उक्त कार्यक्रमको आयोजकमध्येका एकजना पुरुष भन्दै थिए, ‘उहाँका के कुरा सुन्नु ? उहाँ आफँैले पतिसँग सम्बन्धविच्छेद गर्नुभएको छ, अरुलाई के सिकाउनु हुन्थ्यो ?’ उक्त पुरुषको भनाइबाट प्रष्ट थियो महिलाहरूलाई हेर्ने पुरुषवादी चिन्तन र सोच । पुरुष र महिला दुवैको वेमेलबाट हुने सम्बन्ध विच्छेदमा पनि सधै महिलाको मात्र दोष देख्ने हाम्रो पुरुषवादी सोचप्रति दया लागेर आयो उनको कुराले ।

घटना –३
कामको सिलसिलामा म एकदिन जिल्लास्तरको एउटा सरकारी कार्यालयमा पुगेकी थिएँ । कार्यालयमा रहेकी एकजना महिला कर्मचारीले कुराकानीको क्रममा आफ्नो कुरा यसरी सुनाइन, ‘मेरो श्रीमान कामको सिलसिलामा बाहिर हुनुहुन्छ । उहाँ पनि जागिरे नै हो । श्रीमान् घरमा सँगै भएका वेला मैले ५ बजे कोठामा पुगेपछि अफिसका कुनै सहकर्मी वा अरू कसैले फोन गरे पनि उठाइदिन हुँदैन । फोन उठाइहाले उहाँका हजारौँ प्रश्नका जवाफ दिनुपर्छ त्योभन्दा फोन नै नउठाउन जाती ।’

यस्तै, विषयमा कयौंपटक श्रीमान्सँग झगडा परेको उनले सुनाइन । ‘मैले हरेक कुराको स्पष्टीकरण दिनुपर्छ । दिनहुँ मेरो चरित्रको परीक्षा हुन्छ । तर, उहाँ के गर्नुहुन्छ ? कहाँ जानुहुन्छ ? कोसँग गफ गर्नुहुन्छ मैले कहिलै जान्न चाहिन । बस आफुलाई बचाउने र सम्बन्ध सुधार कसरी गर्ने भन्नेमा मात्र समय बिताउँदै आएको छु । उहाँ घर आएको वेला सहकर्मी कर्मचारीलाई काम परे पनि मलाई फोन गर्नुहोस भन्छु ।’ उनले आफ्ना पिडा सुनाइन् ।

आफ्नाे पीडा पोख्ने कुनै माध्ययम छैन् । समाजलाई देखाउनका लागि खुसी भै दिनुपर्ने । आफू भित्रका सबै पीडा लुकाएर ङिच्च दाँत देखाएर हाँस्नुपर्ने । हजारौँ प्रश्नको जवाफका लागि हरपल तैयार भएर बस्नुपर्ने । अखिर कहिलेसम्म हो यसरी महिलाले आफू भित्रका पिडा गुपचुप पार्ने पर्ने । अरुका वेदना सुनेर समस्याको बाटो फुकाउँदै हिँड्नेहरूको वेदना कस्ले सुन्ने ? कस्ले पत्याउने अरूलाई हसाउँदै एक्लै रुनेहरूका आँसुको मूल्य ?

माथि उल्लेखित प्रतिनिधिहरूका घटना एकाध होइन, हरेक घर, समाज र परिवार भित्र गुम्सिरहेको हुनसक्छन् । ती महिलाका भोगाइ सुन्दा महिलाहरू अझै पनि परिवारभित्रै दमन, शोषण, बलात्कार र हिंसामा परिरहेका छन् । कसैले कुनै प्रकारको दमन, शोषण र हिंसा विरुद्द आवाज उठाइ हाले पनि त्यो त मात्तिएकी कहलिन्छे ।

वर्तमान सरकारले महिलाहरूको पक्षमा कानुन निर्माण गरेकाले महिलाहरूले फाइदा लिन खाजेको भनेर आरोप पनि लाग्ने गर्छ । यस्तै कारणले त होनि महिलाहरू अझै पनि हिंसा र पीडाबाट गुज्रिनुपरिरहेको छ । यस्तो प्रकारको पीडा भोग्ने महिला केही नजान्ने, केही नबुझ्ने, अनपढ मात्रै हुन्छन् भन्ने अर्को भ्रम रहेको छ हाम्रो समाजमा ।

हाम्रै गाँउघरमा, छरछिमेकमा महिलाहरू कति हो कति पीडा लिएर जिवनलाइ सहजै जिउने प्रयास गरी रहेका छन् । महिलाहरू अनेक प्रकारका हिंसामा परेका छन् । मानसिक र शारिरिक यातना सहेर घर जोगाउन आँसुका घुँटका पिइरहेका छन् । कतिपय महिलाहरू घर परिवारको माया नपाउँदा पर पुरुषसँग साम्पियता खोजीरहेका छन् । कतिपय महिलाहरू परिवारको माया पाएर हरेक दुःखसुख विर्सेर घर परिवारसँगै रामाइ रहेका छन् । यस्तै, यस्तै छ हाम्रो गाउँसमाजका महिलाहरूको कथा अनि व्यथा ।

कयौं महिलाहरूको हक अधिकारका पक्षमा वकालत गरीरहेका महिला अधिकारकर्मी र अगुवा महिलाहरूका भोगाइ पनि पनि दुरदराजका महिलाहरूको भन्दा कम छैन । मानिस जति शिक्षीत भए पनि उसको चिन्तन र व्यवहार बदलिनु भनेको ठूलो कुरा रहेछ । हाम्रो समाजमा रहेका तमाम शिक्षित कहलिएकाहरूको घरमै एउटा डरलाग्दो तरिकाले महिला हिंसा मौलाएको छ । मात्रै के हो भने शिक्षित परिवारले आफू कानुनी रूपमा तल नपर्ने गरी घुमाउरो ढंगले हिंसालाइ संस्थागत ढंगले अघि बढाइरहेका छन् । महिलाहरूको पक्षमा वकालत गर्ने अधिकारकर्मीहरूकै यो हालत छ भने अन्य दुर दराजका, आवाज विहिन र दमित महिलाहरूको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

महिला हिंसा समय, काल, परिस्थीति, राजनितिक घटना परिघटनाले कत्ति पनि २० को १९ भएको छैन । भएको छ त केवल रूप मात्रै परिवर्तन । व्यवहारमा जव सम्म महिला र पुरुषबराबर हुन् भन्ने चिन्तन कार्यान्वयन हुन सक्दैन । यस्तो हिंसा युगसम्म पनि रहिरहनेछ । यस्ता कुरा ऐन वा कानुनले मात्रै फेरिँदैन फेरिनुपर्छ चिन्तन, सोच र विचार जबसम्म महिलाले घरभित्र पनि अन्याय सहेर बस्नुपर्छ तबसम्म सम्मुनत समाजको परिकल्पना गर्ने सकिँदैन ।

प्रतिक्रिया