तरकारी खेतीमा वडाध्यक्ष

हरेक बिहानको झिसमिसे मै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्छन् कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढा ।

यसरी हरेक दिन पसलमा तरकारी पु¥याउनु उनको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सकेका वडाध्यक्ष बुढा आफँै खटिन्छन् । उनको दैनिकी समाज सेवा र तरकारी बारीमा बित्ने गर्छ ।

स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उनले उत्पादन गरेको तरकारी बिक्री हुन्छ । तरकारी खरिदकर्तासँग मोलभाउ गर्न उनी पछि पर्दैनन् । बजार दरको जानकारी लिएर मात्रै तरकारी बिक्रीका लागि पुग्छन् उनी । खड्का होटलका सञ्चालक दलबहादुर खड्काले भने, ‘हामीले कम मूल्यमा खरिद गर्न खोजे पनि मोलमोलाई गरेर बजार भाउ लिएरै छोडछन् उनी ।

तेस्रोपटक वडाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका बुढा समाजका लागि प्रेरणाका स्रोतका रूपमा रहेका छन् । वडाअध्यक्ष आफैँ खेतमा गोरु जोत्नेदेखि तरकारी रोप्ने र बजारमा बिक्री गर्ने कार्यमा लागेको देखेर छिमेकीले समेत उनका प्रेरणाले तरकारी खेती गर्न थालेका छन् । वडा कार्यालयबाट फुर्सद मिल्नेबित्तिकै तरकारी र घरायसी कार्यमा उनी सक्रिय हुन्छन । फुर्सदको समय खेर फाल्नु हुँदैन भन्ने उनको बानीबाट पाठ सिकेको बुढाका छिमेकी कमल विकले बताए । ‘उहाँले तरकारी खेतीबाट आम्दानी गरेको देखेर प्लाष्टिक टनेलमा हामीले पनि तरकारी खेती गरी आम्दानी लिन थालेका छौँ ।’ खेत जोत्नका लागि पावर टिलर राखेका बुढासँग एक हल गोरु पनि छ ।

‘पावर ट्रिलर छँदैछ । गोरु बेचौँ भन्छौँ । गोरु जोतेर शरीर स्फूर्त राख्नका लागि बल पुग्छ भनेर बेच्न दिनुभएको छैन’ वडाध्यक्षका परिवारजनको भनाइ छ । तीन कठ्ठामा लगाएको तरकारी खेतीबाट बुढाले वार्षिक रूपमा चार लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । तीनवटा प्लास्टिकका टनेलमा बुढाले तिते करेला, गोलभेडा, काउली र काँक्रालगायतका मौसमी बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

काँक्रा र तिते करेला गरी दुई महिनामै ४० हजार रुपैयाँ बढी आम्दानी भएको वडाध्यक्ष बुढाले बताए । गत वर्ष तिते करेला र काँक्राबाट मात्रै ७० हजार रुपैयाँ आम्दानी भएको थियो । बुढाले भने, ‘तिते करेला सप्रिदो अवस्थामा रहेकाले गत वर्षको तुलनमा यस वर्ष दोब्बर आम्दानी हुने देखिएको छ ।’ काँक्रा ५० र तिते करेला १५० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । तीन कठ्ठा जग्गामा धान, गहुँलगायतका अन्नबाली लगाउँदा एक क्विन्टलसमेत फल्दैनथ्यो । उनले भने, ‘यो खेतीबाट घरका लागि खान तरकारी खरीद गर्नुपरेको छैन । गतिलो आम्दानी हात पर्दा घर खर्च सहजरूपमा चलेको छ ।’

तरकारी बेचेर आएको पैसाले उनले छोरालाई कृषि जेटिए पढाएका छन् । छोराले समेत उनलाई फुर्सदमा सघाउन थालेपछि आम्दानी बढ्न थालेको छ । अझै धेरै जग्गामा जग्गामा तरकारी खेती विस्तार गर्ने सोच रहेको उनले बताए ।

तरकारी खेतीसँगै बुढाले खेतवारीको डिलमा रोपेको बास, घर छेउमै बनाएको सानो पोखरीमा माछापालन, स्थानीय जातका कुखुरा र बाख्रापालन गरेर वार्षिकरूपमा एक लाख अतिरिक्त आम्दानी लिँदै आएका छन् । घरमै राखेको खुद्रा पसलबाट भने मासिक रूपमा २० रुपैयाँ हजार हाराहारी आम्दानी हुने गरेको उनले सुनाए ।

भैसीको घिउ मात्रै बेचेर २५ हजार आम्दानी हुन्छ । उनले भने, ‘गरेपछि केनै हँुदैन र ? मिहिनेत चाहियो । सीप र ज्ञानबारे पनि जानकार हुनुप¥यो । परिश्रमीलाई पैसाले आफै खोज्दै आउँछ ।’ जनप्रतिनिधि भएपछि जनताको सेवामा खटिनुपर्दछ । विकास निर्माणका साथसाथै जनप्रतिनिधि आफैँ पनि प्रेरणादायी काममा लाग्नुपर्छ । समाजले त्यसको सिको गर्दै जाने भएकाले आर्थिक रूपमा आत्मनिर्भर बनाउन उत्प्रेरित गर्नुपर्दछ । ‘जुन मैले गर्दै आएको छु’ उनले भने । समाज परिवर्तका लागि आर्थिक गतिविधि गर्ने कार्यमा जोड दिनुपर्ने उनको धारण छ ।

प्रतिक्रिया