व्यवसाय बन्दै ट्याटु

काठमाडौंको व्यस्त बजार ठमेलको नर्सिङ चोकबाट केही पर गएपछि एउटा साँधुरो गल्लीभित्र रहेको ६ तले घरको चौथो तलामा ‘ट्याटु बज’ नामको स्टुडियो भेटिन्छ । जहाँ दैनिक दर्जनौँ मान्छे आफ्नो शरीर खोपेर विभिन्न प्रकारका आकृति बनाउँछन् । त्यही स्टुडियोमा दुई युवा मान्छेको शरीरमा विभिन्न आकृतिको ट्याटु बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरू दैनिक मान्छेको शरीर खोप्छन् र उनीहरूको रुचि अनुसारको चित्र बनाउँछन् । आफूकोमा आउने ग्राहकलाई सन्तुष्टि दिनु उनीहरूको उद्देश्य पनि हो ।

हाफ सर्ट र हाफ प्यान्टमा ल्याफ्याङे हुलियामा देखिने उनीहरू नयाँ नयाँ आकृतिका र ग्राहकका रुचिअनुसारका ट्याटु बनाउन तल्लीन हुन्छन् । माछापोखरीका मन्जेश श्रेष्ठ ट्याटु खोपाउन राजु पाण्डेयको उक्त बज स्टुडियोमा आएका थिए । मन्जेशको शरीर पहिले विभिन्न आकृतिका ट्याटुले भरिएका थिए । यसपटक भने उनले टाउकोमा ट्याटु बनाउन आएको बताए । ट्याटुका पारखी उनी आर्ट अर्थात् कलालाई पनि विशेष माया गर्दा रहेछन् ।

मन्जेश भन्छन्, ‘मेरो शरीरमा खोपिएको सबै ट्याटुको आ–आफ्नै अर्थ र विशेषता छ । जीवनका महत्वपूर्ण पल, जीवनको भोगाइ, उद्देश्य, मन परेका नपरेका धेरै कुरालाई ट्याटुमार्फत प्रस्तुत गरिन्छ । यस्ता सांकेतिक रूपको मैले व्याख्या गरिराख्न पर्दैन, यसलाई बुझ्नेले आफैँ बुझ्छन् ।’ ट्याटुका बारेमा अथ्र्याउँदै उनले भने ।

ट्याटु पारखी मन्जेश एक उदाहरण मात्र हुन् । पछिल्लो समय नेपाली युवा पुस्तामाझ ट्याटुप्रतिको तीब्ररूपमा बढिरहेको छ । त्यसैको परिणाम यसले सहरी क्षेत्रमा फराकिलो ठाउँ बनाउन थालेको छ । ट्याटु बनाउन सजिलो छैन । कतिलाई बनाए पनि पीडा हुने र ज्वरोसमेत आउने गरेको उनले बताए । ‘शरीरलाई खोपेर चित्र बनाउनु सामान्य कहाँ छ र निकै मिहिनेत गर्नुपर्छ’ पाण्डेले भने ।

ट्याटु कलाकारले प्रचलनमा रहेका सबै संस्कृति आफ्नो कलामार्फत उतार्छन् । कुनै व्यक्ति तथा घटनासँग सम्बन्धित कुरालाई जोड्न अर्थपूर्ण या अर्थहीन कुरा ट्याटुमार्फत उतार्ने काम कलाकारले गर्दछन् । जसलाई शब्दमार्फत नभई चित्रमार्फत आफ्नै कथा प्रस्तुत गर्ने गरेको उनको धारणा छ । ट्याटुजस्तै शरीर छेड्ने अर्थात् ‘पियर्सिङका पारखी पनि सहरमा प्रशस्तै भेटिन थालेका छन् । यो यस्तो सौख हो जसले शरीरलाई पीडा पनि दिन्छ । ट्याटुका सौखिनहरू त्यही पीडा खेप्दिएबापत हजारौँ रकम तिर्छन् र सन्तुष्टि लिन्छन् ।

ठमेलको ट्याटु बज स्टुडियोका राजु पाण्डेले ट्याटुइङ पेसा सुरु गरेको करिब दुई दशक भयो । उनको स्टुडियोमा हरेक दिन विभिन्न ट्याटु पारखी आउने गरेको उनले बताए । उनी ग्राहकको रुचिअनुसारको चित्र छालामा कोरिदिन्छन् र त्यसबापत हजारौँ रूपैयाँ लिन्छन् ।

सुरुसुरुमा शरीरमा सियोले खोपेर कला प्रस्तुत गर्ने कामलाई उनका परिवारले सदस्यले क्रुर कामको संज्ञा दिएको उनले बताए । ‘यस्तो पापी काम पनि गर्ने हो ? त्यस्तो काम गरिस् भने घर आउनु पर्दैन’ भन्दै परिवारले हप्काउने गरेको विगत सम्झँदै उनले भने । ‘नेपालमा ट्याटु बनाउन जान्ने मान्छे बिरलै हुने बेला आफूमा ज्ञान भएर पनि मैले परिवारका कारण काम गर्न पाइनँ,’ आफ्नो रुचिको काम गर्न परिवारले स्वीकार नगर्दा आफू निकै दुःखी बनेको उनले बताए ।

यस्तैमा एकदिन उनलाई एकजना साथीले ट्याटु बनाइदिन आग्रह गरे, उनले परिवार रिसाउने भन्दै नमानेको सुनाए । साथीले पैसा दिन्छु सुटुक्क बनाइदे भनेपछि बनाएर पैसा लिएपछि उनमा जसरी पनि आफ्नो कलालाई पेसामा सक्रिय बनाउने इच्छा जागेको समेत बताए । ट्याटु बनाएर पनि पैसा पाइन्छ भन्ने बुझेपछि परिवारले थाहा नपाउने गरी उक्त काम गर्न थाले । काम थालेपछि दैनिक हजारौँ कमाइ हुन थाल्यो, कमाइ बढ्दै गएपछि उनको सक्रियता बढदै गयो । काममा सफल हुँदै गएपछि आफ्नो कामका बारेमा परिवारलाई बताए । उहाँहरूले पनि मौन सहमति जनाउनु भयो । त्यसपछि मैले ट्याटु करियरको बाटो खुल्ला रहेको महसुर गरेँ र अहिले यो कामले म र मेरो परिवार सन्तुष्ट छ । उनले विगतको अुनभूति सुनाए ।

आफ्नो रुचिलाई व्यवसायमा परिणत गर्न सकिएला भन्ने सोच राजुमा थिएन, मान्छेको शरीर खोपेर पैसा कमाइएला र यो पेसा बन्ला भन्ने लागेकै थिएन । तर, आज उनी सफल ट्याटु व्यवसायी भएका छन् । उनी भन्छन्, ‘मलाई ट्याटु बनाउन आउँछ भन्ने थाहा पाएर साथीहरूले बनाइ दे भन्दै कर गर्थे, मलाई पनि परिवार रिसाउने चिन्ता थियो । उनीहरू पैसा दिन्छु बनाइ दे भन्थें । कुनै उपाय नलागेपछि साथीहरूको आग्रहमा ट्याटुको डिजाइन गरेँ र उनीहरूको चाहना पुरा गरँे ।’ सुरुका दिन सम्झदै उनले भने, ‘यसबाट दैनिक हजारौ‘ आम्दानी हुन थाल्यो । त्यसपछि मलाई लाग्यो अब यसलाई कमर्सियल आर्टको रूपमा विकास गर्नुपर्छ ।’ राजुले ट्याटु आर्टिस्टको यात्रा त्यहीँबाट सुरु गरेका हुन् । अहिले उनी सफल ट्याटु आर्टिस्ट बनेका छन् ।

सानैदेखि ट्याटुका सैखिन उनले उक्त कला अध्ययनका लागि मलेसिया गएको बेला सिकेका हुन् । त्यहीँबाट फर्कदा त्यसका लागि आवश्यक पर्ने समान पनि ल्याएको उनले सुनाए । त्यसैबाट नेपालमा पहिलो पटक ट्याटुको अभ्यास गरेको उनको दाबी छ ।

सफल ट्याटु व्यवसायी राजुले इन्डोनेसिया, मलेसिया, अस्ट्रिया लगायत विभिन्न देशमा आफ्नो कला प्रस्तुत गरेर पुरस्कार समेत पाइसकेका छन् । कामको शिलशिलामा विदेशतिरै व्यस्त रहने उनी कहिलेकाँही गेष्ट ट्याटु आर्टिस्टको रूपमा मात्र नेपाल आउने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘विगतमा धर्म र तन्त्र मन्त्रको नाममा अन्धभक्तहरूले जथाभावी रूपमा यसको अभ्यास गर्दै आएका थिए ।’ नेपाली समाजको गलत धारणाप्रति असन्तुष्टि जनाउँदै उनी भन्छन, ‘ट्याटु परम्परागत र आधुनिक गरी विभिन्न प्रकृतिका हुन्छन् । जसका आ–आफ्नै दन्त्यकथा छन् । यसलाई हेर्ने र बुझ्ने व्यक्तिको दृष्टिमा भर पर्ने कुरा हो ।’ यसप्रति भ्रममा नपर्न र आफ्नो रुचिअनुसार ट्याटु खोप्न सकिने उनी बताउँछन् ।

ट्याटु हुने खाने वा पैसा भएकाले मात्र बनाउँछन् भन्ने भ्रम रहेको उनले बताए । यसलाई आफ्नो रुचिअनुसार जसले पनि उपभोग गर्न सक्ने उनको धारणा रहेको छ । ट्याटुइङ प्रक्रिया महँगो भएकाले पनि हतपत मान्छे प्रयोग गर्न नचाहने उनको भनाइ छ ।

‘यो फाइन आर्टको दुनियाँ हो, समयअनुसार कला र सीपको पनि सम्मान र प्रवद्र्धन हुनुपर्छ । यसले हामी जस्तालाई समाजमा स्थापित हुन र बाँच्न सजिलो हुन्छ ।’ यसका लागि ठाउँ र आर्टिस्टको अनुभवको कुराले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्, भारतको पुनेबाट ट्याटु गेष्ट आर्टिस्टको रूपमा नेपाल आएका नेलिक्स बिहानी । यदि आर्टिस्टसँग दक्षता र लामो समय काम गरेको अनुभव छ भने त्यो व्यक्तिले यस क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने उनी ठान्छन् ।

उनका अनुसार १८ वर्षदेखि ३२ वर्ष बीचको उमेर समूहका व्यक्तिले ट्याटु बनाउने र शरीर छेड्नेमा बढी रुचि राख्ने गरेका छन् । निलिक्सको नजरमा प्रायले आफूले मान्ने भगवान, आमा÷बुवा, आफूलाई मन परेको मान्छेको नाम वा फोटो, सेलिबे्रटी, तथा विभिन्न अर्थपूर्ण कुराको चित्र बनाउने गरेका छन् ।

ट्याटुमा प्रयोग गरिने उपकरण तथा रंगहरू विदेशबाट महंँगोमा ल्याउनुपर्छ । उनीहरू आफ्नो मिहिनत आर्टिस्टको डिजाइन र समय अनुसारको मूल्य लिने गर्छन् । त्यसो गर्दा महँगो हुन सक्ने उनीहरूको स्वीकार्य छ । काम निकै गाह्रो भएकोले नयाँ नयाँ डिजाइन गर्न नयाँ आर्टिस्ट डराउने उनीहरूको भनाइ छ । ट्याटु बनाउँदा कस्को कति यूल्य भन्ने निर्धारण नभएकाले आफूखुसी बजार मूल्य रहेको छ ।

नेपालमा कहाँ कति ट्याटु व्यवासायी वा त्यसका पारखी छन् भन्ने यकिन छैन । यसका लागि मुख्य क्षेत्र मानिएको काठमाडौ उपत्यकाको ठमेल, बसन्तपुर, पाटन, झम्सिखेल लगायत क्षेत्रमा करिब चार सयवटा ट्याटु स्टुडियो रहेको छ । सबै आर्ट स्टुडियोको मातहतमा सञ्चालित छन् । यही गतिमा यसको माग बढ्ने हो भने ट्याटु उद्योग फस्टाएर नाफामुखी रहनेमा पाण्डे विश्वस्त छन् ।

‘विगतमा ट्याटुलाई नकारात्मक रूपमा लिइन्थ्यो । उक्त दृष्टिकोण अहिले लगभग हराइसकेको छ । हाम्रो समाजमा विगतभन्दा हिजोआज ट्याटु संस्कृतिलाई सहजै स्विकार्ने गरिएको छ । ट्याटु बनाउनेलाई हेर्न दृष्टिकोणमा समेत परिवर्तन भएको छ ।’ ट्याटु व्यवसायी र ट्याटु उपभोक्ता बढ्दै जानुमा यसलाई स्वीकार्नेहरूको संख्या बढेको ठान्छन् पाण्डे ।

नेपाल ललितकला प्रतिष्ठानसँग आबद्ध मुकेश मल्ल फाइन आर्टका विश्लेषक तथा प्राध्यापक समेत हुन् । ट्याटुलाई उनी फाइन आर्टको अंग मान्दछन् । मल्ल यसलाई यसलाई लोककला भन्दछन् । हालै ट्याटु र यससम्बन्धी अध्ययन अनुसन्धान थालेका मल्ल भन्छन्, ‘ट्याटु’ आगन्तुक शब्द र संस्कृति हो । परम्परागत मान्यता अनुसार शरीरका विभिन्न भागमा सियोले ट्याटु बनाइन्थ्यो । समुदायपिच्छे यसलाई गोद्ना, काजललगायत नामले नामकरण गरिएको छ ।’ विकास तथा विश्वव्यापीकरणको प्रभावले ट्याटुले आधुनिक रूप लिएको उनको तर्क छ । यो परम्परागत ट्याटुको विकसित रूपान्तरण भने अवश्य हो ।

प्राचीन समयमा शरीरका विभिन्न भागमा सियो र मसीले ट्याटु खोप्ने यो प्रचलन नयाँ भने होइन । मल्लका अनुसार आदिवासी तथा जनजाति समुदायले विभिन्न नाम दिएर ट्याटुको अभ्यास गर्ने गरेतापनि यसको ठोस इतिहास भने भेटिदैन । आदिम कालमा विभिन्न मान्यताअनुसार विशेषगरी महिलाले आफ्नो शरीरमा अर्थपूर्ण ट्याटु बनाउँथे । कसैले शरीरलाई कुरूप बनाउँथे भने कतिपयले अरुको गिद्धेनजर नलागोस् भनेर विभिन्न आकारका ट्याटु खोपाउने किंवदन्ती रहेको उनी बताउँछन् ।

यसको अभ्यास ढुंगे युगदेखि नै भएको पाइए तापनि पुरातत्वविद्हरूले पाँचाँै शताब्दीमा पहिलोपटक युरोपमा ट्याटुका हाते उपकरणहरू फेला पारेका थिए । पछि गएर यो विकसित भएको पाइन्छ । प्राकृतिक शरीरलाई कृत्रिम बनाउने शैली वास्तवमै कलात्मक रहेको उनको बुझाइ छ । हिजोआज फेसनका रूपमा ट्याटु मौलाए तापनि प्राचीन समयमा ट्याटुलाई गहनाको रूपमा उपभोग गरिने पाइएको उनले बताए ।

मल्ल भन्छन, ‘ट्याटु उपभोक्ता विभिन्न क्षेत्रका व्यापारी, कलाकार, खेलाडी र आर्थिक रूपमा सम्पन्न व्यक्तिका छोराछोरी हुन् । उनीहरूले यसलाई राम्रो देखिन र फेसनका रूपमा उपभोग गर्छन् । तर यसको मतलब यो समूहकाहरूले मात्र ट्याटु उपभोग गर्छन् भन्ने सोच्नु गलत हो ।’ हाम्रो समाजमा यसलाई नकारात्मक रूपमा मुल्यांकन गरिने भए तापनि यसको आफ्नै विशेषता रहेको मल्लको धारणा छ । विदेशी पर्यटकले नेपाल आउँदा चिनो स्वरूप ट्याटु खोपाएर जान्छन् । विदेशको तुलनामा नेपालमा ट्याटु बनाउनु कम खर्चिलो भएकाले पनि उनीहरूले नेपालमा बनाउने गरेको उनको तर्क छ । त्यसैले पर्यटकीय तथा आर्थिक विकासमा ट्याटु उद्योगले सकारात्मक प्रभाव पार्ने सम्भावना रहेको विश्लेषक मल्ल बताउँछन् ।

प्रतिक्रिया