विद्यालयमा कुनै पनि शुल्क नलिन रोहिणीको निर्देशन

धकधई । रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले गाउँपालिकाभित्र रहेका विद्यालयहरूलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिएका छन् । कतिपय विद्यालयले विद्यार्थीबाट रकम उठाएर विद्यालयको बैंक मौज्दात मात्र बढाएको उनको आरोप छ ।

‘विद्यार्थी र उनीहरूको अभिभावकको रगत पसिनाको कमाई चुसेर विद्यालयले आप्mनो बैंक ब्यालेन्स बढाउनु गलत हो’, यादवले भने ‘त्यसकारण अबका दिनमा गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा भर्ना शुल्क लिन दिन्नँ ।’

रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थीले कक्षा १२ को विद्यार्थी बिदाइ कार्यक्रममा बोल्दै उनले यसै शैक्षिक सत्रदेखि नै भर्ना निःशुल्क गरिएको उनले बताए । यसको लागि गाउँ शिक्षा समितिबाटसमेत निर्णय भइसकेको यादवले जानकारी दिए । स्थानीय तहले अब सबै विद्यालयको अनुगमन गर्ने उनले बताए ।

रामनरेश यादव माध्यमिक विद्यालयले महिनाको तीन लाख खर्च हुने प्रस्ताव राखेको र वार्षिक ३६ लाख विद्यालयले उठाउनै नसक्ने यादवले दाबी गरे । उनले यो रकम विद्यार्थीबाट उठाउन खोज्नु पनि गलत भएको टिप्पणी गरे । विद्यालयलाई सक्रियतापूर्वक घरदैलो गरी भर्ना अभियान बढाउन उनले निर्देशन दिए । जति विद्यार्थी भर्ना हुन्छन् ती सबै विद्यार्थीको भर्ना बापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने उनले बताए ।

कुनै पनि हालत रोहिणी गाउँपालिकाका सामुदायिक विद्यालयहरूले भर्ना शुल्क लिन नपाउने र लिएको भए पनि त्यसलाई फिर्ता गर्न उनले विद्यालयहरूलाई निर्देशन दिएको बताए ।

विद्यालयको कोष बढाएर कतिपय विद्यालयका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले कोष हिनामिना गरिरहेको उजुरीहरू गाउँपालिकामा आइरहेको उनले बताए । अबका दिनमा कोष बढाउनभन्दा पनि शैक्षिक स्तर उकास्न उनले विद्यालयलाई आग्रह गरे ।

यसै विषयमा ६ वैशाखमा बसेको गाउँ शिक्षा समितिले निर्णय गरिसकेको हुँदा सोही निर्णयअनुसार गर्न उनले रोहिणी गाउँपालिका अन्र्तगतका सबै सामुदायिक विद्यालय र मदरसाहरूलाई परिपत्र गर्ने बताए ।

प्रतिक्रिया