भन्न लगाएको बुद्धि र सोचले साहित्य लेख्न सकिँदैन

साहित्यकार डा. धनप्रसाद सुवेदी, कविता, समालोचना, लोकवार्ता र लोक संस्कृतिका अध्येताका रूपमा नेपाली साहित्यमा परिचित छन् । साहित्यले जनजीवनलाई गहिरो गरी छाम्नुपर्ने मान्यता राख्ने डा. सुवेदीले नेपाली उपन्यासमा आञ्चलिकताको विषयलाई गहन ढंगले उठान गर्दै आएका छन् । साहित्यकार डा. सुवेदीसँग नेपाली साहित्यका विविध आयामसँग केन्द्रित रहेर सौर्य दैनिकले गरेको कुराकानीः

साहित्यमा विचार पक्षको महत्व कत्तिको हुन्छ ?
विचार साहित्यको अनिवार्य तत्व हो । विचारविना साहित्य नै हुँदैन । साहित्यका तत्वको चर्चा गर्दा यसलाई भाव, सारवस्तु, उद्देश्य आदि नाममा उल्लेख गर्ने प्रचलन छ । कला कलाका लागि भन्ने कलावादीहरू, साहित्यमा भाव वा विचारको आवश्यकता नदेख्ने र साहित्यलाई केवल भाषाको जोडजाम मान्ने रूपवादीहरूले साहित्यमा विचारलाई निषेध गर्न खोज्छन् । त्यो पनि एक प्रकारको विचार नै हो ।

‘साहित्य साहित्यका लागि हो, जीवनका लागि होइन’ भन्नु आफैँमा विचार होइन र ? ‘भनिने कुरा त उहिल्यै अरूले भनिसके त्यसैले कसरी भन्ने कुरा चाहिँ मुख्य हो’ भन्ने शैलीवादीहरूको भनाइ पनि त आफैँमा एकप्रकारको विचार हो नि । महाआख्यानको अन्त्य, लेखकको मृत्यु, पाठकको मृत्यु, इतिहासको अन्त्य, केन्द्रभञ्जन जस्ता उत्तरआधुनिक मान्यता विचार होइनन् र ? त्यसैले, साहित्यमा विचार हुन्छ नै । तर त्यो विचार कसरी आयो ? कसको पक्षमा आयो ? कति स्पष्ट रूपमा आयो ? जस्ता प्रश्नहरू भने विचारणीय हुन्छन् । साहित्यमा विचार त अवश्य आउँछ, आउनुपर्छ तर त्यो कलात्मक रूपमा आउनुपर्छ । साहित्यका विभिन्न विधाहरू छन् । ती विधाका आफ्ना खास–खास अभिलक्षण छन् । विधाहरूका आफ्नो संरचनात्मक ढाँचा छ, त्यही ढाँचमा ढालिएर साहित्यमा विचार आउँछ ।

नेपाली साहित्यमा विचार पक्षमाथि वेलावेलामा तर्कवितर्क आइरहन्छन् किन होला ?
नेपालीमा साहित्यमा विचार हुन्छ वा हुन्न भन्ने बारेमा धेरथोर तर्कवितर्क हुने गरेको छ । मुख्यतः यथास्थितिवादी ÷पुरातनपन्थीहरू अग्रगामी विचारलाई निषेध गर्न खोज्ने र अग्रगामीहरू यथास्थितिवादी र पुरातनवादी विचारलाई निषेध गर्न खोज्छन् । हो यहीँनेर तर्कवितर्क जन्मन्छ । ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भने, साहित्यमा विचार हुँदैन भन्नु पनि आफँैमा विचार हो । साहित्यमा विचार त हुन्छ नि । यसमा तर्कवितर्क गर्नुको कुनै अर्थ छैन । तर कस्तो विचार भन्ने कुरामा चाहिँ तर्कवितर्क गर्न सकिन्छ ।

विचारविनाको साहित्यले समाजको नाडी छाम्दैन भन्ने एकथरीको भनाइ छ भने अर्काथरीले विचार पक्ष खासै केही होइन भन्दै बहस चलाइरहेका छन् नि !
पहिलो कुरा त विचारविनाको साहित्य हुँदै हुँदैन । यदि, विचारलाई गोलमटोल रूपमा प्रस्तुत गरियो अझ भनौँ लेखक के भन्दै छु भन्ने कुरामा स्पष्ट भएन, अल्मलियो भने त्यसले लेखेको साहित्यको कुनै मूल्य हुँदैन । यसर्थ, विचारविनाको साहित्यले समाजको नाडी छाम्नै सक्तैन । विचार विनाको लेखनले सस्तो मनोरञ्जन देला तर त्यसको कुनै साहित्यिक मूल्य हुँदैन । समाजको नाडी छाम्ने गरी साहित्य लेख्ने भनेको समाजको खास पक्षको कलात्मक चित्रण गर्ने कुरा हो । त्यसका लागि त विचार चाहिन्छ चाहिन्छ । समाजको नाडी छाम्नु भनेको समाजको यथार्थ चित्रण गर्न सक्नु हो ।

समाजको यथार्थ चित्रण गर्ने भनेको समाजको इतिहास, त्यस समाजका मौलिकता, विशेषता, त्यहाँका मानिसका बिचको द्वन्द्व, संघर्ष आदिको पहिचान गरेर त्यसलाई साहित्यमा प्रतिविम्बन गर्न सक्नु हो । त्यसका लागि त लेखकका कुनै न विचारको पक्षधरता अवश्य हुन्छ । चाहे त्यो यथास्थिति होस् वा परिवर्तनकामी होस् । विचार त हुन्छ नै । त्यसमा पनि परिवर्तनकारी विचार भयो भने समाजमा रहेको गतिशील यथार्थलाई साहित्यमा प्रतिबिम्बन गर्न सक्छ । यथास्थितिवादी विचार भयो भने उसले समाजलाई जड रूपमा, यान्त्रिक रूपमा अझ भनौँ सतही रूपमा मात्रै बुझ्न सक्छ । त्यसले मूल्यवान् साहित्य लेख्न सक्तैन ।

साहित्यमा विचारको आवश्यकता नदेख्नेहरू भाषिक प्रयोगका चक्रब्यूहमा फस्छन् र आफै हराउँछन् । उनीहरूका कृतिले एकाध फुर्सदिला बुद्धि विलासीलाई मनोरन्जन देला । त्यस्ता कृतिहरू केही दिन चर्चामा आउलान् पनि । तर, तिनको कुनै अर्थ छैन ।

विशेषगरी, विचार पक्षीय साहित्य माक्र्सवादसँग जोडिएको भनिन्छ, यसमा तपाईंको धारणा के छ ?
संस्कृत साहित्य परम्परामा अलंकार सम्प्रदाय छ, त्यसले साहित्यको रूप पक्षलाई जोड दिन्छ । अलंकारवादीहरूका विचारहरू झन्डै–झन्डै रूपवादीका जस्तै लाग्छन् । अलंकारवादीको रूपमोहलाई चुनौती दिँदै संस्कृत परम्परामा रसवादी सिद्धान्त अघ बढ्यो । रसवाद नै संस्कृत साहित्य सिद्धान्तको मूल प्राप्ति पनि हो । रस सिद्धान्तले साहित्यमा विचारको महत्वलाई स्थापित गर्छ । पाश्चात्य परम्परामा प्लेटो एरिस्टोटदकै पालादेखि साहित्यमा विचारलाई जोड दिइएको पाइन्छ ।

१९आैँ शताब्दीको अन्त्यतिर फ्रान्समा कला कलाका लागि भन्ने कलावादी मान्यता र रुसका भाषाशास्त्रीहरूले सुरु गरेका संरचनावादी भाषाविज्ञानको गुरुकुलमा रूपवाद जन्मिएपछि साहित्यमा विचार निषेधको कुरा आएको हो । यसरी हेर्दा माक्र्सवाद जन्मिनुभन्दा धेरैअघि जब साहित्यको जन्म भयो, त्यो वेलादेखि नै साहित्यमा विचारको अनिवार्यता स्वीकार गरिएको हो ।

पश्चिममा जन्मिएका आदर्शवादी चिन्तनदेखि माक्र्सवादले त विचारलाई महत्त्व दिन्छन् नै अस्तित्ववाद, विसंगतिवाद र उत्तरआधुनिकतावाद समेतले प्रकारान्तरले साहित्यमा विचारको महत्त्वलाई स्वीकारेको देखिन्छ । त्यसैले विचारपक्षीय साहित्य माक्र्सवादसँग जोडिएको भन्नु उचित हुँदैन । यसमा के चाहिँ सत्य हो भने पछिल्ले समयमा जब विचारविहीन साहित्यको कुरा उठ्यो र त्यसलाई कडा प्रतिवाद गर्ने काम भने माक्र्सवादले ग¥यो । त्यसबाट माक्र्सवाद चाहिँ विचारपक्षीय हो अरू चाहिँ होइन कि भन्ने जस्तो लागेको हो ।

कम्युनिस्ट पार्टीमा जोडिएका वा नजोडिएका, विभिन्न पार्टीमा छरिएर रहेका, अहिलेको बजारको प्रभावमा शृंगारिक, प्रयोगवादी, उत्तरआधुनिक लेखनको हावाले लठ्ठिएका नव लेखकलाई प्रगतिशील यात्रातर्फ उन्मुख गराउनका लागि प्रगतिशील लेखक संघको अझै बढी आवश्यकता छ

साहित्यलाई केही सीमित, उपल्ला वर्गको मनोरञ्जन र आत्मरतिको सीमाबाट तानेर आम श्रमजीवी वर्ग अझ भनौँ आम मानिसका विचारलाई अभिव्यक्त गर्ने समर्थवान् बनाउने काम माक्र्सवादले गरेको हुनाले साहित्यमा विचारको कुरा आउँदा त्यो भनेको माक्र्सवादी हो भन्ने जस्तो लागेको मात्रै हो । माक्र्सवादले साहित्यमा श्रमजीवी, उत्पीडित वर्गको पक्षमा विचार व्यक्त हुनपर्छ भन्ने कुरालाई जोडदार रूपमा उठाएपछि विरोधीहरूले माक्र्सवादको विरोध गर्र्ने क्रममा विचारकै विरोध गरेजस्तो देखिएको हो । उनीहरू साहित्यमा माक्र्सवाद विरोधी विचारको पक्ष लिन्छन् । माक्र्सवादीहरू उत्पीडित वर्गीय विचारको पक्ष लिन्छन् । खास कुरा यही नै हो ।

नेपालमा प्रगतिशील साहित्यका बारेमा निकै बहस चलिरहेको छ, माक्र्सवादी साहित्यसँग यसको अन्तरसम्बन्ध कत्तिको रहेको पाइन्छ ?
यथास्थितिबाट अघि जाने अर्थमा प्रगतिशील भन्ने बुझिन्छ । माक्र्सवाद त स्वतः अघितिर जाने दर्शन हुँदै हो । यसैले, माक्र्सवादी साहित्य र प्रगतिशील साहित्यसँग अन्तरसम्बन्ध हुने नै भयो । साहित्यमा प्रगतिशीलताको सन्दर्भ जो सुकैले उठाउन सक्छन् । अहिले भइरहेको अथवा यथास्थितिमा रहेका कमीकमजोरी, खराबी, विसंगति, कुरीति, भ्रष्ट्राचार, शोषण आदिप्रति सामान्य असन्तुष्टि राख्दा मात्र पनि प्रगतिशीलता हुन्छ । माक्र्सवादी साहित्य चाहिँ यसको नामबाटै स्पष्ट छ, यो माक्र्सवादी दर्शनमा आधारित छ ।

द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, संसारका श्रमजीवीहरू एक हौँ भन्ने विचारमा आधारित साहित्य चाहिँ माक्र्सवादी हो । गतिशील यथार्थको चित्रणमा जोड दिने, व्यक्तिगत कुण्ठा, निरासालाई भन्दा सामूहिकतामा जोड दिने, यथास्थितिमा रहेका शोषण, उत्पीडन, विभेद, असमानता, अन्याय, अन्धविश्वास आदिको विरोध गर्दै तिनको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा आधारित साहित्य माक्र्सवादी साहित्य हो । सामूहिक चिन्तन, श्रमजीवी वर्गको हित, सबै प्रकारका उत्पीडनबाट मुक्ति, समानता, र प्रगतिको पक्षपोषण माक्र्सवादी साहित्यको आधारभूत विशेषता हो । यसरी हेर्दा माक्र्सवादी साहित्य स्वतः प्रगतिशील हुन्छ । प्रगतिशील साहित्य चाहिँ सबै मार्क्सवादी  हुँदैन ।

पछिल्लो समय प्रगतिशील लेखक संघका विषयमा निकै चर्को बहस चलिरहेको छ । यसको अन्तरसम्बन्ध र औचित्यका बारेमा यहाँको दृष्टिकोण के हो ?
यस विषयमा पहिले पनि बहस भएकै हो । प्रगतिशील लेखक संघलाई पूरापूर माक्र्सवादी लेखक संघका रूपमा बुझ्ने हो भने त्यो हिजो पनि थिएन, आज पनि छैन । हिजो पनि प्रलेस कम्युनिस्ट नामका पार्टीलाई भोट हाल्ने लेखकहरूको संस्था थियो । आज पनि त्यही छ । यति हुँदाहुँदै पनि यसले नेपालको माक्र्सवादी लेखनको आन्दोलनलाई उल्लेख्य सहयोग पु¥याएको छ । मेरो विचारमा प्रलेसको आवश्यकता काठमाडौँमा होइन, तल जिल्लातिर छ । यसको आवश्यकता नवप्रतिभाहरूका लागि छ । भर्खरै लेखनमा लागेकालाई प्रगतिशील लेखनतिर उत्प्रेरित गर्न यसको आवश्यकता छ ।

कम्युनिस्ट पार्टीमा जोडिएका वा नजोडिएका, विभिन्न पार्टीमा छरिएर रहेका, अहिलेको बजारको प्रभावमा शृंगारिक, प्रयोगवादी, उत्तरआधुनिक लेखनको हावाले लठ्ठिएका नव लेखकलाई प्रगतिशील यात्रातर्फ उन्मुख गराउनका लागि प्रगतिशील लेखक संघको अझै बढी आवश्यकता छ । तर अहिलेको बहसमा भने विभिन्न मनोविज्ञानले काम गरेको छ । अलिक बढी सत्ता उन्मादले, अलिकति सलिब्रेटी बनाउने बजारको प्रभावले, अलिकति जुँगाको लडाइँले अनि लेखक कम र कार्यकर्ता बढी हुनेहरूले प्रलेसको नेतृत्व हत्याउन सक्ने परिपाटीले अहिलेको अवस्था सिर्जना भएको हो भन्ने मेरो ठम्याइ छ ।

नेपाली समालोचनाको वर्तमान अवस्था अर्थात् परिदृश्यका बारेमा बताइदिनुहोस् न ।
समकालीन नेपाली समालोचना गेसपेपर, गाइड, बढुवा, उपाधि, पुरस्कार, प्रशंसा, चाकडीको प्रयोजनमा सीमित छ । यसैले, समालोचना समालोचना जस्ता नभएर अरू नै केही जस्ता देखिन्छन् । विडम्बना के छ भने धन्न गेसपेपर, पाइड, बढुवा, उपाधि, पुरस्कार, चाकडीका लागि भए पनि जसोतसो समालोचना नामका लेखहरू लेखिँदै छन् नत्र नेपाली समालोचना आइसल्यान्डको सर्प हुन बेर लाग्दैनथ्यो भन्नुपर्ने अवस्था छ ।

गेसपेपर, गाइड र एकाध अपवादलाई छाडेर बढुवाको प्रयोजनलाई लेखिएका सामग्रीहरू कमसल खालका पुनरावृत्ति मात्रै हुन् । बरु चाकडी र पुरस्कारको प्रयोजनका लागि लेखिने कुराहरू कम्तीमा नयाँ कृतिमा आधारित हुने हुनाले तिनको धेरथोर महत्त्व होला । उपाधि प्रयोजनका लागि लेखिएका थेसिसहरू तुलनात्मक रूपमा ठीकै छन् । थेसिसहरू बढी औपचारिक हुन्छन् र पनि तिनले केही न केही नयाँ कुरालाई ल्याउँछन् । यस्ता थेसिसहरू सबै राम्रा छैनन्, कतिपयमा पुनरावृत्ति छ । त्यति हुँदाहुँदै अहिलेको नेपाली समालोचनाको धेरथोर इज्जत धान्ने काम तिनै अनुसन्धानहरू नै हुन् । यसबाहेक सीमित मात्रमा स्वान्त सुखायका लागि खोज र समालोचना हुने गरेका छन् र तिनले पनि नेपाली समालोचनामा धेरथोर योगदान पु¥याएका छन् । साँच्चिकै समालोचना गर्छु भनेर लाग्ने समालोचकहरू बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।

आञ्चलिक आख्यान र तिनको समालोचकीय पक्ष कस्तो छ ?
आञ्चलिक आख्यानहरू लेखिइरहेका छन् । पछिल्लो समयमा साहित्यमा पहिचानको विषयलाई प्रश्रय पाउन थाल्पछि ओझेल पर्दै गरेको आञ्चलिक लेखनले प्राण प्रतिष्ठा पाएको छ । जातीय, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक पहिचान र मौलिकतातर्फको खोजीमा आञ्चलिकता बाँच्ने हो । पछिल्ला आख्यानमा यी पक्षमा सर्जकको रुचि बढ्दै छ । यसबाट आञ्चलिक आख्यानहरू आउँदै छन् । तर, यसको समालोचना पक्ष भने सन्तोषजनक छैन ।

नेपालमा पछिल्लो समय ‘घोस्ट राइटिङ’ को फेसन चलेको छ । यसको सकारात्मक र नकारात्मक पक्ष के–के हुन् ?
पछिल्लो समयमा लेखनलाई वैयक्तिक कार्य नमानेर सामूहिक प्रयत्नका रूपमा लिन थालिएको छ । लेखकको मूल विचार हुन्छ, सोच हुन्छ । भाषाशैली भनौँ फिनिसिङ भने प्राविधिक पक्ष हो, प्राविधिकले गर्दा हुन्छ भन्ने मान्यता स्थापित हुँदै छ । यसबाट घोस्ट राइटिङ प्रश्रय पाएको छ । सिर्जनालाई सचेत प्रयत्नका रूपमा लिने, विज्ञको सल्लाह लिने, प्राविधिक पक्षमा ध्यान दिने र गैरसाहित्यिक क्षेत्रका मानिसलाई पनि साहित्यिक क्षेत्रमा ल्याउने यसका राम्रा पक्ष हुन् । साहित्यलाई बजारको वस्तु बनाइदिने, पैसा हुनेहरू रातारात साहित्यकार बन्ने र वास्तविक साहित्यकारहरू ओझेलमा पर्ने आदि यसका नराम्रा पक्ष हुन् ।

जो कोही पनि लेखक बन्ने वातावरण सहज हुँदै गएको हो ?
हो, जो कोही लेखक बन्ने जस्तो देखिएको छ । पैसा हुनेहरू लेखक बन्ने, पुरस्कार साट्नेजस्ता अनेक विकृति देखिँदै छन् । तर, त्यो टिकाउ हुँदैन । ढिलोचाँडो पाठकले लेखक र गैरलेखक चिन्छन् ।

यसले आत्मसंस्मरण तथा आख्यान आत्मकेन्द्रित बन्दै गएको जस्तो लाग्दैन ?
केही सेलिब्रेटीका किताब बिकेको हल्लाले कुरो त्यस्तै हो कि जस्तो देखिन्छ । तर, त्यो टिकाउ हुँदैन । वैयक्तिक गन्थन भएर मात्रै आत्मसंस्मरण र आख्यानहरू चल्दैनन् । अबको पाठक एडभान्स छ । पाठकको मन जित्ने गरी लेख्ने कुरा ठट्टा होइन । विज्ञापनले, बजारले, रुपैयाँले, पद प्रतिष्ठाले प्रभाव त पार्छन् तर साहित्य भनेको यी कुरा मात्रै होइन । साहित्य यीभन्दा माथि हुन्छ ।

जनजीवन छाम्ने साहित्य कसरी लेख्न सकिएला ?
जनजीवन छाम्ने लेखक हुनुअघि जनजीवनलाई गहिरोसँग आत्मसात् गर्न आवश्यक छ । कोठामा बसेर लक्ष्मीप्रसाद देवकोटा जस्तो आँसु लेखन गरेर अब सफल साहित्यकार बन्न सकिँदैन । अबको साहित्यकार अनुसन्धाता पनि हो । जनजीवनलाई छाम्ने साहित्यकारमा युगबोध, जीवनबोध र भविष्यद्रष्टा यी तीन कुरा अनिवार्य छन् ।

नेपाली इतिहासको विशेषता, नेपाली समाजको विशिष्टता र विविधता, आजको विश्व दुनियाँका सापेक्षमा हाम्रो समाजको अवस्था राम्ररी बुझेर मात्रै नेपाली समाजको साहित्य लेख्न सकिन्छ भन्ने मलाई लाग्छ । परिवर्तनलाई आत्मसात् गर्न नचाहने र नखोज्ने, हाम्रो मौलिकता, विशिष्टता, पहिचानलाई आत्मसात् नगर्ने, कसैले घोकाइदिएको र कसैले अनुदान दिएर भन्न लगाएको बुद्धि र सोचले नेपाली जनजीवनलाई छाम्ने साहित्य लेख्न सकिँदैन । अहिलेको हाम्रो साहित्यमा त्यही कमजोरी भएजस्तो लाग्छ ।

प्रतिक्रिया