परम्परागत कलामा रुचि

ललितकला विषयमा अध्ययनरत काभ्रेकी डोना मगरलाई आफ्नो परम्परागत चित्रकलामा रुचि छ ।

केही दिन पहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेको परम्परागत चित्रकलासम्बन्धी प्रशिक्षणमा सहभागी उनले आफ्नो परम्परागत चित्रकलामा आफू बसिरहेको समाजको चित्रण हुने बताउँछन् । ‘हामीले मानिरहेको धर्म, संस्कृति र संस्कारको झल्को यी चित्रमा हुन्छ’, उनले भने, ‘पश्चिमी चित्रकला आर्थिक हिसाबले राम्रो भए पनि परम्परागत कला आर्थिक र परम्पराको संरक्षणका हिसाबले महत्वपूर्ण छ ।’

प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा कलेजका कक्षामा भन्दा फरक कुरा सिकेको उहाँको अनुभव छ । उनले भने, ‘कलेजमा हामीले पश्चिमी कला बढी सिक्छौँ भने यहाँ परम्परागत ज्ञान पाएका छौँ ।’

हिन्दू धर्मका विभिन्न देवदेवीको आकृति पौभामा उतार्ने गरिन्छ । बुद्ध दर्शनमा आधारित बुद्धकालीन विषयलाई कपडा तथा कागजमा उतार्ने कलालाई थांका भनिन्छ । तत्कालीन काठमाडौं उपत्यकामा १२औँ शताब्दीमा सुरु भएको पौभाको संस्कृति क्रमिकरूपमा तिब्बतमा फैलिएर परिमार्जित भएपछि थांका भनिन थालेको हो

मगरको सानैदेखि रंगहरूसँग आकर्षण थियो । विद्यालयका कक्षामा वा घरमा हुँदा उनी चित्र बनाउने गर्थे । ठूलो हुँदै जाँदा उनको चित्रकलाप्रतिको मोह बढ्दै गयो । अहिले उहाँ ललितकला विषय लिएर अध्ययन गरिरहेका छन् । चित्रकलालाई नै पेसा बनाउने उनको योजना छ । अझै पनि आफ्नो सन्तानले विज्ञान विषय लिएर पढोस् भन्ने चाहना धेरै अभिभावकको छ । उनको परिवारले भने उनलाई ललितकला विषय लिएर अध्ययन गर्न सहयोग गरिरहेको छ ।

मगरजस्तै ललितपुरकी लसता शाक्य पनि परम्परागत कला सिक्न चाहन्छन्् । पौभा, थांका लगायतका परम्परगत चित्र युवापुस्ताले बुझेर त्यसमा लाग्नुपर्नेमा उनको जोड छ । प्रशिक्षणले सामान्य खालको ज्ञान दिए पनि थप ज्ञानका लागि फेरि परम्परागत चित्रकला सिक्ने योजना उनको छ । नेपालमा परम्परागत कलाको महत्व धेरै रहेको उनले बताए । नेपाल आउने विदेशी पर्यटकको आकर्षणका केन्द्रविन्दु नै यी चित्रकला हुने गर्छ ।

‘हाम्रो परम्परागत चित्रकला सिक्न हामी नयाँ कलाकार लाग्नुपर्छ’, उनले भने, ‘परम्परागत चित्रकला एउटा पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुनुपर्छ ।’ युवापुस्तामा परम्परागत चित्रकलाप्रतिको आकर्षण बढ्दो छ । परम्परागत चित्रकलामा थांका, पौभा, शिल्पकला (ढुङ्गामा कुँद्ने) पर्ने प्रतिष्ठानले जनाएको छ । कलेजमा पश्चिमी चित्रकला अध्ययनरत विद्यार्थीले परम्परागत चित्रकला नयाँ पुस्ताले सिक्नुपर्ने बताउँछन् । परम्परागत चित्रकलाले परम्परागत समाजको वास्तविक चित्रण गर्ने गर्छ । थाङ्का र पौभा धर्मशास्त्रमा आधारित हुन्छ । आधुनिक चित्रकारसमेत परम्परागत चित्रकलामा आकर्षित भइरहेका छन् ।

ओखलढुंगाका यशमुमार केसी गैरसरकारी संस्थामा कार्यरत भए पनि परम्परागत चित्रकला सिकेकी छन् । पाँच दिनको प्रशिक्षण पर्याप्त नभएकाले थप कक्षा लिने उनको योजना छ । चित्रकला त्यसमा पनि परम्परागत चित्रकलाको भविष्य राम्रो रहेको उनको अनुभव छ । विद्यालय शिक्षमा चित्रकला समेट्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘यसले एकातिर नेपाललाई विदेशसम्म चिनाउँछ भने अर्कातिर बेरोजगारीको समस्यासमेत हल गर्छ ।’

प्रतिष्ठानका परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरुङले नेपालका परम्परागत चित्रले नै देशलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको बताए । परम्परागत चित्रकलामा कलाकारले धर्मग्रन्थमा रहेको विषयवस्तुलाई चित्रका रूपमा उतार्ने गर्छन् । यसलाई शास्त्रीय चित्रकलासमेत भन्ने गरिएको उनले बताए । उनका अनुसार एकातिर अहिले नै परम्परागत चित्रकलामा आबद्ध धेरै कलाकार छन् भने नयाँपुस्ता पनि यसमा आकर्षित भइरहेका छन् । उनले भने, ‘आधुनिक कलामा लागेका कलाकारले समेत परम्परागत चित्रकला सिकिरहेका छन् ।’

नेपाल आउने धेरै पर्यटकले यहाँबाट फर्कदा साथमा थांका र पौभा लैजाने गरेको प्रमुख गुरुङले बताए । प्रतिष्ठानको परम्परागत कलाको विस्तार प्रदेशस्तरसम्म गर्ने योजना रहेको उनले बताए । परम्परागत चित्रकलाको ऐतिहासिक र परम्परागत महत्व रहेको उल्लेख गर्दै उनले भने, ‘कलेजमा ललितकला अध्ययनरत विद्यार्थीले यस विषयमा सिक्नैपर्छ ।’

हिन्दू धर्मका विभिन्न देवदेवीको आकृति पौभामा उतार्ने गरिन्छ । बुद्ध दर्शनमा आधारित बुद्धकालीन विषयलाई कपडा तथा कागजमा उतार्ने कलालाई थांका भनिन्छ । तत्कालीन काठमाडौं उपत्यकामा १२औँ शताब्दीमा सुरु भएको पौभाको संस्कृति क्रमिकरूपमा तिब्बतमा फैलिएर परिमार्जित भएपछि थांका भनिन थालेको हो ।

प्रतिक्रिया