पर्सामा नागरिकता लिनेको भिडः नागरिकता बनाउन आउनेको भिड बढेपछि व्यवस्थापन गर्न प्रशासन कार्यालयलाई हम्मेहम्मे, प्रहरी परिचालन गरी दैनिक १ सय बढीलाई वितरण
काठमाडौं । चैत १९ गते गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भन्दै ७७ जिल्लालाई सर्कुलर गर्यो ।
नागरिकता नभएर बिद्यालय र रोजगारबाट वञ्चित हुनेहरूलाई लक्षित गर्दै गृह मन्त्रालयले संविधानअनुसार नागरिकता वितरण गर्न सर्कुलर जारी गरेको हो । नगरिकता पाउन थालेपछि तराई–मधेसमा अहिले नागरिकता बनाउन आउनेको भिड छ । यहासम्म कि जिल्ला प्रशासन कार्यालयले नागरिकता लिन आउनेलाई टोकन नै दिइरहेको छ ।
विशेष गरी तराई–मधेसतिर नागरिकतासम्बन्धी समस्या विकराल छ । खुला सिमानाले गर्दा त्यहा वास्तविक नेपाली नागरिकले नागरिकता पाएकी पाएनन् भनेर राष्ट्रिय बहस हुने गरेको छ । पछिल्लोपटक गृहको सो सर्कुलरपछि पुन नागरिकताको विषयलाई लिएर बहस चर्किरहेको छ । नागरिकतासम्बन्धी विधेयक संसदीय समितिमा छलफलकै क्रममा रहेका वेला नागरिकता दिन सर्कुलर जारी गर्न नहुने एक पक्षको माग छ । कतिपयले भारतीयलाई नागरिकता दिन यस्तो सर्कुलर जारी गरेको समेत भन्दै आएका छन् ।
बहसकैबीच अधिवक्ता बालकृष्ण नेउपानले सर्वोच्च अदालतमा गृहको सर्कुलर रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरे । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले पत्र यथास्थितिमा राख्न आदेश दिँदै दुवै पक्षलाई वैशाख ३ गते छलफलका लागि बोलायो ।
यो आदेश आउँदासम्म तराईका जिल्लाहरूमा विशेषगरी झापा, मोरङ, पर्सा लगायतका जिल्लामा ठूलो भिड लागिसकेको थियो । त्यो विचमा धेरैले नागरिकता लिईसकेको अवस्थामा सर्वोच्चबाट आएको आदेशले रोक लाग्यो । तर, वैशाख ३ गते गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनायो ।
सरकारले यसअघिको सर्वोच्च अदालतको आदेश र संविधानको धारा ११ को उपधारा ३ को व्यवस्थाबमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकता लिएर आए वंशजको नागरिकता दिने निर्णय गरेको बताएको छ । संविधानको सो उपधारामा,‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’, भनि उल्लेख गरेको छ ।
सरकारले विभिन्न प्रकारका नागरिकता प्रदान गर्दै आएको छ । वंशज, अंगीकृत र सम्मानार्थ नागरिकता प्रदान गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । जसमध्ये सबैभन्दा प्रमुख नागरिकता भने बंशजको आधारमा हो । अंगीकृतमा राजनीतिक र अन्य केही अधिकारमा बन्देज लगाइएको छ ।
यी कारणले गर्दा पनि मानिसहरू वंशजको नागरिकता पाउन अग्रसर हुने गर्दछन् । तराईका कतिपय जिल्लामा स्थानीय प्रशासनको मिलेमतोमा कतिपय भारतीयलाई समेत नागरिकता दिएको उदाहरण प्रशस्तै छन् । यस्तै, आशंका अहिले पछिल्लो समय हुन थालेका छन् । तर, पछिल्लो समय मोरङमा नागरिकता लिन आउनेले भारतीय नम्बर प्लेटका सवारीसाधन लिएर आउनेको भिड बढेपछि आशंका धेरै उब्जिएका छन् ।
टोकनमा बिचौलिया
जिल्ला प्रशासन कार्यालय शाखा मोरङले वैशाख १९ गते सम्मका लागि जन्मसिद्ध नागरिकता लिएका बाबुको सन्तानलाई जन्मसिद्ध नागरिकता दिन दैनिक १५० का दरले ३५ सय टोकन वितरण गरिसकेको छ । तर, टोकनअनुसार वैशाख ९ गते पालो परेको व्यक्तिले बिहीबार नै नागरिकता लिएका छन ।
बिचौलियाको सहायता लिएकाहरूले तीन हजार रुपैयाँ तिरेर नागरिकता लिएको बताएका छन । बिचौलियाले प्रशासन कार्यालयभित्र सेटिङ मिलाएर पछाडिको मितिमा टोकन लिएकाहरूको पनि अगाडि नै नागरिकता बनाइदिएका हुन् । वैशाख १२ गतेका लागि टोकन लिएका व्यक्तिले २ हजार ५ सय रूपैयाँ तिरेर नागरिकता लिए । टोकनमा उल्लेखित पालो भन्दा अगाडि नागरिकता बनाएको तथ्य भेटिए नागरिकता नै रद्द हुने भन्दै बिचौलियाले डर देखाउने गरेका छन् । बिचौलियाले छिटो नागरिकता चाहिए १० हजार रुपैयाँसम्म माग्ने गरेका छन् ।
पर्सामा प्रहरी नै परिचालन
पर्सामा नागरिकता लिन आउनेको भिड व्यवस्थापन गर्न प्रशासन कार्यालयलाई हम्मेहम्मे परेको छ । जसका लागि प्रहरी पनि परिचालन गरिएको छ । प्रहरी परिचालन गर्दा पनि नागरिकता लिनेको भिड नियन्त्रण नभएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन १०० जनालाई मात्र नागरिकता दिने भएको छ । टोकनका आधारमा प्रत्येक दिन १०० जनालाई नागरिकता दिने प्रणाली अपनाइएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
पर्सामा बिहीबार मात्र २९ जनालाई वंशजको नागरिकता दिइसकिएको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले भने, ‘टोकनमा उल्लेखित पालोभन्दा अगाडिपछाडि नगरी पालैसँग काम गर्दै जानुपर्ने अवस्था छ । केवल जन्मसिद्धका सन्तान मात्र नभएर प्रशासन कार्यालयले त दैनिक नागरिकता बनाउन आउने अरु वंशजवालाहरूलाई पनि दिनुपर्ने हुन्छ ।’ दैनिक सरदर ७० नागरिकता प्रदान गरिरहेको जिल्ला प्रशासन कार्यालयले जन्मसिद्धका सन्ततिले वंशजको नागरिकता पाउने भनेपछि थामी नसक्नु भिड जिल्ला प्रशासन कार्यालयमा आएको त्यहाँका कर्मचारीले जानकारी दिए ।
प्रतिक्रिया