सगरमाथाको चुचुरोमा कामिरिता शेर्पाको जति धेरै पाइला अहिलेसम्म कसैको परेको छैन । गत वर्ष आफैँले बनाएको सर्वाधिक २२ पटक शिखर पुग्ने कीर्तिमान भंग गर्न उनी यसपालि पुनः सर्वोच्च शिखरतर्फ जाने तयारीमा छन् ।
काठमाडौंको बौद्धमा बिबिसीसँग कुरा गर्दै ४९ वर्षीय पर्वतारोही शेर्पाले भने, ‘म यत्तिमै हिमाल चढ्न रोकिन्न । आउँदा केही वर्ष अझै चढिरहन्छु ।’ धेरैले कामिरितालाई सोधिरहने प्रश्न हो, यतिधेरै पटक सगरमाथा चढ्न कसरी सकिन्छ ? उनको सक्रियतामा उत्सुकता जनाउँदै हुने प्रश्न हो यो ।
हामीले पनि उनलाई त्यही प्रश्न सोध्यो । तर, उनले त्यसको सीधा उत्तर दिएनन् । प्रश्नको जवाफ भन्दा उनले कारण उधिन्न थाले । निजी बाध्यता र बाध्यताले बनाइदिएको पेसा, हिमालप्रतिको लगाव र सम्मान…। उनले सगरमाथा आफ्नो रहर नभएर बाध्यता र जीविकोपार्जनको माध्यम भएको स्वीकारे ।
सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेका थिए । पहिला दुई वर्ष भने विदेशी आरोहीलाई असहज नहोस् भनेर उनलाई अग्रजहरूले चुचुरोमा जान दिएनन् । ती दुई वर्ष उनी आठ हजार आसपासमा रहेको चौथो शिविरसम्म मात्र पुगे । सन् १९९४ मा पहिलोपटक चुचुरोमा पुग्दाको उनको अनुभव बेग्लै छ ।
‘माथि पुग्दा मलाई ठूलै केही गरेजस्तो लागेन । तर, त्यतिवेला काम पाउनका लागि कम्तीमा एकपटक सगरमाथा चढेको हुनुपथ्र्याे । मलाई खुसीचाहिँ अब सजिलै काम पाइएला कि भनेर भयो ।’ त्यतिवेला सगरमाथा चढ्न खोज्ने आरोहीहरू अहिलेजस्तो धेरै हुँदैनथे । कामिरिताका भनाइमा अहिलेजस्तो धेरै शेर्पाहरूलाई लगिँदैनथ्यो । त्यसैले काम पाउनु निकै हम्मेहम्मे थियो ।
कामिरिताको थामे गाउँमै २१ पटक सगरमाथा चढेका आपा शेर्पा हुन् र १० पटकसम्म विनाअक्सिजन सर्वोच्च शिखर पुगेका आङरिता शेर्पासमेत त्यही गाउँमा जन्मेका हुन् ।
‘तीन महिना अघिदेखि विभिन्न आरोहण चलाउने कम्पनीहरू धाउँदै काम खोज्न जान्थ्यौँ । कोसेलीका थाक टक्र्याउँदै कम्पनीका डाइरेक्टरहरूसँग गुहार र बिन्ती गर्दै काम खोज्थ्यौँ ।’ उनले काम सुरु गर्दाताका हिमाल चढ्दा लगाइने र अन्य पोसाकका लागि ५० हजार रुपैयाँ र दैनिक भत्ता पाँच सय रुपैयाँ पाउँदा रहेछन् शेर्पाहरूले । ‘त्यो वेलाको हेरेर त अहिले निकै सुख छ । त्यति खेर नेपालमा हतपत राम्रो ब्रान्डको लुगा किन्न पाइँदैनथ्यो ।’ ‘त्यतिखेर जुत्ताहरू निकै भारी हुन्थे । फित्ता बाँध्न नै एक घण्टा लाग्थ्यो । अहिले भने त्यस्तो छैन । उपकरणहरू पनि छरिता आएका छन् ।’
दाइ आक्पा शेर्पा अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको तालिम लिने प्रारम्भिक नेपालीमध्ये हुन् । उनले अहिलेसम्म १७ पटक सगरमाथा चढिसकेका छन् । कामिरिता सन् १९९५ र आफ्ना ‘क्लाइन्ट’लाई लेक लागेपछि साउथ समिटबाटै उनी फर्केका थिए । सन् २०११ मा आफ्ना आरोहीको अक्सिजन मास्क बिग्रिएपछि आफ्नो दिएर पठाएका थिए ।
सन् २००१ मा सन् १९२४ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने ब्रिटिश आरोही जर्ज म्यालोरीको पदचाप पछ्याउने अभियानअन्तर्गत गएका थिए । जर्ज म्यालोरी पुगेको ठानिएको ८३०० मिटरसम्म मात्र उक्त योजना थियो । अन्यथा आरोहण भएका सबैजसो वर्ष कामिरिता चुचुरोमा पुगेका छन् ।
अन्य आरोही चढ्नका लागि बाटो बनाउँदै डोरी चुचुरोसम्म डोरी टाँग्ने जिम्मेबारी पनि पाएकाले सन् २००९, २०१० र सन् २०१३ मा उननले एउटै मौसममा दुई पटक सगरमाथा चढेका छन् । सन् २०१२ माचाहिँ आधारशिविर नआईकन चौथो शिविरबाटै पुनः माथि लागेर दुईपटक चढेकाले त्यो छुट्टै आरोहणका रूपमा सरकारले मान्यता दिएन । उनी त्यस बीचमा सगरमाथामा भएका ठूला परिवर्तन र विपद्का साक्षी बने ।
सगरमाथा आरोहण गर्नेको संख्या बढेसँगै पछिल्ला वर्षमा आधार शिविरमा निकै भिडभाड बढेको छ । सन् २०१४ मा खुम्बु आइसफलमा आएको हिमपहिरोले १६ नेपाली शेर्पाको ज्यान गएको थियो । त्यति खेर उनी आधारशिविरमा थिए । अहिले पनि त्यहाँ पुग्दा उनलाई उक्त घटना सम्झेर भावुक बनाउँछ । त्यस घटनापछि चाहिँ अब ‘हिमाल चढ्न छाड्दिऊँ’ कि भन्ने लागेछ उनलाई । ‘तर, पछि सोचेँ गाडी चालकले बाटो अप्ठ्यारो भए पनि काम नछाडेजस्तै त हो मेरो काम पनि । मर्न त घरै बसे नि मरिन्छ ।’ उनले भने ।
आठ जनाले एकै ठाउँमा ज्यान गुमाएको सन् १९९६ को हिमआँधीका वेला उनी दोस्रो शिविरमा थिए । प्रसिद्ध पथप्रदर्शकहरू न्युजिल्यान्डका रब हल, अमेरिकाका स्कट फिसरको समेत हिमआँधीका कारण मृत्यु भएको थियो । त्यतिवेला कामिरिता शेर्पा उद्धारका लागि चौथो क्याम्पसम्म पुगेका थिए ।
त्यतिखेर आरोहणमै रहेका आउटसाइड म्यागजिनका पत्रकार जोन क्य्राउकरको पुस्तक ‘इनटु थिन एअर’मा लिपिबद्ध उक्त घटनालाई अहिले फर्केर हेर्दा त्यतिवेला मौसम अनुमान गर्ने प्रविधि कमजोर हुनुलाई उनी कारण ठान्छन् । मध्याह्नभन्दा धेरै पछि चुचुरोमा पुग्न खोज्ने उनीहरूको निर्णयसमेत त्यसमा दोषी रहेको उनी ठान्छन् ।
सगरमाथामा आरोहीका संख्या मात्र बढेको छैन, पछिल्लो समय उनीहरूको स्वभावमा पनि फेरिएको छ । उनी भन्छन्, अहिले कम्पनीहरू जथाभावी खुले अनि त्यसले गर्दा हिमाल चढाउने अस्वस्थ प्रतिस्पर्धाले भएको छ । ‘सबै शेर्पामा मात्र भर परेर आउन थालेका आरोहीले गर्दा अहिले आरोहण कठिन बनेको छ ।’
चार वर्षअघिको भूकम्पपछि आइसफल भने सजिलो भएजस्तो लाग्छ उनलाई यति वेला । बरफका ढिक्काहरू जोडिएकाले अहिले पहिलेजस्तो धेरै भ¥याङ राख्नु नपर्ने उनको अनुभव छ । तर, त्यसलाई कतिपय पश्चिमा आरोहीहरूले भने बढ्दो तापमानका कारण अस्थिर बन्ने गरेको समेत बताउँछन् । ‘पहिले १२–१३ वटा भ¥याङ चढ्नुपथ्र्यो भने अहिले तीन–चारवटाले पुग्छ ।’
‘पहिले क्याम्प टू मै कति धेरै हिउँ हुन्थ्यो । अहिले हिमनदी मात्र छ । इलेभन रकतिर पहिले ५० मिटरजति मात्र ढुंगा देखिन्थ्यो अहिले त्यो एक सय मिटरसम्म देखिन थालेको छ । बाल्कोनीभन्दा माथि कम्मरसम्म हिउँ हुन्थ्यो अहिले ढुंगामात्र देखिन्छ ।’ उनले बताए ।
हिउँ पग्लने जस्ता नयाँ चुनौती बढे पनि नियम, गियर र मौसमी प्रविधिजस्ता कुरामा धेरै सुधार भएको छ । सानो छँदा गाउँका बूढापाकाहरूले तारा हेर्दै मौसम पूर्वानुमान गर्न सिकाउँथे । पहिले चौथो शिविरभन्दा माथि आफैँ डोरी टाँगेर पुग्नुपर्ने एउटा ठूलो चुनौती हुने गथ्र्यो । आरोहीहरू पुराना डोरीका भरमा चढ्थे । तर, अहिले बर्सेनि नयाँ डोरी टाँगिन्छ । ‘सजिलै कीर्तिमान बनाउनका लागि चढ्ने आरोहीलाई सहज हुँदा पनि शेर्पाका दुःखकष्ट धेरैजसो उस्तै छन् ।’
पूरै याममा ४० पटकसम्म शेर्पाहरू ओहोरदोहोर गर्नुपर्ने कामिरिता सुनाउँछन् । यसले शेर्पालाई सधैँ जोखिममा पार्छ । हिमालमा पनि आराम खोज्ने आरोहीहरूले गर्दा शेर्पाको काममा धेरै धपेडी हुन थालेको छ ।
‘हामीले आधार शिविरमा सम्याउँछौँ । क्याम्प टू सम्म घरमा प्रयोग गर्ने जस्तै कुर्सी बोक्छौँ । उनीहरूका खाना र अक्सिजनका बोतल ओसार्छौँ । तर, शेर्पाले ज्यान फ्याँकेर दुःख गरेपछि विदेशीले सगरमाथा सहज छ भन्छन् ।’ विदेशीहरूले त्यही शेर्पाको योगदानलाई लुकाएर आफू मात्र साहसी भन्ने देखाउँछन् ।
विदेशी मात्र नभएर सरकारले समेत शेर्पालाई सित्तैमा पाएको जस्तो व्यवहार गरको मा उनको दुःखेसो छ । ‘पर्वतारोहण उद्योग धानिरहेका शेर्पाहरू केही वर्षमा विस्तारै यो पेसाबाट हराउनेछन् त्यतिखेर सरकारले यसको मूल्य चुकाउनुपर्नेछ ।’ हिमालमा शेर्पा नहुँदा अन्य आरोहीको आत्मबलमै समस्या हुने उनी ठान्छन् । त्यसका छिटफुट प्रभाव त अहिले नै पनि देखिन थालेका छन् । उनलाई आफ्नो परिचय र आरोहणको लागि पनि आन्दोलन गर्नुपर्दा सबैभन्दा बढी नमज्जा लाग्छ ।
यो वर्ष कामिरिताले राष्ट्रपति विद्या भण्डारीबाट सुप्रबल जनसेवाश्री विभूषण पाए । गत वर्ष उनले सर्वाधिक २२ पटक सगरमाथा आरोहण गरेको गिनिज वल्ड रेकर्डसको प्रमाणपत्र पाएका थिए । दुई वर्षअघिसम्म नेपाल सरकारले सगरमाथा चढ्ने शेर्पालाई ‘हाई अल्टिट्युड पोर्टर’ भन्ने गथ्र्यो । पछि ‘क्लाइम्बिङ गाइड हो हामी’ भनेर आन्दोलन गरेपछि अहिले सरकारले त्यस्तो मान्यता दिएको छ ।’ उनले भने ।
‘शेर्पालाई त पर्वतारोहणको सेनाजस्तो सोच्नुपर्छ । सरकारले अबको दश वर्षपछि शेर्पाको महत्व थाहा हुन्छ तर त्यति वेला ढिलो भइसक्छ । त्यस वेलासम्म थुप्रै शेर्पाहरू यस क्षेत्र छाडिसकेका हुन्छन् । अहिले नै हेर्नस्, पहिले हामी जागिरका लागि बिन्ती गर्दा पनि कम्पनीले दिँदैनथे । अहिले कम्पनीहरू आफँै हत्ते गर्दै आउँछन् ।’
अहिले नै पनि विनाशेर्पा हिमाल चढ्ने अनुमति आरोहीहरूलाई दिइँदा अक्सिजन चोरी हुन्छ । सरकारी सम्पर्क अधिकृत आधारशिविरभन्दा माथि जान सक्दैनन् । त्यहाँभन्दा माथि नियमकानुन लागू गर्न शेर्पासँग समन्वयको विकल्प देखिँदैन ।
उनले त्यही पेसागत असुरक्षाका कारण आफ्ना एक छोरा र छोरीलाई आरोहणबाट पर राखेका छन् । सगरमाथाबारे एउटा चर्चित भनाइ छ, चुचुरोमा पुग्ने कुरा कहिल्यै आरोहीको हातमा हुँदैन, त्यो निर्णय सगरमाथाकै हुन्छ ।
कामिरिता सुनाउँछन् ‘जति तगडा भए पनि भगवानले साथ दिनुपर्छ । सन् २००६ मा डोरी समातेर हिँड्दा छेवैको मानिसमाथि ढुंगा खसेर ज्यान गुमाएको थियो । मसहित अगाडिका दुई जनालाई केही भएन पछाडि तीन जना ढुंगा लागेर ज्यान गुमाए । लास नै दुई वर्ष पछि भेटियो ।’ उनले हिमाल चढ्नुभन्दा एक महिना अघिदेखि गुम्बाहरूमा पूजा गर्ने गरेको समेत सुनाए ।
‘
प्रत्येक हिमालमा देवीको वास हुन्छ । वहाँलाई कसरी चित्त बुझाउने ? तपाईँको शरीरमा पाइला टेक्नुप¥यो भनेर माफी माग्दै पूजा गर्छु । चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीनपटक ढोगेर माफी माग्छु ।’ सगरमाथाको आनन्द भनेको आफ्नो आरोहणभन्दा पनि विदेशीको सफलतामा लाग्दो रहेछ उनलाई ।
आरोहणमा उनको कुनै रोल मोडल छैनन् । बरु उनका आफ्नै नियम र मान्यता छन् । भन्छन, तालिम एउटा पक्ष भए पनि मिलनसार र सहयोगी स्वभाव सगरमाथामा महत्वपूर्ण हुन्छ । सकारात्मक सोच्नुपर्छ । ‘रेकर्ड बनाउँछु भन्ने सोच नै थिएन । रेकर्ड छ भन्ने पनि थाहा थिएन । भएको भए त मैले अझै धेरैपटक चढिसक्थेँ ।’ (बिबिसीबाट)
प्रतिक्रिया