भवन शिलान्यास हुँदा विद्यार्थी हर्षित

कालिकोट । पढ्ने इच्छा अधुरै छ, गुणस्तरीय शिक्षा लिन नपाउँदा धेरै घाटा भयो, अव भवन बनेर राम्रो पढाइ सञ्चालन हुने कुरा सुनेपछि धेरै हर्षित भएको कुरा सुनील विश्वकर्माले सुनाए ।

१२ वर्षीय सुनील कक्षा ५ मा पढ्छन्, गरिब घरपरिवारको घरमा हुर्किएर राम्रो खाले बोर्डिङमा पढ्न पाइन, राम्रो शिक्षा दीक्षा दिने विद्यालयको खोजीमा थिए उनले सुनाए । सुनील विश्कर्माजस्तै ३ सय ५ जना विद्यार्थी जनउत्थान आधारभूत विद्यालयमा अध्ययन गर्छन् । विद्यालय कक्षा ५ सम्म मात्र सञ्चालन छ, दुई कोठे भवन बनेपछि ८ कक्षा सञ्चालन हुने कुरा सुन्न आएपछि विद्यार्थीहरू खुसीले गद्गद् भएका छन् ।

जिल्लाको शुभकालिका गाउँपालिका–३ मा सञ्चालन भइरहेको श्री जनउत्थान आधारभूत विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि बुधबार दुई कोठे पक्की भवनको शिलान्यास गरिएको छ । ०५३ सालदेखि इसिडी हुँदै कक्षा ५ सम्म विद्यार्थीलाई अध्यापन गराउँदै आइरको उक्त विद्यालय हाल ५ कक्षा सम्मको पढाइ हुन्छ ।

विद्यार्थीलाई गाउँबाट ८ कक्षा पढ्न करिव आधा घण्टाको बाटो हिँडेर जनज्योति माध्यमिक विद्यालय जानुपर्ने वाध्यता हटाउनका लागि गाउमै ८ कक्षा सञ्चालन गर्ने उद्देश्यका साथ एक कार्यक्रमका शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागार्इंको प्रमुख आथित्यतमा भएको कार्यक्रममा भवनको शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेश स्थानीय विकास तथा भौतिक पूर्वधार मन्त्रालय अन्तर्गतको २० लाखमा निर्माण हुने भवनको शिलान्यास हुँदा विद्यार्थी, अभिभावक र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरू हर्षित देखिएका छन् ।

गाउँपालिका अध्यक्ष चौलगाईंले, शैक्षिक सत्रको सुरुआतमै शैक्षिक क्षेत्रको अभियान तेब्बर रूपमा अगाडि बढाउने प्रतिवद्धका साथै यो विद्यालयलाई नमुना विद्यालय बनाउन अगाडि बढ्ने बताएका छन् । यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन विश्वकर्माले उक्त भवन निर्माण गर्दा पारदर्शी रूपमा गर्ने र शिक्षक विद्यार्थीकै मनोकांक्षा बुझी विकास निर्माणको कार्य अगाडि बढाउने बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दबहादुर शाहीले भवन निर्माणमा कुनै पनि किसिमको अनियमितता नगरी दिगो र प्रभावकारी सहितको नमुना भवन निर्माण गर्ने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया