काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया अनुमोदित भएका छन् । आज बसेको संसदीय सुनुवाई समितिको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
उजुरीसहित व्यापक छलफल गरी समितिका सबै सदस्यको सहमतिमा प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको बुधबार बिहान बसेको बैठकमा थपलियाविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल भएको थियो । त्यस पश्चताप दुई बजे प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सुनुवाई गरिएको हो ।
उक्त सुनुवाईको क्रममा थपलियाले अघि सार्नु भएको निर्वाचनसम्बन्धि योजनामा सहमती भएपछि समितिले उनको नाम प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन गर्यो । बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझालाई पनि अनुमोदन गरेको छ ।
समितिले सबै संवैधानिक निकायको नियुक्ती प्रक्रिया संवैधानिक व्यवस्था अनुसार नै अघि बढाउन पनि संवैधानिक परिषदको ध्यानाकर्षण पनि गराएको छ । रिक्त हुनु १ महिना अघि नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने संवैधानिक व्यवस्थाको पालना गर्न संवैधानिक परिषदको ध्यानाकर्षण गराउने निर्णयसमेत समितिले गरेको सभापति कर्णले बताए ।
संवैधानिक निकायको पदाधिकारी नियुक्ती गर्दा उपयुक्त व्यक्तिको छनौट गर्ने लगायतका विषयमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरिएको छ । उपयुक्त व्यक्तिलाई संवैधानिक परिषदको पदाधिकारीका नियुक्त गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग समय लिएर छलफल गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि समितिको आफ्नो काममा पनि अझ परिपक्वता आउने समितिका सभापति कर्णले बताए । संसदीय सुनुवाई समितिद्धारा अनुमोदन भएको दिनेशकुमार थपलिया राष्ट्रपति विद्या भण्डारीबाट प्रमुख निर्वाचन आयुक्तमा नियुक्त हुनेछन् ।
प्रतिक्रिया