‘जुडशीतल’ मनाइँदै

गौशाला । प्रदेश–२ मा सोमबार ‘जुडशीतल’ पर्व हर्षोल्लासका साथ मनाइएको छ । सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नु उद्देश्य रहेको यस पर्वमा घरका सबैभन्दा पाको व्यक्तिले बिहानै सबेरै उठेर नुहाइधुवाइ गरी जल लिएर आफ्ना सबै बालबालिकाको तालुमा जलसिञ्चन गरी थपथपाई आशीर्वाद दिने गर्छन् । यसोगर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा आफ्नो मन दिन्छ भन्ने विश्वास रहिआएको छ ।

यस पर्वमा बिहानै चार बजे उठेर स्नान गरी विभिन्न किसिमका तरुवा (पकौरा) खाना, करीबरी पकाई सूर्योदयपश्चात् आफ्नो इष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सोमबार राती मिथिलाको कुनै घरको चुल्होमा पुनः आगो बालेर खाना पकाउन भने पाइँदैन । अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वास रहेकाले अघिल्लो रातकै खाना आज दिनभरि र रातीमा पनि खानेछन् । यस पर्वलाई ‘सतुआइन तथा वैशाखी’ पनि भन्ने गरिन्छ । यसमा पुर्खाका लागि भनेर नलले भरेको घैँटो, सतुवा, जौ, आँपको टिकुला तथा पंखा ब्राह्मणलाई दान गर्ने परम्परा पनि छ ।

साथै गृहिणीले इष्टदेवलाई पुरैनको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी आचार पनि चढाउने गर्छन । जुडशीतल पर्वमा रूखका जरामा पनि पानी चढाउने र इष्टदेवतालाई बासी, करीबरी, भात, पुरी र तरकारीजस्ता परिकार पनि चढाइने परम्परा रहेको छ । आजैका दिनदेखि तुलसी चौरा वा शिवलिंगको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ । सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गर्ने तथा सफा गरेर चुना, पोटास राखी तिनलाई स्वच्छ बनाउने काम पनि गर्ने गरिन्छ ।

इनार र पोखरीमा ससाना बालकदेखि वृद्धसम्म जम्मा भएर माटो दल्ने गर्छन् । बिहानभरि गाउँले एकापसमा हिलो छ्याप्ने काम गर्दछन् । केही वर्षयता देखि यो विकृति पनि देखिन थालेको छ । आरामको क्षणमा आमोदप्रमोदका लागि मनाइने यो पर्वले भ्रातृत्वको भावना तथा एकापसमा प्रेम गर्ने सन्देश दिने गरेको छ ।

जुडशीतलको जुड भनेको जुडाउनु अर्थात् मान्यजनबाट आशीर्वाद लिनु हो । यसले शीतलताको कामनालाई बोध गराउँछ । यो प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले यसमा प्रकृतिमैत्रीका सुन्दरतम सन्देश अन्तरनिहित छन् । यस अवसरमा घरका ज्येष्ठ सदस्यले सबैलाई चिसो पानी टाउकामा छप्छपाएर आशीष दिन्छन् । छेउछाउका रूखका जरामा पानी हालिन्छ, सडकमा पानी छर्किन्छ कुवा र पोखरीको सरसफाइ गरिन्छ । हिलोले एकअर्कामा छ्यापाछ्याप गरी रमाइलो गरिन्छ, पानी र गाग्रो दान गरिन्छ, सातु बदामको पीठो खाइन्छ ।

जुडशीतल पर्वमा पानीको मुहान सरसफाइसँग जोडिएको मौलिक परम्परा हो । प्रचण्ड गर्मीमा शान्त पार्ने पानीसँग जोडिएको लोकोत्सव पनि हो, जुडशीतल ।

प्रतिक्रिया