केन्याको बारबाट १२ नेपाली युवती पक्राउ

काठमाडौं । मानव दलालको चंगुलमा परेर अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँको बारमा डान्सरका रूपमा कार्य गर्दै आएका ती युवतीलाई शनिबार बिहान स्थानीय समयअनुसार चार बजे छापा मारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोम्बासा काउन्टीको न्यालीस्थित रंगिला बार (मधुशाला चमेनागृह) मा गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय महिला बेचबिखन संगठित समूह सक्रिय रहेको आशंकामा प्रहरीले छापा मारेको थियो । चमेना गृहका सञ्चालक असिफ अमिराली अलिभाइ जेजथालाई पक्राउ गरेको जानकारी दिँदै प्रहरीले उनीसँग क्यानडाको राहदानी रहेको बताएको छ । तर, प्रहरीले उनको नाम नक्कली रहेको आशंका गरेको छ ।

बार डान्सरको रूपमा उनीहरूलाई मानव तस्करहरूले त्यहाँ पु¥याएको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरूलाई बारबाट प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सञ्चार माध्यमले जानकारी गराएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नेपाली युवतीहरू लुंगा–लुंगा बोर्डर हुँदै केन्या पसेका थिए । प्रहरीले उनीहरू नेपालबाट केन्या कसरी आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ । बार सञ्चालकसहित उनीहरूलाई सोमबार मोम्बास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया