मन्टेस्वरी स्कुलको अनुगमन

बाँके । मन्टेस्वरीहरूको छाता संगठन मन्टेस्वरी एसोसिएसन बाँकेले जिल्लाभरी छरिएर रहेका मन्टेस्वरीहरूको अनुगमन गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनलाग्दा पहिलो पटक एसोसिएसनले जिल्लाभरिका मन्टेस्वरीहरूको अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकामा सञ्चालित ८ ओटा मन्टेस्वरीहरूको अनुगमन गरेको छ । मन्टेस्वरी शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गरिएको अनुगमनका क्रममा मन्टेस्वरी विधि अनुसार सञ्चालन भए नभएको अनुगमन गरिएको एसोसिएसनका अध्यक्ष लुना बुढाथोकीेले बताइन ।

पहिलो चरणमा एसोसिएसनमा आबद्ध मन्टेस्वरीहरूको मात्र अनुगमन गरी उनीहरूको अवस्थाबारे जानकारी लिइएको अध्यक्ष बुढाथोकीले बताइन् । अनुगमनको क्रममा मन्टेस्वरी विधिअनुसार सबै प्रक्रिया पूरा नगरेका मन्टेस्वरीहरूलाई एक महिनाभित्र ती विधि अनुसारका सबै प्रक्रियाहरू पूरा गर्न सचेत गराइएको उनको भनाई रहेको थियोे ।  मन्टेस्वरी एसोसिएसनका अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको उक्त अनुगमनमा कोषाध्यक्ष खिमा थापा, सहकोषाध्यक्ष सीता पौडेल र सदस्य सन्ध्या मल्लको सहभागिता रहेको थियो ।

गत पुस महिना मात्र भव्यताका साथ कोहलपुरमा प्रथम वार्षिकोत्सव आयोजना गरेको बाँके जिल्लामा रहेका मन्टेस्वरीहरूको संगठन मन्टेस्वरी एसोसियसनका अध्यक्षसमेत रहेकी प्रिन्सीपल लुना बुढाथोकीले इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेस्वरीद्वारा प्रतिपादित व्यवहारिक तथा वस्तुगत शिक्षा विधिको अवधारणाअनुरूप सुरु परिएको मन्टेस्वरी विश्वव्यापी रूपमा लोकप्रिय हुँदै गएको र बाँके जिल्लामा २०६६ सालदेखि मात्र सुरु भएको जानकारी दिइन् ।

उनले विद्यालय र अभिभावकहरूले विद्यार्थीहरूलाई किताबी सैद्धान्तिक शिक्षा र ज्ञान मात्र होइन उनीहरूको मानसिक र वौद्धिक विकासका लागि वस्तुगत र व्यवहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण दिन आवश्यक भएको बताइन् ।

०६६ सालमा बाँके जिल्लामा मन्टेस्वरी शिक्षाको महत्व र आवश्यकता महसुस गरी सातजना विद्यार्थीबाट सुरु गरिएको बाँके जिल्लामै पहिलो मन्टेस्वरी कोहलपुरको नोवेल प्रिमन्टेस्वरी स्कुल हो । उक्त मन्टेस्वरीले ससाना बालबालिकाहरूलाई उत्प्रेरणा जगाउन र उनीहरूमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया