बुढेसकालमा पर्यटकको सेवा गर्दै दम्पती

नारायण ढुङ्गना, सोलुखुम्बु । अनुहार चाउरिए पनि सोलुखुम्बुको लिखुपिके गाउँपालिका– १ की ७५ वर्षीया डोल्मा शेर्पा र श्रीमान् ६५ वर्षीय झङ्बु फूर्तिका साथ सखारै उठेर राति अबेरसम्म पर्यटकको सेवामा जुटेका छन् । आगन्तुकलाई खाना, नास्ता, चिया बनाएर खुवाउनु अनि गीत सङ्गितमा मौलिक बाजा बजाएर मनोरञ्जन दिनु उनिहरुको दैनिकी बनेको छ ।

उनिहरु समुद्र सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र पिके वेसक्याम्पमा विगत १० वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउएका छन् । पहिले बटुवाको पीडा देखेर पिके पिक होटल एण्ड लज सुरु गरेको डोल्माले बताइन् । व्यावसायिक हुँदै आएको सो पेशा र ज्यानले सक्दमसम्म नछाड्ने उनिहरुको अठोट छ ।

झङ्वुले भने, ‘ठूलो समूहले आफैँ कुक लिएर आउछन्, नभए हामी बुढाबुढीले नै बनाएर खुवाउँछौँ, अहिलेसम्म सकेका छौँ ।’ छोरा नभएकाले होटल व्यवसायलाई नसक्ने भएपछि छोरीपट्टीका नातीलाई जिम्मा दिने सोंचेको उनिहरुको भनाइ छ ।

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकासँगै जोडिएको र ओखल्ढुङ्गा आवतजावत गर्ने पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ पिके वेसक्याम्स । यहाँबाट आठ हजारमाथिका छ हिमाल देख्न सकिने भएकाले दृष्यावलोकनका लागि समूहगत रुपमा पर्यटक पुग्छन् ।

‘सुरुमा होटल खोल्दा केही थिएन, फाट्टफट्ट बटुवा हुन्थे, अहिले बाहिरभित्रका पर्यटक पनि पदयात्रामा आउने गरेका छन्, त्यही हो वर्षमा रु एक, दुई लाख कमाइ हुन्छ,’ झङ्बुले भने । यहाँ पर्यटक आउन थालेको तीन वर्षभएको उनले बताए । ‘हिमाल देखेपछि त्यसै खुशी, मौसम बिग्रियो भने मन दुखाउँदै जान्छन्,’ उनले पर्यटकको अनुभव सुनाए ।

यहाँ सादाखाना विदेशीलाई रु ४०० र नेपालीलाई रु २०० छ । सुतेको एक विदेशीलार्ई रु २०० र नेपालीलाई रु १०० छ । कोठा नै दिँदा एक्लै आएका पर्यटकलाई घाटा लाग्ने भएकाले व्यक्ति हिसाब गरेर पैसा लिने गरिएको छ ।

होटलको पाँच कोठामा दैनिक १८ जना सुत्न सक्छन् । तिब्बतीयन रोटी, पान केक, चिया, लोकल मदिरा, छ्याङ, दालभात र ढिँडो यहाँको विशेषता हो । मुख्यगरी यहाँ बेलाबेलामा हिउँ पर्ने, जाडो बढी हुने भएकाले पिठो भूटेर बनाइएको चिया र नून चिया हरेक पर्यटकले मन पराउँछन् । आलु, मैदा, तरकारी, मासु मिसाएर बनाइने शेर्पाको मौलिक खाना स्याक्पासमेत पर्यटकको रोजाइमा पर्छ ।

झोङ्बुले सुरुमा चौरीपालन गरेका थिए । तर पानी, हिउँ पर्दा बाहिर हिँड्नुपर्ने दुःख सम्झेर होटल व्यवसाय थालेको उनले बताए । लाली गुराँसका लागि प्रख्यात सो क्षेत्र, पिके डाँडासहित शेर्पा र बुद्धिष्ट संस्कृतिमा पर्यटक रमाउन सक्छन् । ओखलढुङ्गाका ट्रेकिङ गाइड तेण्डु शेर्पा छोटो पदयात्राको अवधिमा राम्रो दृष्य देख्न सकिने अर्गानिक पर्यटकक्षेत्र भएको बताउँछने उनि ।

अर्का गाइड छेपाल शेर्पाले पिके देम्बा ट्रेल बनेकाले पर्यटकसहज रुपमा पुग्नसक्ने भएको जानकारी दिए । तामाङ सेलो, शेर्वु नाच, सेप्रो नाच तथा जनजातीको संस्कृति हेर्नका लागि यहाँ पर्यटक पुग्छन् । झङबुले पाहुनालाई शेर्पाको मौलिक बाजा टुङ्ना बजाएर हरेक साँझ सङिगतमय पार्छन् ।

चाउरिएको अनुहारमा १६ वर्षे जोश निकालेर टुङ्नाको धुनमा गीत सुन्न पाउँदा थकान मेटिने आन्तरिक पर्यटक रिक्की कर्माचार्यले बताए । ललितपुरबाट गएका सुमिध शाक्यले यहाँबाट देखिने सुन्दरतासँगै बुढाबुढीको स्वागतसत्कार तथा टुङ्नाको तालमा झुम्नुको आनन्दनै बेग्ले रहेको अनुभव सुनाए ।

गतवर्ष मात्रै सरकारको आकर्षक पर्यटकीय गन्तव्य सूचीमा परेकाले पिके डाँडाको पर्यटन प्रवद्र्धन अभियान थालिएको ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङिवाङ्ङिमा शेर्पाले बताए । रासस

प्रतिक्रिया