सुदूरपश्चिमका पहाडी जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरेको छ । सुदूरपश्चिमका नौ जिल्ला मध्ये बाजुरा, अछाम, बझाङ र दार्चुला गरी चार जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरिएको हो ।  जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम शाखाका अनुसार प्रदेशका नौ वटै जिल्लाका सबै सामुदायिक विद्यालयमा वैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक पुग्ने दाबी गरिएको छ । जसअन्तर्गत अहिलेसम्म यहाँका चार जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगिसकेको जनाइएको छ ।

शैक्षिक सत्र ०७६ का लागि सुदूरपश्चिम प्रदेशमा कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक भित्रिएको सुदूरपश्चिम शाखाप्रमुख भूपेन्द्र बोहोराले जानकारी दिए । नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिना अगाडि नै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लागि आवश्यक पर्ने २२ लाख थान पुस्तक मध्ये ८५ प्रतिशत पाठ्यपुस्तक भित्रिएको जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम शाखाले जनाएको छ । शाखाप्रमुख बोहोराका अनुसार अहिलेसम्म ९० प्रतिशत पाठ्यपुस्तक आइसकेका छन् ।

केही दिनमै सबै पाठ्यपुस्तक पुग्ने र बाँकी रहेका अन्य जिल्लामा पनि वितरण गरिने उनले बताए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम कार्यालयले गत वर्ष सुदूरपश्चिमका नौ वटै जिल्लामा बिक्री भएका पुस्तकलाई आधार मानेर शैक्षिक सत्र ०७६ का लागि पुस्तकको माग गरेको सामग्री केन्द्रका सुदूरपश्चिम प्रमुख बोहराले जानकारी दिए ।

यसअघि धनगढीमा गोदामको अभाव हुँदा पनि पुस्तक व्यवस्थापनमा समस्या हुँदै आएको बताउँदै उनले भने, ‘यस वर्ष हामीले थप गोदाम भाडामा लिएर सामुदायिक विद्यालयका लागि उपलब्ध पाठ्यपुस्तक थन्काएका छौँ, नयाँ शैक्षिक सत्र सुरु हुन अगावै सबै विद्यालयमा पुस्तक पु¥याउने गरी काम भइरहेको छ ।’

विद्यार्थीको संख्या बढेर थप पाठ्यपुस्तक आवश्यक परेमा पनि व्यवस्थापन गर्न कुनै समस्या नहुने उनले उनको भनाइ छ । गत वर्ष सुदूरपश्चिम प्रदेशका लागि २३ लाख ७५ हजार थान पाठ्पुस्तक माग गरिएकोमा २२ लाख मात्रै वितरण भएका थिए । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक प्रकाशित तथा वितरण गर्ने गर्दछ ।

नयाँ शैक्षिक सत्रका लागि बाजुरामा चार हजार थान, बझाङमा ४ हजार ५ सय थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ । यसै गरी दार्चुलामा ४ हजार ५ सय, अछाममा ५ हजार ५ सय, बैतडीमा ५ हजार ५ सय थान पाठ्यपुस्तक आवश्यक पर्ने क्षेत्रीय प्रमुख वोहोराले बताए ।

डोटीका लागि ४ हजार थान, डडेलधुरामा ४ हजार, कञ्चनपुृरमा ९ हजार र कैलालीमा १८ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको क्षेत्रीय प्रमुख बोहराले बताए । सम्बन्धित जिल्लाका जिल्ला विकास शिक्षा समन्वय समितिमार्फत विद्यालयमा पुस्तक वितरण हुनेछन् ।

प्रतिक्रिया