सामुदायिक विद्यालयमा भिड बढ्दै

विकाश पराजुली, बुटवल । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा रूपन्देही जिल्लाका केही सामुदायिक विद्यालयमा भिड देखिएको छ । आफ्ना बच्चालाई ती विद्यालयमा भर्ना गराउन अभिभावक लागिपरेका छन् । कालिका मानवज्ञान, नविन औद्योगिक कदरबहादुर रिता, कान्ति माध्यमिक विद्यालय र तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालयमा थामी नसक्नु भिड देख्न पाइन्छ । यी सामुदायिक विद्यालयको उच्च नतिजाका कारण अभिभावक आकर्षित भएका हुन् ।

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी कोटा निर्धारणका लागि यी विद्यालय लागिरहेका छन् । यी विद्यालयमा भर्ना हुन इन्ट्रास परीक्षामा पास हुनुपर्छ । यसले पनि यी विद्यालयको नतिजा उत्कृष्ट हुने गर्छ । त्यसमा पनि शिक्षकहरूको मिहिनेत, कुशल व्यवस्थापका कारण बर्सेनि उत्कृष्ट नतिजा आउने गर्दछ ।

बुटवलको कालिका र मानवज्ञान एकआपसमा मर्ज भएपछि कालिका मानवज्ञान माध्यमिक विद्यालय बनेको छ । यो विद्यालयमा अहिले ५ हजार ५ सय २९ विद्यार्थी छन् । ‘यस वर्ष बढीमा चार सय विद्यार्थी नयाँ ल्याउन सक्छौँ’ विद्यालयका प्राचार्य धनश्याम पाठकले भने, ‘हामीले त्यहिअनुसार योजना बनाएका छौँ ।’ उक्त विद्यालयमा गत वर्ष तीन हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा जम्मा १ हजार २ सय मात्र नयाँ विद्यार्थी भर्ना भएका थिए । विद्यालयको गत वर्षको एसइइमा १ सय ८ जना विद्यार्थीले ३ दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका थिए । यस वर्षको एसइइ परीक्षामा विद्यालयबाट ३ सय ७१ जना विद्यार्थी सहभागी छन् । विद्यालयले आउँदो वैशाख २ गतेदेखि भर्नाका लागि फर्म वितरण गर्ने ६ गते प्रवेश परीक्षा लिने र ८ गते नतिजा प्रकाशन गरी ३ दिन भर्नाको समय राखेर ११ गतेदेखि पढाइ सुरू गर्ने योजनामा छ ।

त्यसैगरी अधिकांश सुुकुम्बासी र विपन्न परिवारका बालबालिका पढ्ने नविन औद्योगिक कदरबहादुर रीता माविले यस वर्ष नयाँ विद्यार्थी भर्ना ४ सय ५० गर्ने योजना बनाएको छ । सामुदायिक विद्यालयमा अब्बल प्रमाणित गरेको यो विद्यालयमा इन्जिनियरिङ विषयसमेत पढाइ हुन्छ । अतिरिक्त क्रियाकलापमा पनि अब्बल यो विद्यालयमा अहिले १ हजार ८ सय ३१ विद्यार्थीले अध्ययन गर्दछन् । ‘विद्यार्थीहरू धेरै आउनुहुन्छ, तर हामीसँग पूर्वाधार प्रर्याप्त छैन’, प्राचार्य प्रेमबहादुर बस्नेतले भने, ‘चार सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्न सक्ने सामथ्र्य हामीसँग छैन ।’ अंग्रेजी माध्यमबाट पढाइ हुने यस विद्यालयमा व्यावहारिक पढाइमा बढी जोड दिइने भएकाले पनि विद्यार्थीहरूको आकर्षण बढेको विद्यालयका प्राचार्य बस्नेतले बताए । विद्यालयले नयाँ भर्नाका लागि २ गतेबाट फाराम वितरण गर्ने, ८ गते प्रवेश परीक्षा, १० गते इन्जिनियरिङ प्रवेश परिक्षा र कक्षा सञ्चालन १३ गतेबाट हुने विद्यालयले जनाएको छ । विद्यालयले अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०१७÷०२० समेत प्राप्त गरिसकेको छ ।

यसैगरी बुटवलसँग जोडिएको तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय सामुदायिक विद्यालय मध्येको एक अब्बल विद्यालय हो । यस वर्ष विद्यालयले करिब सात सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य बनाएको छ । ‘गत वर्ष १ हजार विद्यार्थी भर्ना हुन आएकोमा पाँच सय भर्ना भएका थिए । अहिले हामीले नयाँ भर्ना सात सय ल्याउने योजनामा छाँै ।’ शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले भने । विद्यालयमा अहिले २ हजार १८ विद्यार्थी अध्ययनरत छन् । ‘हामीले चार वटा सेक्सन थप्छौँ, कक्षा ७, ८ एउटा सेक्सन र कक्षा ६, ९ मा दुई, वटा सेक्सन थप गर्ने छौँ,’ प्राचार्य लामिछानेले भने ।

नयाँ भर्नाका लागि विद्यालयले चैत २८ देखि फाराम वितरण गर्ने, ६ गते प्रवेश परीक्षा, ८ गतेबाट भर्ना र ९ गतेदेखि पढाइ सुरु हुने उनले बताए । त्यसैगरी बुटवलका कान्ति माविले यस वर्ष पाँच सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ । ‘प्रवेश परीक्षाका लागि नौ सयभन्दा बढी विद्यार्थीहरू आउने अपेक्षा गरेका छौँ’, विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले भने, ‘गत वर्ष तीन सय विद्यार्थी नयाँ भर्ना गरेका थियौँ भने अहिले बढीमा पाँच सय विद्यार्थीलाई भर्ना गर्ने योजना बनाएका छाँै ।’

प्रतिक्रिया