विद्यालयलाई ६ रोपनी जग्गा जग्गा दान

कृष्ण ओझा, पाँचथर । जिल्लाको उत्तरी हिलिहाङ गाँउपालिका ५ का एक दम्पत्तिले स्थानीय विद्यालयलाई ६ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । हिलिहाङ ५, गौंश्वाराको भाग्योदय आधारभूत विद्यालयलाई स्थानीय विष्णुभक्त श्रेष्ठ र उनकी पत्नी सावित्रा श्रेष्ठले करीब ६ लाख रुपैँया मूल्यको जग्गा दान दिएका छन ।

विद्यालयका लागि खेल मैदान अत्यावाश्यक रहेको पाएपछि आफूहरुले खेती लगाउँदै आएको जग्गा विद्यालयलाई दान दिएको श्रेष्ठले वताए । विद्यालयका प्रधानाध्यापक विरेन सुहाङले श्रेष्ठ दम्पत्तिबाट सो जग्गा गत फागुनमै विद्यालयको नाममा रजिष्ट्रेसन पास भइसकेको जानकारी दिए ।

विद्यालयलाई जग्गा प्रदान गरेका श्रेष्ठ दम्पत्तिलाई शुक्रवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । विद्यालयद्वारा आयोजित सम्मान तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रममा श्रेष्ठ दम्पत्तिलाई दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरिएको हो ।

हिलिहाङ गाँउपालिकाकी उपाध्यक्ष सुमित्रा सेढाई, वडा अध्यक्ष लक्ष्मीप्रसाद सुहाङ लगायतले श्रेष्ठ दम्पत्तिलाई सम्मान गरे । सम्मान गर्दै उनीहरुले उक्त जग्गामा खेल मैदान निर्माणका लागि गाँउपालिकाबाट बजेट छुट्टयाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा हिलिहाङ गाँउ कार्यपालिकाकी सदस्य विष्णुकला उभरकोटी, वडा सदस्य महेन्द्र सुहाङ सहित त्यस क्षेत्रका अगुवा, विद्यालयका अभिभावकहरु लगायतले समेत आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक सुहाङले जग्गाको सदुपयोगका लागि आगामी आर्थिक वर्षमा पालिकालाई बजेटको ब्यवस्था गरिदिन आग्रह गरे । उनले विद्यालयको जीर्ण भवनको पुनर्निर्माण तथा कोरियामा रहेका युवाहरुद्वारा प्रदान गरिएका कम्प्युटरको सदुपयोगका लागि बजेटको अभाव रहेको वताए ।

२०५४ सालमा स्थापना भएको उक्त विद्यालयमा बालबालिकाहरु कक्षा ५ सम्म अध्यापन गर्छन । विद्यालयमा ६८ जना विद्यार्थी रहेको प्रधानाध्यापक सुहाङले वताए ।

प्रतिक्रिया