स्कुल जाँदा किताब–कपी लानु नपर्ने

काभ्रे । बनेपा नगरपालिका–११ सिनागालमा अवस्थित विद्यासागर स्कुलले आगामी शैक्षिक सत्रबाट (ब्यागलेस) बनाउने घोषणा गरेको छ । यो घोषणासँगे अब विद्यार्थीले कुनै किसिमको पनि झोला बोक्नु नपर्ने भएको छ ।

समयअनुसार नयाँनयाँ प्रविधि भित्राउँदै आएको स्कुलले यस वर्षदेखि ब्याग लेस गर्ने निर्णय गरेको बताइएको छ । विद्यार्थीहरूको तौलभन्दा बढीकोे भारी बोकाउँदै आएको आरोप लागेका निजी विद्यालयलाई विद्यासागर स्कुल अपवाद रूपमा देखिएकोे छ ।

०४९ सालमा स्थापना भएको विद्यालयको २५औँ वर्ष पूरा भएको उपलक्ष्यमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताइएको हो । कक्षा १ देखि कक्षा ७ सम्म ब्याग लेस गर्न लागेको विद्यासागर स्कुलका संस्थापक प्रिन्सिपल हिरा शर्मा नेपालले बताएका छन् । विद्यालय समयलाई बढाएर विद्यालयमै विद्यार्थीहरूलाई शिक्षकको प्रत्यक्ष निगरानीमा गृहकार्य गराइने शर्माको भनाइ छ ।

‘आगामी शैक्षिक सत्रदेखि हामीले कक्षा १ देखि कक्षा ७ सम्म ब्यागलेसको अवधारणा कार्यन्वयनतर्फ जाँदै छाँैँ, ब्यागलेस भन्नाले विद्यार्थीलाई आवश्यक सबै गतिविधिहरू स्कुलभित्रै शिक्षकको प्रत्यक्ष निगरानीमा गराई किताब कापी स्कुलमै छाडी घर जानुआउनु हो ।’ उनले भने, ‘साँझ घर जाँदा कुनै कथाको किताब वा सिरयोजना कार्यको पाना दिनेछाँैँ ।’ विद्यालय समयलाई बढाएर बिहान ७ बजेर ४५ मिनेटमा स्कुल सुरु हुने र बेलुकी ५ बजेर १५ मा अन्त्य हुने गरी योजना बनाएको पनि शर्माले बताएका छन् ।

२५ वर्ष अगाडि स्थापना भएको विद्यालय विद्यासागर स्कुलले शिक्षामा देखिने नयाँ प्रविधि भित्राउने र प्रयोग गर्ने जिल्लाकै एक मात्र अग्रणी विद्यालय रहेको शर्माले दाबी गरेका छन् । विद्यालयले विगतदेखि नै स्कुल म्यानेजमेन्ट सफ्टवयर, स्मार्ट इन्ट्रयाक्टिभ बोर्ड, स्कुलको सफ्टवयर एप, आफ्नै कस्टमाइज स्कुल एप विद्यासागर बनेपा र स्कुलको आफ्नै वेबसाइट प्रयोग गर्दै आएका छन् ।

अभिभावक र बालबालिकाबीच स्कुलको गृहकार्य र अन्य क्रियाकलापले गर्दा द्वन्द्व पैदा गरेको भन्दै यो परियोजना अगाडि बढाएको विद्यालयले जानकारी दिएका छन् । स्कुलको यो निर्णयले विद्यार्थी र अभिभावक वर्गमा सकारात्मक र दीर्घकालीन सम्बन्ध बढ्ने र विद्यार्थीहरूको शैक्षिक गुणस्तरसमेत वृद्धि हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया