सामाजिक र नैतिक शिक्षा अनिवार्य गर्दै देवचुली नगरपालिका

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका सबै बिद्यालयहरुले आगामी शैक्षिक सत्रदेखि सामाजिक शिक्षा र नैतिक शिक्षा नेपाली भाषामा अनिवार्य अध्यापन गराउनुपर्ने भएको छ । देवचुली नगरपालिकाको सोमबार सम्पन्न ३१ औं कार्यपालिका बैठकले नगरभित्रका सबै बिद्यालयहरुले सामाजिक शिक्षा र नैतिक शिक्षा नेपाली भाषामा नै अनिवार्य अध्यापन गराउनुपर्ने निर्णय गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरि नगरपालिकाको कार्यपालिका बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले सामाजिक र नैतिक शिक्षाले बालबालिकालाई उच्च नैतिक चरित्रवान नागरिक निर्माण गरि सामाजिक मुल्यमान्यता, रीतिरिवाज, कला, धर्म र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न टेवा पुर्याउने उद्देश्यले सो निर्णय गरिएको बताए ।

कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै भुसालले भने “विद्यालयमा सामाजिक र नैतिक शिक्षा अंग्रेजी भाषामा अध्यापन गराउदा बालबालिकाहरुको नैतिक चरित्र निर्माण र सामाजिकीकरणमा समस्या देखिन थाल्यो, त्यसैले भविष्यका कर्णधारहरुका रुपमा रहेका बालबालिकाहरुलाइ चरित्रवान वनाउनका लागि यस्तो निर्णय गरिएको हो ।” नगरपालिकाले गरेको निर्णय देशकै उदाहरणीय भएकाले शिक्षा र सामाजिक क्षेत्रमा यो कोसेढुंगा सावित हुने भुसालले बताए । “आगामी शैक्षिक सत्रबाट नै सामाजिक र नैतिक शिक्षा नेपाली भाषामा पठनपाठन गराउन समस्या देखिए सरोकारवालाहरु सँग आवश्यक सल्लाह र परामर्श गरी नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा सामाजिक र नैतिक शिक्षालाइ नेपाली भाषामै पठनपाठन अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा लैजान्छौं” भुसालले भने ।

यसैवीच नगरपालिकाले गरेको उक्त निर्णयलाई प्याब्सन देवचुलीले स्वागत गरेको छ । प्याब्सन देवचुलीका अध्यक्ष ढाकाराम भट्टराईले प्रतिक्रिया दिदै नगरपालिकाको निर्णय स्वागत योग्य रहेको तर कार्यान्वयन गर्दा भने सबै कक्षामा एकै चोटी नभई क्रमिक रुपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । भट्टराईले कार्यान्वयनमा तत्काल केहि चुनौती भए पनि वर्तमान अवस्थामा भने यो अत्यावश्यक रहेको बताए ।

यसैगरी नगरपालिकाका प्रवक्ता एवम् वडा नं १३ का अध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीले अहिलेका बालबालिकामा नैतिक शिक्षाको खडेरी परेकाले देवचुली नगरपालिकाले गरेको यो निर्णयलाई देशका अरु नगरपालिकाले पनि अनुशरण गरी देशैभर लागु गर्न जरुरी रहेको बताए । साथै देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले अहिलेको बालबालिकालाई अंग्रेजी भाषामा मात्रै अध्यापन गराउदा उनीहरुको सृजनशीलतामा कमी आउन गई नेपाली भाषामा निवेदन समेत लेख्न नसक्ने भएकाले विद्यालयमा सामाजिक र नैतिक शिक्षा नेपालीमा अध्यापन गराउन अत्यावश्यक देखेर नगरपालिकाले यस्तो कदम चालेको बताए।

नगरपालिकाको सोमबार सम्पन्न ३१ औं बैठकले उक्त निर्णयसँगै अन्य विभिन्न महत्वपूर्ण निर्णय समेत गरको थियो । नगरपालिकाको समय व्यवस्थापन, वडा कार्यालय निर्माण तथा व्यवस्थापन, सार्वजनिक, सरकारी प्रति जग्गाको लगत संकलन, शिक्षा सम्बन्धी दीर्घकालिन सोच सहितको शिक्षा निति निर्माण, देवचुलीका प्रत्येक विद्यालयमा बाल उद्यान निर्माण, प्रत्येक वडामा वर्षमा कम्तीमा एक चोटी सार्वजनिक सुनवाई कार्यक्रम गर्ने लगाएतका निर्णयहरु गरेको थियो । यसैगरी नगरपालिकाका महत्वपूर्ण योजनाको डीपीआर तयार गर्ने, बिपद् व्यवस्थापन तालिम सन्चालन गर्ने, साथै नगरपालिकाको काम कारवाहीका बिषयमा नगरबासीलाई सु–सुचित गर्न प्रत्येक ३/३ महिनामा नगरपालिकाबाट भए गरेका कामहरु नगरपालिकाको वेबसाइट राखिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया