‘शिक्षा सबै क्षेत्रको मेरुदण्ड’

लहान । शिक्षा नै सबै क्षेत्रको मेरुदण्ड भएको जिल्ला समन्वय समिति सिराहाका सभापति रामचन्द्र ठाकुरले बताएका छन् । उनले समाज परिवर्तनदेखि राज्यलाई सञ्चालन गर्नका लागि शिक्षा तल्लो तहदेखि माथिल्लो तहसम्मका लागि मेरुदण्डको रूपमा रहेकाले शिक्षाविना मानवको जीवन अँध्यारो हुने बताए ।

तराई–मधेसमा शिक्षामा देखिएको विकृति र विसंगतिलाई परिवर्तन गर्नका लागि अभिभावक नै मुख्य कारक रहेको बताए । गुणस्तरीय शिक्षाका लागि सरकारले निःशुल्क शिक्षादेखि पोसाक र खाजा कार्यक्रमको समेत व्यवस्था गर्दा पनि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नभएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘अभिभावक र विद्यालय व्यवस्थापन समिति उदासीन भएका कारण शिक्षामा समस्या चुलिँदै गएको छ ।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समूह सितापुरको संयुक्त आयोजनामा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तत्र्रिmया कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका सभापति ठाकुरले भने जिल्ला समन्वय समितिको हैसियतले स्थानीय सरकारबाट सेवा प्रवाहमा कुनै समस्या आए समन्वय समितिले तत्काल समस्या समाधानमा पहल गर्ने बताए । शिक्षा, स्वास्थ्य र खाद्य अधिकार आमनागरिकको आधारभूत आवश्यकता भएको हुँदा सेवाग्राहीलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिराहाका निमित्त समन्वय अधिकार मो.सुलतान राहीले भने देशमा अहिले तीन तहको सरकार रहेको हुँदा सेवा प्रवाहको अवस्था पहिलेको तुलनामा अहिले राम्रो र सहजरूपमा उपलब्ध हुनुपर्ने बताए । उनले भने, ‘स्थानीय तहमा अहिले धेरै कानुन नबनेकाले सेवा प्रवाहमा केही समय समस्या उत्पन्न भएको बताए ।

कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का वडाध्यक्ष राजेश्वर साहले यस वडामा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको बताए । उनले शिक्षक नियमित रूपमा नआउने, आए पनि कक्षामा पढाउन नजाने, राजनीतिक अखडाको रूपमा गफ गरेर समय बिताउने दिनहरू गएको बताए ।

कार्यक्रममा समाजसेवी रामदेव यादवले भने समाजमा समस्या धेरै छन् तर समस्यालाई प्राथमिकीकरणका आधारमा पहिचान गरी वडा कार्यालयले काम गर्नुपर्ने बताए । उनले सरकारले स्वास्थ्य चौकीको सेवा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म दिने भनेको छ । तर, यहाँका स्वास्थ्यचौकी तीन बजे नै बन्द हुने गरेको गुनासो गरे । त्यसका लागि अनुगमन गर्न पनि सभापतिलाई आग्रह गरेका थिए ।

समाजसेवी नथुनी साहले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सुत्केरीले खाने आइरन चक्की र सिटामोल अभाव हुनु दुःखद् रहेको बताइन् ।’ कार्यक्रममा महिला अधिकारकर्मी लीलादेवी परियारले पनि स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी समस्या दलित महिलालाई हुने गरेको बताइन् ।

कार्यक्रममा वडा सदस्यहरू, समाजसेवी, महिला अधिकारकर्मी, मानवअधिकार निगरानी समूहका सदस्यहरू, सञ्चारकर्मीलगायत ४० जनाको सहभागिता रहेको थियो । मानवअधिकार निगरानी समूह सितापुरका संयोजक नन्दकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्देश्यका बारेमा इन्सेक प्रदेश कार्यालयका जनकपुरका फोकल पर्सन जागेश्वर यादवले प्रकाश पारेका थिए भने जिल्ला प्रतिनिधि दुर्गा परियारले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया