जलवायु परिवर्तनको चिन्ताः तीन हिरोको हिम आरोहण यात्रा

चैतको महिना मौसमी दृष्टिीले ठिकै मानिन्छ । अझ हिमालमा चिसो नै हुन्छ । तर, पुष माघ जस्तो भने हुँदैन । यही मौका छोपेर शेर्पा बाबुछोरा पिके शेर्पा र सोनम शेर्पाले ‘जलवायु परिवर्तनको असर र त्यसको न्यूनीकरण’ अभियानका हिमाल आरोहणको लागि तयारीमा व्यस्त छन् । पर्यटकको भरिया बनेर विभिन्न हिमाल चहार्न भ्याएका ४० वर्षीय पिके अहिले पर्वतारोहिको रूपमा चिनिन्छन् ।

हिमाली जिल्ला ताप्लेजुङमा जन्मिएका पिके आफूलाई प्रकृतिप्रेमी ठान्छन् । उनि १४ वर्षीय छोरा सोनमलाई पनि आफू जस्तै प्रकृतिप्रेमी र यसको संरक्षकको रूपमा चिनाउन चाहन्छन् । पिके आफू बस्ने घर र आँगन मात्रै होइन, वरपरको प्रकृतिको सरसफाइमा पनि विगत दुई दशक देखि जुटिरहेका छन् । उनी प्रकृतिको सरंक्षण र सफाइ गर्दा आफूलाइ आनन्द लाग्ने बताउँछन् ।

पछिल्लो समय पिके बाबुछोरा पृथ्वीमा हिउँ बचाउ र सरसफाई अभियानमा दिनरात लागि परेका अटिरहेका छन् । जलवायु परिवर्तन न्यूनीकरण अभियानको मुख्य नारा ‘पृथ्वीमा जिवनरक्षाका लागि हिउँ जोगाउँ’ हो भने सरसफाइ अभियानको नारा ‘फोहोर जम्मा गराँै मोहोर बनाउ’ दोस्रो नारा हो । सगरमाथाभित्र अर्को सगरमाथा बन्छ भन्ने कुराले उनलाई निकै चिन्तित बनाएको बताउँछन् । हुन पनि पछिल्लो समय आरोहणको वृद्धिले त्यस कुराको संकेत गरिरहेको छ । उनी भन्छन्, ‘सगरमाथासँगै फोहोरको अर्को सगरमाथा बनिसक्यो ।’ त्यो सफइ गर्न रातारात सम्भव नभए पनि मान्छेकै कारण फोहर जम्मा भएर कुरूप र वातावरणीय दृष्टिले खराब बन्दै गएको पृथ्वीलाई हामी मानव मिलेर नै जोगाउन सक्छाँै भन्नेमा उनी विश्वस्त छन् ।

पिकेले आफ्नो छोरालाई पनि सांकेतिक रूपमा अभियानमा सामेल गराएका छन् । उनी अहिलेको अवस्था त्यति सुरक्षित देख्दैनन्, अहिलेको अवस्था जोखिम रहेकोले भोलिको पुस्ताले पनि त्यो जोखिम भोग्न नपरोस् भन्ने उनी ठान्छन् । त्यसैले उज्जवल भविष्यको लागि संघर्षरत छोरालाई पनि पिकेले आफूसँगै सामेल गराएका छन् ।

सोनम आफ्नो बुवाबाट प्रेरित भएको बताउँछन् । ‘वातावरणलाई लिएर जति बुवा चिन्तित हुनुहुन्छ त्यो भन्दा बढी म आत्तिन्छु, आफ्नो बुबातिर हुेर्दै सोनमले भने । उनी अहिले कक्षा ९ को परिक्षा दिइरहेका छन् । आफ्नो पढाइ जस्तैै प्रकृतिप्रति पनि सोनम उत्तिकै गम्भिर छन् । उनी भन्छन्, ‘बाबालाई जति सबै कुराको अनुभव मलाई पक्कै छैन, तर पनि प्रकृति मेरो एकदम चासोको विषय बन्न थालेको छ ।’ सायद उनको बाबुको छाप परेको पनि हुनसक्छ । भविष्यमा वातावरणसम्बन्धी विभिन्न विषयमा अभ्ययन र अभियान सञ्चालन गरी प्रकृतिप्रेमीहरूको प्रेरक बन्ने लक्ष्य रहेको सोनमले सुनाए ।

त्यस्तै, विभिन्न आठ वर्षको आरोहण रेकर्ड सात महिनामा तोड्ने महत्वाकांक्षी योजनामा छन् अर्का आरोहि निर्मल पुर्जा निम्स । पिके बावुछोरा जस्तै जलवायु परिवर्तनको असर न्यूनीकरणमा युवापुस्ताको प्रतिनिधित्व गरेका छन् उनले । ब्रिटिस सेनाको आकर्षक जागिर छाडेर ७ महिनामा ८ हजारभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने मिसनमा छन् उनी । युवा पुस्ताका लागि अति आर्कषक हुन्छ ब्रिटिस आर्मीको जागीर, तर, उनी त्यस्तो आकर्षक जागिर छोडेर विश्व कीर्तिमानी राख्न र पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उदेश्यसहित म्याग्दीका निर्मलले यही मार्च २० देखि मिसन सुरु गरिसकेका छन् ।

‘सामाजिक सुरक्षा र भत्ता जोडेर मासिक सात लाख तलब हुन्थ्यो । अबको केहि वर्षभित्रमै करिब सात करोड पेन्सन पाउनेवाला थिए ।’ निर्मलले आरोहण यात्रा सुरु गर्नुअघि भने, ‘हिमाल आरोहण मेरो सपना हो । कीर्तिमानीसँगै हिमालको अवस्था प्रत्यक्ष रूपमा बुझ्नु र पर्यटन प्रवद्र्धनका लागि सन्देश फैलाउनु ‘प्रोजेक्ट पोसिवल’को मुख्य उदेश्य हो ।’ उनले आफ्नो उदेश्य सुनाए ।

मार्च २० बाट सुरु भएको उनको यो महत्वाकांक्षी योजना सफल बनेमा विगतमा हिमाल आरोहणमै बनाएका अन्य विश्व कीर्तिमानी तोडिने उनको दाबी छ । यसअघि निर्मलले ३ पटक सगरमाथा आरोहण गरिसकेका छन् भने ८ हजार मिटर भन्दा अग्ला ४ वटा हिमाल पनि चढिसकेका छन् । सन् २०१२ देखि आरोहण यात्रा सुरु गरेका निर्मलले ७ वर्ष ११ महिनाको अवधिमा यी तिनवटा विश्व कीर्तिमान ग्रहण गरेका हुन् । आफ्नो मिसन सफल पार्ने दौडमा लागेका पुर्जाले आफ्नो शारिरीक तथा मानसिक पाटोलाई विशेष ध्यान दिने गरेको सुनाए । जब मानिस स्वस्थ रहन्छ तब मात्रै उसमा चाहनासँगै साहस उत्पन्न हुने उनको विश्वास छ ।

तीनै जनाको पृष्ठभुमि समय र तालिका फरक छ । उद्यपि तीनै जनाको यात्राको उदेश्य भने उस्तै–उस्तै छ । पिके बाबुछोराले अस्ट्रेलिया, युरोप, अमेरिका, एसिया तथा अफ्रिका महादेशका विभिन्न आठवटा हिमालको अप्रिल महिनाबाट आरोहण सुरु गर्दैछन् । यता आरोहण सुरु गरिसकेका निर्मलले भने दक्षिण एसियाका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नेछन् । तिनै जनाको अनन्त यात्रा हिमचुचुरा चुम्नु र त्यहाको वास्तविकता पहिल्याई हिउँ पग्लिन नदिन सचेतना फैलाउनु रहेको उनीहरूले सुनाए । साथै नेपाल र नेपालीलाई संसारभर चिनाउन र शिर ठाडो पार्न कीर्तिमानी कायम गर्नु पनि उनीहरूको सामूहिक लक्ष्य छ ।

सगरमाथा आरोहणमा आउने पर्यटकको भरियाका रूपमा त्यस क्षेत्रमा प्रवेश गरेका पिके अहिले सगरमाथा आरोही बनेका छन् । भरिका रूपमा उनले बटुलेको अनुभवले नै उनलाई यस ठाउँसम्म आउन सहयोग पु¥याएका उनी ठान्दछन् । भरियाका रूपमा विभिन्न हिमालमा पुग्दा देखेको फोहोरले उनलाई उनी वेला नै चिन्ता लाग्ने गरेको उनले सुनाए । सारा विश्वले चिनेको र त्यहाँसम्म पुग्न मान्छे मरिहत्ते गर्छन्, तर यति महत्ववूर्ण ठाउँमा भएको फोहोर कस्ले हटाउला भन्ने कुराले उनको मनमा तरंग ल्याउने गथ्र्यो । त्यसैले सन् २०१० मा पहिलोपटक हिमाल सफा गर्न हिँडे उनी । समुदायका व्यक्ति तथा अन्य सहकर्मीको साझेदारीमा उनले हिमाल बचाउन विभिन्न संघसंस्था पनि खोले । ती संघसंथाहरू अझै पनि सुचारु छन् जसले वेला–वेला उदाहरणीय काम गरिरहेका छन् ।

‘विगत केही वर्षदेखि सगरमाथा आरोहणमा अत्याधिक चाप बढेकोले होला फोहोर पनि उत्तिकै बढिरहेको छ’, पिके भन्छन् ‘तर यसका लागि कहिँबाट पहल भएन ।’ केही समय अघि कालापत्थरमा बसेको सर्वदलिय बैठकको निर्णय पनि हिउँजस्तै पग्लेर गयो ।’ उनेले राज्यको नेतृत्वप्रति कटाक्ष गर्दै भने । अन्य निकायले पहल गरुन या नगरुन पिकेलाई मतलव छैन । यस विषयमा चासो दिनुपर्ने निकायले चासो नदिए पनि उनी भने यसबाट पछि नहट्ने बताउँछन् । यसमा चासो राख्नेले साथ दिए मात्रै पनि आफ्नो अभियानमा थप हौसला पुग्ने उनी ठान्दछन् ।

सन् २००८ मा नासाले जलवायु परिवर्तनवारे एउटा लेखसार्वजनिक गरेको थियो । उक्त लेखमा हरितगृह तथा कलकारखानाबाट निस्कने हानिकारक ग्यास उत्सर्जन प्रक्रियाले पृथ्वी दोब्बर रूपले तात्दै गएको उल्लेख थियो । यसका साथै लेखको आसय पृथ्वीको आयु घट्दै जानु र जलवायु परिवर्तनका कारण २१औँ शताब्दी चुनौती पूर्ण छ भन्ने थियो ।

पछिल्लो समय जववायु परिवर्तनका कारण विश्वको वातावरण नराम्ररी चुलिँदै छ । हिउँले सेताम्मे हिम श्रृखंलाहरू जलवायु परिवर्तनको कारण कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमतालहरू फुटेर हिमाली गाउँ जोखिम पर्दै गएको छ । यी सबैका कारण समयमा पानी नपर्नु, सुख्खापन तथा खडेरी पर्नु, सगरमाथाजस्तो चिसो स्थानमा समेत लामखुट्टे फेला पर्नु पनि जलवायु परिवर्तनका कारण भएको जानकारहरू बताउँछन् । यो सबै मानविय गतिविधिका कारण भएको भन्ने पनि थाहा छ । सोही विषयलाई निरन्तरा दिँदै पिके भन्छन्, ‘सबै कुरा थाहा भएर पनि यसको नियन्त्रणका लागि कसैले चासो दिँदैन । यदि कसैले चासो दिएर अभियानमा लाग्यो भने त्यसलाई साथ दिनुको सट्टा हतोसाहित बनाउने प्रवृद्धि छ ।’

हिमालको सरसफाई अभियानमा पिकेले दुई दशक बिताए । समाजसेवाप्रति रुची राख्ने उनी पृथ्वीप्रति पनि चिन्तित भएर होला हिमालको सरसफाईलाई विशेष जोड दिँदै आएका छन् । विगतका अनुभव सुनाउदै पिके भन्छन्, ‘हिउँ पग्लिनको कारक तत्व भनेको फोहोर तथा सडेगलेका वस्तु हुन् । जसले वरिपरिको हिउँ पग्लिनमा सहयोग गर्छ र चाँदीजस्तै सेताम्मे टल्कने हिउँलाई कालापत्थरमा परिणत गरिदिन्छ । यीनै कुराले प्रभावित भई आफू हिमाल बचाउ अभियानमा लागेको पिकेको भनाई छ ।

हिमालको सफाइमा लागि रहदाँ उनले फोहोरको थुप्रो धेरै भेटे । खाना खाएर फालिएका कागज र प्लास्टिकसँगै कयौँ आरोहीको शवसमेत भेटिएको उनले सुनाए । सुनदर हिमाललाई उही चाँँदी जस्तै टल्काउने अभियानका लागेका उनले हालसम्म २७ सय किला भन्दा बढी फोहोर संकलन गरी राखेका छा् । काठमाडौंको कपनमा रहेको आफ्नै घरमा राखेका छन् उनले संकलन गरेको फोहोर । हिमालबाट ल्याएको फोहोरबाट मोहोर बनाउने अभियानमा सक्रिय छन् उनी यतिवेला ।

‘हिउँ जोगाउ, हिमाल बचाउँ’ भन्ने सन्देशसँगै नेपालमै विश्वको पहिलो पर्वतीय कलेज र रिसर्च सेन्टर खोल्ने उनको अर्को महत्वपूर्ण योजना छ । त्यसमार्फत हिमालका बारेमा अध्यन र अनुसन्धान गर्नेका लागि सहज बनोस् भन्ने उनी चाहन्छन् । पिकेसँग स्कुल तथा कलेजमा पढेका शैक्षिक प्रमाण पत्र छैनन् । तर, ज्ञान भने त्यो भन्दा धेरै माथि छ । उनले घरमै सैद्धान्तिक कुरा पढे र यसलाई व्यवहारमा लागू गरिरहेका छन् । उनी भन्छन्, ‘हाम्रो यो यात्रा जोखिमपूर्ण छ, यद्यपि साहसिक अभियान जति नै डरलाग्दो छ उत्तिकै उत्साहपूर्ण पनि छ ।’
सगरमाथा विश्वको सर्वोच्च शिखर हो ।

तर, शिखर आरोहणको सुरुआत कहाँबाट कसरी भयो भन्ने एकिन तथ्यांक नभए पनि सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नाम इतिहासका पानामा पढ्न पाइन्छ । आरोहणको प्रयास सन् १९२० देखि सुरु भए पनि १९५३ मे २९ मा उनीहरूले पहिलोपटक सगरमाथा शिखरमा पाइला टेकेपछि यसको ख्याति विश्वभर चुलिएको हो । यसको ख्याति चुलिएसँगै पर्वतारोहीको चापले हिमाली क्षेत्रमा प्रदूषण बढेको छ । यसको न्यूनीकरणका लागि केही वर्ष सगरमाथालाई विश्राम दिनुपर्ने पिकेको धारणा छ । त्यहाँको फोहोर टिपेर ल्याउन सके पनि मानिसको मलमुत्रले वरिपरिको क्षेत्र दुषित बनेको उनी बताउँछन् ।

जलवायु परिवर्तनले हिमालमा पहिरो जान्छ । नेपालको सन्दर्भमा हिमपहिरो तथा हिमताल विस्फोटको जोखिममा हिमालमा बस्ने शेर्पा तथा थकाली पर्ने गरेका छन् । चौरी तथा भेडाबाख्रापालन, खेती तथा जडिबुटी व्यवसाय शेर्पा समुदायका मुख्य पेसा हो र तर हाल परम्परागत पेसामा भने परिवर्तन आएको छ । सेर्पाहरू पर्वतारोहिका मुख्य मेरुदण्ड बनेका छन् । जसले हालसम्म पर्यटन उद्योगको शिर उचो पार्न सहयोग गरेका छन् ।

जलवायु परिवर्तनको गम्भीर मुद्दालाई लिएर यो अभियान विश्वका साढे सात अर्ब मानिसका बीचमा यो अभियान पु¥याउन पिके बाबुछोरा दिनरात मिहिनेत गरिरहेका छन् ।

ज्यानको बाजी लगाएर अभियानमा लागेका शेर्पा बाबुछोरा र निर्मल पुर्जा आफूहरूको अभियान सफल हुनेमा विश्वस्त छन् । डर तथा जोखिमका बावजुद साहस र संर्घषका आफ्नो अनन्त यात्रा तय गरेका यि तिनै नायकले आ–आफ्नो पुस्ताको प्रतिनिधित्व गरेका छन् । ख्याति कमाउन नभई निःस्वार्थ पृथ्वी जोगाउने अभियानमा लागेका यि नायकहरूको साहसिक र सन्देशमूलक यात्रा सबैको प्रेरणादायी बनोस् । सबैले उनीहरूको यात्रामा साथ दिई प्रकृतिको रक्षा गर्नमा सहयोग मिलोस् ।

प्रतिक्रिया