२७ जनाको मृत्यु, क्षतिको तत्काल यकिन तंथ्याक निकाल्न कठिन
वीरगञ्ज । साँझको आठ बजेतिर बारा–पर्साका बासिन्दा रातिको खाना खाएर बसेका मात्र के थिए, निकै ठूलो प्राकृतिक प्रकोप उनीहरूमाथि मडारियो । अधिकाशंले खाना खाएर सुत्ने तरखर गर्दै गर्दा भुमरीजसरी आएको आँधीहुरीले उनीहरूको आश्रयस्थल सबै उडाइदियो ।
करिब दुई मिनेटजति निकै जोडका साथ आएको आँधीका कारण घरका छाना उडे भने भित्ताहरू लडे । घरभित्र रहेका सबै सामान उडेर छरप्रष्ट भए भने सडकमा रहेका बिजुलीका पोल ढले, सडकमा गुडिरहेका बस, ट्रक र रोकिराखेका सवारी साधन बाटैमा पल्टिए । मानिसहरूमा कोलाहल मच्चियो, सुत्ने तयारीमा रहेका स्थानीय क्षणभरमै घरबार विहीन भए ।
आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म आएको हावाहुरीले बारा–पर्सामा अहिलेसम्म २७ जनाको निधन भएको गृहमन्त्रालयले पुष्टि गरेको छ । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रभावित क्षेत्रका घर, रुख, पोल सबै ढलेका छन् । हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरको भग्नावशेषमा नै बसेर विलौना गरिरहेका थिए । वृद्धवृद्धा अनि बालबालिकाहरू पनि रातको त्रासदी विर्सन नसकेर कापेर बसिरहेका देखिन्थ्ये
प्रभावित क्षेत्रका घर, रुख, पोल सबै ढलेका छन् । हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरको भग्नावशेषमा नै बसेर विलौना गरिरहेका थिए । वृद्धवृद्धा अनि बालबालिकाहरू पनि रातको त्रासदी विर्सन नसकेर कापेर बसिरहेका देखिन्थ्ये । तर, सो क्षेत्रका आसपासका गाँउमा भने कतै क्षति पुगेको थिएन । गाउँमा भित्र्याउने बेला भएको गहुँ सबै असिना पानीले नष्ट गरेको छ । मानिसहरूले रातभरी डरका कारण आइतवार राति सुत्न नसकेको बताएका छन् ।
रातिदेखि नै उद्धारका लागि खटिएका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू पनि गाउँमा मानिसहरू र बचेका सरसामान निकाल्न सोमबार दिनभर खटेका छन् । गृहमन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १० जना पुरुष, ११ महिला र ६ जना बालबालिका छन् । घटनामा ६६८ जना घाइते भएकोमा २८४ जना प्रारम्भिक उपचारपश्चात् घर फर्किएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । गम्भीर घाइते ९ जनालाई नेपाली सेनाको स्काईट्रक र हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । मन्त्रालयले उद्धारकार्य जारी रहेको र सबै संयन्त्र परिचालन गरिएको उल्लेख गर्दै घाइतेको निःशुल्क उपचार भइरहेको बताएको छ ।
मृतकको सनाखत
पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं. १८ का १८ वर्षीय सुरोज रामको मृत्यु भएको छ । बारामा फेटा गाउँपालिकाको वडा नं. १ का ५५ वर्षीय हरिनारायण दास, ४५ वर्षीया मनोरमा देवी, २४ वर्षीया रुनिदेवी र ६ वर्षीय नन्द पटेलको मृत्यु भएको छ । यस्तै फेटा गाउँपालिका वडा नं. ६ की १२ वर्षीया रुवि खातुन, २५ वर्षीया विविमा खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, २५ वर्षीया मिना खातुन, ११ वर्षीय नोक्सारा मियाँ, ४ वर्षीया अलिसा खातुन, ४० वर्षीया सकिया खातुन, १२ वर्षीया सम्सिधा खातुन र १८ वर्षीय सबनम खातुनको मृत्यु भएको छ ।
यस्तै भवानीपुर गाउँपालिका वडा नं. १ का ४५ वर्षीय राम माझी, ४ वर्षीय सुरज माझीको मृत्यु भएको छ । यस्तै, कलैया उपमहानगरपालिका वडा नं. १८ की ५० वर्षीय गढिया देवी, प्रसौनी गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय अक्षेलाल माझी, सुर्वण गाउँपालिका वडा नं. ८ की तरिफा खातुन, सुवर्ण गाउँपालिका वडा नं. ४ का ६५ वर्षीय श्रीप्रसाद यादव, महागढीमाई नगरपालिका वडा नं. ७ की ७५ वर्षीया कोइरी देवीको मृत्यु भएको छ ।
यस्तै, भारत मोतिहारीका हितलाल सहनी, मोतिहारी कालुपकरका २२ वर्षीय राजेश मुखिया, सितामढी वोक्ता ५ का २३ वर्षीय अवधेश पासवान र उपी बरेलिया लालगञ्ज खिरीका ४१ वर्षीय राधे लोडीको मृत्यु भएको छ । मृतक राजेश र अवेधेश काजल इँटा भटा धर्मनगर र राधे नविन इँटा भटामा काम गर्दै थिए ।
विनाशकारी हवाहुरीले ४ सय जनाभन्दा बढी घाइते भएका छन् । जसमध्ये वीरगञ्जको नारायणी अस्पतालमा १ सय १६ जना, नेसनल मेडिकल कलेजमा सय जना, गण्डक अस्पतालमा २८ जना, वीरगञ्ज हेल्थ केयरमा ३९ जना, एडभान्स अस्पतालमा २० जना र तराई अस्पतालमा २ जनाको उपचार भइरहेको छ भने कलैया अस्पतालमा ३८ जनाको उपचार भइरहेको छ ।
बढी प्रभावित फेटा गाउँपालिका
हावाहुरीले सबभन्दा बढी प्रभावित फेटा गाउँपालिका भएको छ । फेटा गाउँपालिका–१, भलुवही र वडा–६ पुरैनियामा बढी क्षति पुगेको छ । यहां अधिकांश घरहरूमा क्षति पुगेको छ । विद्युत्का पोलहरू र रूखहरूसमेत ढलेका छन् । भलुवहीमा ४ जनाको मृत्य भएको छ जसमध्ये एकै परिवारका २ जनाको रहेका छन् । पुरैनियामा ९ जनाको मृत्यु भएको छ जसमा एकै परिवारका ४ जना रहेका छन् ।
विद्युत्लाइन प्रभावित
हावाहुरीले बिजुलीको पोल ढाले पछि आइतबार रातिदेखी नै विद्युत् लाइन प्रभावित भएको छ । हावाहुरी प्रभावित बाराको परवानीपुर र फेटा गाउँपालिकामा सयौँ बिजुलीको पोल ढलेका छन् । पोल र तार ढलेका कारण त्यस क्षेत्रको विद्युत् लाइन प्रभावित भएको विद्युत् प्राधिकरणको वितरण शाखा वीरगञ्जले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले १५ करोड बराबरको क्षति भएको जनाएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् ।
क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीले मंगलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको बताए ।
प्रधानमन्त्रीद्वारा निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । झापाबाट आकस्मिक रूपमा बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिकोको हेलिकोप्टरबाट निरीक्षण गरे ।
त्यसपछि वीरगञ्जको नारायणी अस्पताल र बाराको कलैया अस्पतालमा पुगी प्रधानमन्त्री ओलीले हावाहुरीबाट प्रभावित घाइतेलाई भेटेका थिए । सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले त्यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट गरेका हुन् । बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल पुगेका थिए । त्यहां उपचार गराइरहेका घाइतेसँग भेटेपछि नेसनल मेडिकल कलेजमा उपचाररत बिरामीलाई भेटन पुगेका थिए । भेटमा प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै उपचारमा कुनै कसर बाँकी नराख्ने बताए ।
त्यसपछि उनी त्यहाँ उपचार हुन नसकेका दुईजना बिरामी लिएर काठमाडौं फर्केका थिए । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुगेका थिए । प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाई निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ पनि लिएका थिए । प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराए थिए ।
राहत उपलब्ध गराउन सुरु
सरकारले पीडितहरूका लागि खाद्यान्य लगायतका तत्कालीन अत्यावश्यक सामग्री स्थानीय स्तरबाट व्यवस्था भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको समन्वयमा काठमाडौंबाट पठाइएको त्रिपाल र टेन्ट गरी ४ सय ६८ थान तथा सर्ट, पाइन्ट लत्ताकपडा ४ हजार १ सय ३८ थान, २ रोल कपडासहित तीन ट्रक सामग्री बारा पुगेको छ । थप राहत सामग्री पठाउने क्रम पनि जारी रहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी, निजी क्षेत्रबाट पनि सोमबार बिहानैबाट राहत वितरण सुरु भएको छ ।
प्रतिक्रिया