लुम्बिनीका लागि विदेशी अर्बौं लगानी गर्न तयार छन्: अर्थमन्त्री खतिवडा

लुम्बिनी । विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

रुपन्देहीको धकधइमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम गर्ने सहमति गरेका छौँ ।’

उनले लुम्बिनीका लागि विदेशी अर्बौं लगानी गर्न तयार भएको बताए । अर्थमन्त्री खतिवडाले लुम्बिनीमा प्रसूति गृहसहितको आधुनिक अस्पताल, सडक विस्तार जस्ता आयोजना हुने बताए । उनले आगामी बजेटमा बुद्ध सर्किटको आयोजना प्राथमिकतामा पर्ने बताउँदै सरकारले बेलहिया बुटवल ६ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेको बताए ।

उनले बुटवलको सिद्धबाबामा टनेल वा अन्य प्रविधिका लागि स्वीस सरकारले परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको बताउँदै उक्त आयोजना निर्माणमा पनि उनीहरुलाई नै अनुरोध गरेको र सकारात्मक भएको बताए । मन्त्री खतिवडाले स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउने गरी सङ्घीय सरकारले बजेट ल्याउन थालेको बताए।

प्रतिक्रिया