दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताएका छन् । देशमा चौतर्फी विकास हुँदै आएको उल्लेख गर्दै उनले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।
झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपंक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताए ।
देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउँदै उनले भने, ‘कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।’ देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उनको भनाइ छ ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पशुपंक्षी हाटबजारको प्रशासनिक भवन तथा बजारको समेत उद्घाटन गरेका थिए । पशुपक्षीं हाटबजार नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कृषि तथा व्यापार आयोजना र नेपाल लाइफस्टक सेक्टर एनोभेसनको आयोजनामा निर्माण भएको हो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले पशुपक्षीं हाटबजारबारे जानकारी सहितको स्वागत मन्तव्य राखेका थिए । सोही क्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले पशुपंक्षी हाटबजारको महत्वका बारेमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया