काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो । लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गर्यौँ, राष्ट्र एक ठाउँमा रह्यो । सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश दिएका छौँ ।’ समृद्ध नेपाल आँफै बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्रीले बताए ।
कर्मचारी समायोजन सहज नभए पनि त्यससम्बन्धी काम सकिएको तथा कानून बनाइएको बताउँदै उनले संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले आगामी दिनमा संविधानले संघ, प्रदेश र स्थानीय तहलाई तोकेका क्षेत्र र अधिकारका बाँडफाट समन्वयात्मक रुपमा मिलेर अगाडि बढ्ने बताए ।
प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गर्दै भए, ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने र अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको बताउँदै सबैलाई सकारात्मक सोँच राख्न आग्रह गरे ।
उनले भने, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौँ भन्ने भुल्नु हुँदैन । हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।’ सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र विकासका लागि आगामी दिनमा थप सहमति, सहकार्य र एकताको खाँचो औँल्याए ।
पूर्वप्रधानमन्त्री दाहालले भने, ‘मलाई कुनै व्यक्तिगत लाभ र मोह छैन, अब मेरो चाहना देशको आर्थिक समृद्धि र विकास हो ।’ उनले राष्ट्रिय एकता, स्थायित्व र विकासलाई कमजोर पार्ने र बदनाम गर्नेलाई बालीमा गोडमेल गरेझैँ गोडमेल नगर्न सञ्चार जगतलाई आग्रह गरे । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र स्थापना गर्न सञ्चार जगतले अहं भूमिका निर्वाह गरेको उल्लेख गरे ।
त्यस्तै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आर्थिक समृद्धि भाषणले होइन, लगानीले आउने चर्चा गर्दै शनिवार लगानी सम्मेलनकाे समापनका अवसरमा हस्ताक्षर गरिएका योजना विगतमै आएको दबी गरे । उनले विगतका राजनीतिक अप्ठ्यारो परिस्थितिमा पनि पूर्वाधार विकासका क्षेत्रमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै पूर्वाधार विकासको पक्ष विपक्षमा बाँडिनु नहुने बताए ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले लोकतान्त्रिक मूल्य मान्यतानुसार प्रेस क्षेत्रलाई चल्न दिनुपर्ने बताए । त्यसैगरी गैरआवासीय नेपाली महासंघका पूर्वअध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वतन्त्र प्रेसले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया