मतदातासँग भोट माग्दै व्यस्त कानून व्यवसायी

काठमाडौँ । रामशाहपथस्थित सर्वोच्च अदालतमा कालोकोट लगाएर कानून व्यवसायी भोट माग्नमा व्यक्त देखिएका छन् । सधैँ अर्कोको मुद्दा मामिलामा व्यस्त हुने कानून व्यवसायी यतिबेला आफ्नै नेतृत्व छान्नमा व्यस्त देखिएका हुन् ।

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा देशभरिका कानून व्यवसायीले आफ्नो नेतृत्व छान्दैछन् । निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र वृहत लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भइरहेको छ ।

कानून व्यवसायीले आ–आफ्नो समूहलाई जिताउन अहिले सर्वोच्च अदालत अगाडिको पङ्क्तिमा लामवद्ध छन् । मतदान केन्द्र सर्वोच्चभित्र उम्मेदवार आ–आफ्नो समूहमा लामवद्ध भएर भोट माग्नमा व्यस्त छन् भने बाहिर हातहातमा पर्चा पम्पलेट लिएर लाइनमा बसेका मतदातासँग उम्मेदवारका समर्थकले मत मागिरहेका छन् ।

उनीहरुले नमूना मतपत्रसहित आफ्नो उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । उम्मेदवारले दिएको नमूना मतपत्र, पर्चा पम्पलेटले मतदाताका हात भरिएका छन् । मतदान केन्द्रभित्र र बाहिर पर्चा पम्पलेटले छरिएका छन् ।

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनीलकुमार पोखरेललगायत आफ्ना पक्षमा मत माग्नमा व्यस्त रहेका छन् । सबै मतदातासँग उनिहरुले नमस्कार गदै र हात मिलाउँदै आफूलाई भोट मागिरहेका छन् ।

दुवै उम्मेदवारले न्यायलयलाई स्वच्छ, पारदर्शी बनाउने प्रतिबद्धता गरेका छन् । प्रगतिशीलतर्फका उम्मेदवार श्रेष्ठले बारलाई व्यावसायिक निष्ठा र प्राज्ञिक बार बनाइका न्यायलयमा हुने अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने बताए ।

यस्तै लोकतान्त्रिक तर्फका उम्मेदवार पोखरेलले न्यायलय माथिको विश्वासलाई कायम गर्ने भन्दै बारलाई व्यावसायिक बनाउने बताए । आज ३५ मतदान केन्द्रबाट देशभर रहेका १० हजार ३१३ मतदाताले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तीन वर्षका लागि नयाँ नेतृत्वका लागि मतदान गदैछन् ।

प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एकजना र सातै प्रदेशबाट एक एकजना गरी आठजना उपाध्यक्ष निर्वाचित हुनेछन् ।

बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले सर्वोच्च केन्द्रमा करीब दुई हजार पाँच सय मतदाताले मतदान गरेको बताए । उनका अनुसार सर्वोच्च बारमा ५९६, उच्चबारमा करीब एक हजार र काठमाडौँ जिल्ला बारमा करीब नौ सय मतदान भएको छ । उनले साँझ ४ बजेसम्म देशभरि ८० प्रतिशत मत खस्ने जानकारी गराए ।

प्रतिक्रिया