प्रश्नपत्रको सुरक्षा गर्न नसक्दा परीक्षा नै रद्द

वीरगञ्जको घण्टाघर चोकमा शुक्रबार तोडफोड गर्दै विद्यार्थी । एसइईअन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा प्रदेश नं २ को सरकारले रद्द गरेपछि सोको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । तस्बिर : रासस

अप्सरा गौतम, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रदेश–२ को परीक्षा रद्द गर्ने निर्णय गरेको छ । पटक–पटक प्रश्नपत्र बाहिरिएपछि केन्द्र सरकारले एसइईको परीक्षा रद्द गर्न निर्देशन दिएको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको शुक्रबार साँझ पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो । यो लगत्तै शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । प्रश्नपत्रको सुरक्षा गर्न नसकेको भन्दै चर्को आलोचना र प्रदेश–२ का विद्यार्थी समेत आन्दोलनमा उत्रिएका बेला मन्त्रालयले परिक्षा रद्ध गर्न भनेको छ ।

विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर काम समेत सुरु भएपछि पुन सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएपछि मन्त्रालयले शुक्रबार ७७ जिल्लाकै परीक्षा केन्द्रको प्रश्नपत्र रुजु गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको थियो । साथै प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत् केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धान गर्न शुक्रबार नै निर्देशन दिएको थियो ।

शुक्रबार सामाजिक विषयको प्रश्नपत्र धनुषाबाट र बिहीबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट परीक्षा हुनुपूर्व नै बाहिरिएपछि दुवै विषयका परीक्षा स्थगित गरिएको थियो । लगातार दुई विषयका प्रश्नपत्र बाहिरिएपछि शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ मा एसईई परीक्षा स्थगित गरेको जानकारी दिए । ‘स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्छौं’, उनले भने ।

२२ गतेका लागि तय गरिएको विज्ञान विषयको परीक्षा सोही दिन हुने र अरु विषयको परीक्षा मिति राष्ट्रिय परीक्षा बोर्डसँगको छलफलपछि तय गरिने उनले बताए । प्रश्नपत्र ‘आउट’ गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । स्थगित भएका विषयको परीक्षाका लागि तयारी गरिराख्न विद्यार्थीलाई आग्रह गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएर विद्यार्थीमा पर्न गएको असुविधाप्रति गहिरो दुःख ब्यक्त गरेका छन् । चैत १० गतेदेखि माध्यामिक तह परीक्षा एसईईको परीक्षा सातै प्रदेशमा भइरहेको छ । प्रश्नपत्र परीक्षा हुनुपूर्व नै बाहिर ल्याउने जो कोहीलाई कानूनी दायराभित्र ल्याउनेसमेत मन्त्री पोखरेलले प्रतिवद्धता जनाए । सुरक्षा घेराभित्र राखिने र परीक्षा हुनुभन्दा एक घण्टा अघि मात्रै प्रश्नपत्र केन्द्रहरुमा पुग्ने भए पनि कसरी प्रश्नपत्र बाहिरियो र कसले प्रश्नपत्र आउट गरेको हो छानविन गर्न पनि समिति गठन गरेको उनले बताए ।

प्रश्नपत्र आउट गर्नेको खोजि गर्न गृह मन्त्रालयसँगको समन्वयमा केन्द्रीय अनुसन्धान व्युरो पनि खटाइसकिएको उनले जानकारी दिए । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रीको आग्रहअनुसार नै चैत २१ गतेसम्म सञ्चालन हुने भनिएको परीक्षा अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको मन्त्री पोखरेलले बताए । परीक्षा स्थगित भएपछि प्रदेश २ मा २६२ परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका ७० हजार पाँच सय ६८ विद्यार्थी प्रभावित भएका छन् । ‘विज्ञान विषयको परीक्षा चैत २२ गते हुने र अरु स्थगित विषयको परीक्षा यसै महिनाभित्र हुने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका प्रकाशित गर्नेछ,’ मन्त्री पोखरेलले भने । अन्य प्रदेशमा भने परीक्षा निरन्तर हुने उनले बताए ।

प्रतिक्रिया