काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । राजधानीमा आजदेखि सुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए ।
नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए ।
‘गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुने, असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्रीले भने । लगानीका लागि ७५ भन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उनले नेपालमा उपलब्ध अवसर भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए ।
लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको यथार्थ सुनाउँदै उनले नेपालको स्थिर सरकारले गरेको लगानी सुरक्षासहित मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन आग्रह गरे ।
बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पुँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।
छिमेकभन्दा पर पनि नेपाली उत्पादन खपत हुने गरेका, नेपालको आन्तरिक बजार पनि बढिरहेको र मध्यमवर्गाीय जनसङ्ख्याको क्रयशक्ति बढिरहेको, विकासोन्मुख र विकसित देशले पनि अल्पविकसित नेपाललाई व्यापारको साझेदार बनाएका जनकारी दिँदै उहाँले भौतिक सम्पर्क स्थापनाका अवरोध पनि क्रमशः हट्दै गएको बताए ।
प्रधानमन्त्री ओलीले थपे, ‘दुवै देशसँगको बहुआयमिक सम्पर्क सञ्जालभित्र सडक, रेल, जलमार्ग, हवाईमार्ग र प्रसारणलाइन समावेश भएका छन् । लगानीका लागि नेपाल उपयुक्तस्थल हो, जुनसुकै क्षेत्रमा लगानी गरेपनि मुनाफा प्राप्त हुन्छ भन्दै उनले जलविद्युत् क्षेत्र लगानीको प्रमुख केन्द्र बन्न सक्ने बताए ।
कृषि, उत्पादन क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार,सूचना प्रविधि, खनिज र खानी क्षेत्रले पनि लगानीको प्रतीक्षा गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । अन्तरदेशीय प्रसारणलाइन निर्माणका निम्ति आधारभूत पूर्वाधार निर्माणको प्रयास भइरहेको, बिम्स्टेक क्षेत्रमा विद्युत् व्यापार गर्ने सन्दर्भमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हालै भएको समझदारीले नेपालको जलविद्युत क्षेत्रमा लगानी आकर्षित गरेको बताउँदै प्रधानमन्त्री ओलीले पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर गुमाउन नहुनेमा जोड दिए ।
तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेको जानकारी दिँदै उनले द्रुत औद्योगिकीकरणसँगै विद्युत्को आन्तरिक खपतमा वृद्धि भइरहेको तथा भारतको सकारात्मक प्रयासका कारण क्षेत्रीय बजारमा बिजुली बिक्रीको सम्भावना बढेको बताए ।
उनले आर्थिक नीति तथा वैदेशिक लगानीका लागि सदैव ढोका खुला राख्ने लचिलो देश नेपालले केही संवेदनशील क्षेत्र छाडेर सबै क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानी खुला गरेको बताए ।
निर्धारित मापदण्ड पूरा गरेका उद्योगलाई कर छुटको व्यवस्थाका साथै संस्थागत कर, आयात महसुल र निर्यात सहजीकरणमा आकर्षक प्रोत्साहन दिइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धी कर प्रणाली, परिश्रमी, युवापुस्ता, सस्ता श्रमिक, बहुुसीपयुक्त जनशक्ति र मनासिब खर्चमा उत्पादन लिन सकिने भएकाले लगानीको उच्च प्रतिफल प्राप्त हुनेमा जोड दिए ।
पूर्वाधार निर्माण वर्तमान सरकारको प्राथमिकतामा परेको, सरकारको त्यो प्रतिबद्धता महत्वपूर्ण पूर्वाधारका क्षेत्रमा भएका प्रगतिले प्रतिबिम्बित गरेका बताउँदै उनले भने, ‘उद्योगका लागि चौबिसै घण्टा विद्युत आपूर्तिको व्यवस्था गरेका छौँ, अब चाँडै नै हामीसँग अतिरिक्त विद्युत् हुनेछ, देशभित्र र अन्तरदेशीय सडक सम्पर्क विस्तारमा उल्लेख्य सुधार आएको छ अनि केही वर्षअघिसम्म सपनामा सीमित रहेको काठमाडौँ, तराई द्रुतमार्ग अहिले वास्तविकता बन्दै छ । ‘
उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्रमा पूर्वाधार र अन्य सुविधा उपलब्ध रहेको, एउटा आर्थिक क्षेत्र सञ्चालनमा आइसकेको तथा अन्य कैयौँ विकासका चरणमा रहेका जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको औद्योगिक विकासको आधार तयार पारिएको बताए । स्थानीय तहमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको योजना सुनाउँदै उनले हरेक प्रदेशको औद्योगिक उन्नयनका लागि साना तथा मझौला उद्योग स्थापनालाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
संसद्मा रहेका नेपालका सबै राजनीतिक शक्ति बाह्य लगानी प्रोत्साहन एवम् आमन्त्रण गर्न तथा विकासका विषयमा सहमत रहेका त्यसमा राष्ट्रिय सहमतिसमेत रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासको स्पष्ट दृष्टिकोण बोकेको वर्तमान सरकारसँग निजी क्षेत्रको साथ र सहयोग रहेको दोहोर्याए । उनले सामाजिक–आर्थिक रुपान्तरणको अतिमहत्वपूर्ण साझेदारका रुपमा निजी क्षेत्रलाई चित्रण गरे ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको अभियानमा नेपाललाई साथ दिन आग्रह गर्दै उनले साथीको साथ, सहयोग, समर्थन र ऐक्यबद्धताको महत् महत्व हुने बताए । समृद्धितर्फको अवको यात्रामा विलम्ब नगर्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्रीले अहिलेको नेपालको आवश्यकता द्रुत एवम् व्यापक विकास भएको दोहोर्याए ।
‘नेपाल व्यापार–व्यवसाय र लगानीका निम्ति तयार छ, हामी तपाईँहरूको लगानीको स्वागत गर्छौँ, ढुक्क भएर लगानी गर्नोस्, तपाईको लगानीको सुरक्षाका साथै मुनाफाको प्रत्याभूति हुनेछ । लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्रीले आफ्नो सन्देश सुनाए ।
प्रतिक्रिया