भारतका विदेश सचिव गोख्ले र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेएका भारतका विदेश सचिव विजय गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको सरकारी निवास बालुवाटारमा आज अपराह्न शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनिहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए ।

यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आजै सचिव गोख्लेले शिष्टाचार भेट गरे । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल, भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए ।

बितेका एक वर्षमा भएका विकास निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् । द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्र सचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् । सचिव गोख्ले भोलि नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनको यो भ्रमण कूटनीतिक छलफल र संवादको नियमित थियो ।

प्रतिक्रिया