विप्लव आन्दोलनको कुनै अर्थ छैन: मुख्यमन्त्री गुरुङ

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।

आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको उल्लेख गर्दै सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न विप्लव समूहलाई आग्रह गरे ।

अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई पनि नागरिकले स्वतः प्रतिकार गर्छ, उनले भने, “स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि रोकेर शान्तिपूर्ण राजनीतिक धारमा आउन म विप्लव समूहलाई आग्रह गर्न चाहन्छु ।

मुख्यमन्त्री गुरुङले सिके राउतलाई मूलधारमा ल्याउने विषयमा पार्टीभित्रैबाट असन्तुष्टि देखिएको उल्लेख गर्दै सुरुमै आलोचना गर्नुभन्दा पनि त्यसले पार्ने दुरगामी असरलाई पर्खिनुपर्ने बताए ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले यो एक वर्षमा विकास निर्माणका आधार तयार गरेको बताउँदै अब प्रदेशको आर्थिक समृद्धिका लागि धमाधम काम गरिने प्रतिवद्धता व्यक्त गरे । चौतर्फी समस्याका कारण एक वर्षमा नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गर्दैै उनले अब द्रुत विकासको मोडेलमा अघि बढ्ने बताए ।

नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले चैत महीनाभित्रै पार्टीका सबै तहको एकता टुङ्गिने बताउँदै पार्टी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि पार्टी एकता तत्कालै टुङ्गिने बताए ।

प्रतिक्रिया