खोजखबर

हिंसा सहन नसक्दा आत्महत्या

पार्वती पाण्डे २०७५ चैत १२ गते ७:२४ मा प्रकाशित

कुनै पनि मान्छेले जटिल कारणविना आत्महत्या गर्ने योजना बनाउँदैन । अनुसन्धानकर्ताहरू भन्छन्, ‘कुनै न कुनै पीडा नभई घाँटीमा पाँसो लगाउन बाध्य हुँदैन । चरम पीडाले छट्पटाएर मर्नुको विकल्प नदेखेरै मानिस आत्महत्या गर्ने गरेको तथ्यहरूले पुष्टि गरेका छन् ।’

कतै इज्जत प्रतिष्ठामा आघात, कतै रोजगारी नपाएका कारण, कतै पारिवारिक तनाब, त कतै गरिबी र अशिक्षाका कारण मानिसहरू आत्महत्या गर्न बाध्य भएका छन् ।

प्रहरीका अनुसार घरेलु हिंसा, पारिवारिक तनाब, अशिक्षा, गरिबीका कारण धेरै महिलाहरूले आत्महत्या गर्ने गरेका छन् । कपिलवस्तुमा पाँच वर्षको अवधिमा २ सय २२ जना महिलाले आत्महत्या गरेको तथ्य जिल्ला प्रहरीमा रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा झुण्डिएर १९, विष सेवन नौसहित २८ जना महिलाको ज्यान गएको छ ।

५ नं प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष ०७१–०७२ देखि ०७५–०७६ को मंसिर मसान्तसम्ममा ७ सय ४९ महिलाले आत्महत्या गरेका छन् ।
प्रदेशका १२ वटा जिल्लामध्ये तराईमा भन्दा पहाडी जिल्लामा आत्महत्याको घटना धेरै हुने गरेको प्रहरीको तथ्यांक छ । प्रदेश–५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले मानसिक तनाबका कारण ९० प्रतिशतले आत्महत्या गर्ने बताउँछन् ।

त्यसैमाथि महिला पारिवारिक हिंसाका कारण आत्महत्या गर्न पुगेका भेटिन्छन् । यो समस्या रोक्न प्रदेशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी, प्रहरी र मनोविमर्शकर्ताको सहकार्यमा चेतनामूलक शिक्षा सञ्चालन गरिएको छ ।

सहरको सट्टा विभिन्न विद्यालय र ग्रामीण बस्तीमा यस्तो शिक्षा सुरु गरिएको हो । यस्तोमा मानसिक पीडा भएका, घरेलु हिंसामा पिल्सिएका महिलाहरूलाई सम्झाउने बुझाउने काम प्रहरीले गरेको प्रहरीको भनाइ छ ।

बर्दियाबाट सुरु भएको यो अभियान प्रदेशका १२ वटै जिल्लामा पु¥याउने डिआइजी अधिकारीको भनाइ छ । ‘पाँच नं प्रदेशका सबै जिल्लामा उक्त कार्य गर्नका लागि प्रहरीलाई निर्देशन गरिसकेका छौँ’ उनले भने, ‘हामी हिंसाका कारण आत्महत्या गर्ने वा मानसिक तनाबका कारण मृत्युका मुखमा जाने समस्या रोक्ने अभियानमा छौँ ।’

प्रदेश–५ का प्रहरी प्रमुख पिताम्बर अधिकारी मानसिक तनाबका कारण ९० प्रतिशतले आत्महत्या गर्ने बताउँछन् । मानिसले आफ्नो ज्यानलाई आफँै मार्नु भनेको निकै डरलाग्दो अवस्था हो । यसलाई न्यूनीकरण गर्नका लागि सामुदायिक अभियानसमेत चलेका छन् ।

महिला मात्रै होइन पछिल्ला दिनमा बालबालिकाले पनि हिंसा सहन नसकेर आत्महत्या गर्ने गरेका छन् । यस्तोमा विद्यालय र घर परिवारमा बालमैत्री वातावरण नहुने कारण देखिएको छ ।

बालबालिकाको मनोभावना बुझेर शिक्षक र अभिभावकले काम गर्नुपर्ने देखिन्छ । महिला तथा बालबालिका सेल प्रमुख गिरीका अनुसार चरम घरेलु हिंसा खप्न नसकेर महिलाले आत्महत्या गर्ने गरेका छन् । यातना, डर धम्की र आफुखुसी विवाह गर्न नपाएका कारण पनि युवायुवतीले आत्महत्या गर्ने र विष पिउने गरेका छन् ।

मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १ सय ८५ मा आत्महत्या गर्ने चरणमा पु¥याउनेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, आत्महत्यालाई प्रयोगात्मक रूपमा सजायको भागीदार बनाउन भने नसकेको अधिवक्ता ओम प्रकाश अर्यालको भनाइ छ ।

आत्महत्या गर्नेमा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका महिला धेरै छन् । हिंसा सहन नसकेर महिलाले आत्महत्या गर्ने क्रम धेरै छ । यद्यपि, रोक्नका लागि जिल्लामा कुनै संघसंस्थाले काम गरेका छैनन् ।

गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रवीण श्रीवास्तवले आत्महत्याका घटनालाई रोक्न घरपरिवार, समाज र राज्यले पनि समयमै ध्यान पु¥याउनुपर्ने बताए ।

–आत्महत्या गर्नेमा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका महिला धेरै छन् ।
–हिंसा सहन नसकेर महिलाले आत्महत्या गर्ने क्रम धेरै छ ।
–यद्यपि, रोक्नका लागि जिल्लामा कुनै संघ÷संस्थाले काम गरेका छैनन् ।

सामाजिक क्षेत्रमा काम गर्ने संघ-संस्थाले पनि आत्महत्या, विष सेवनजस्ता विषयलाई कार्यक्रममा राखी चेतनामूलक कार्यक्रम गर्न आवश्यक छ । घरदेखि गाउँ समाजमा शान्तिको वातावरण सिर्जना गर्नु, घरेलु हिंसा रोक्नु, बालबालिकालाई बालमैत्री वातावरणमा राख्नु आदिबाट यस्ता डरलाग्दा घटनाहरू न्यूनीकरण हुन्छन् ।

महिलाहरूको सम्मान र महिलामैत्री वातावरण बनाउने र बेरोजगारीको अन्त्य गर्ने हो भने महिलाहरूले गर्ने आत्महत्या स्वतः घट्ने महिला मानवअधिकार मञ्चकी केन्द्रीय सचिव चेतना अधिकारीले बताइन् ।

अरू जेसुकै भए पनि घरेलु हिंसा रोक्न सकेमा मात्रै आत्महत्याका घटना कम हुने महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुकी अध्यक्ष मीना परियारको भनाइ छ ।

‘घरेलु हिंसा सहन नसक्ने, न बताउन सक्ने भएर आत्महत्याको बाटो रोजेका तमाम महिला छन्,’ उनले भनिन् ,‘यस्तोमा घरेलु हिंसा घटाउनु महिला आत्महत्या घटाउने ठूलो उपाय हो ।’ (सञ्चारिका फिचर सेवाबाट)

प्रतिक्रिया