नक्कली कमरेड बिप्लवलाई मूलधारमा ल्याइन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याउने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने बताए ।

उनले भने, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने, ‘‘उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’’

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । उनले शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी दिए । ‘‘शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनु हुँदैन, उनले भन्नुभयो, ‘‘कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने हो ।’’

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रिया टुङ्ग्याउने दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका पदाधिकारी सिफारिस गर्नका लागि सिफारिस समितिसमेत गठन गरिने जानकारी दिए ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग आग्रह गरे । आलीले आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गरे ।

प्रतिक्रिया