बढुवा हुन एसइइमा सम्मिलित

सल्यान । पढ्ने इच्छालाई उमेरले छेक्दैन । यस कुरालाई नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसइई परीक्षामा सहभागी भएर प्रष्ट पारिसकेका छन् । पढाइ गर्ने कुनै उमेर हुँदैन, बरु समयमै यस कुराको जानकारी भएन भने पछि गएर पछुताउनुभन्दा समयमा पढाइको महत्व बुभ्mन एकदमै जरुरी हुन्छ भन्ने यस कुराले पुष्टि पनि गरेको धेरैले भन्ने गरेका छन् ।

शिक्षा लिने कुरामा कुनै पनि हालतमा उमेरले छेक्दैन भन्ने उदाहरणीय व्यक्ति सल्यानमा पनि भेटिएका छन् । सल्यानमा पनि यस वर्ष दुई जना वृद्ध एसइइ परीक्षामा सहभागी भएका छन् । जिल्लाको त्रिभुवन जनता मावि लुहापिंग र शारदा क्याम्पस शंखमूलबाट दूई जना वृद्ध एसइईमा सहभागीको शिक्षा इकाइ कार्यालय प्रमुख लीलाधर बपालले जानकारी दिएका छन् ।

फरक केन्द्रबाट भए पनि दुबै वृद्ध एकै गाउँपालिकाका रहेकाले सबैले चासोका साथ लिएका छन् । बुढेसकालमा आएर के गर्न सकिन्छ र भनेर हरेस खानेहरूलाइ ती दुबैले गतिलो जवाफ दिएका छन् । छत्रेश्वरी गाउँपालिका–५ पानीखोला निवासी ५५ वर्षीय बुद्धिराम बस्नेत र सोही गाउँपालिका–४ लेखपोखराका ५४ वर्षीय नरबहादुर बुढा एसइइ परीक्षामा सहभागी भएका हुन् । बस्नेत नियमित कक्षाबाट एसइइमा सहभागी भएका हुन् भने बुढा खुला तर्फबाट एसइइमा सहभागी भएको इकाइ प्रमुख बपालले बताए ।

नरबहादुर बुढाले ग्रामीण स्वास्थ्य कार्यकर्ता भएर लामो समयसम्म जागिरे जीवन व्यतीत गरेको बताउँछन् । उनी भन्छन्, ‘अहिले मेरो बढुवा भइसक्ने थियो तर पढाइले रोक्यो अनि मात्रै पढाइको महत्व थाहा भयो । पहिले नै पढाइ पूरा गरेको भए अहिलेसम्म बढुवासमेत भइसक्थँे । अनि मनमा सोचेँ अझै पनि केही बिग्रेको छैन् । समय छ अहिले पनि एसइइमा सहभागी हुन सकिन्छ भनेर पढ्न थालेको हुँ ।’ यकातिर जागिर पनि गरिरहनुपर्ने भएकाले नियमित विद्यालयमा उपस्थित हुन सकिँदैन भनेर खुला तर्फबाट एसइइ परीक्षामा सहभागी भएको उनी बताउँछन् । उनी त्रिभुवन जनता मावि लुहापिंगको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।

यता बुद्दिराम बस्नेत भने नियमित तर्फबाट एसइइ परीक्षामा सहभागी भएका हुन् । त्रिवेणी मावि सरीकोटमा कक्षा १० मा भर्ना भएका बस्नेतले शारदा क्याम्पस शंखमुल केन्द्रबाट एसइई परीक्षामा सहभागी भएका छन् । ‘बुद्धिरामले पहिले पढ्न नपाएको दुःख बिर्सिएका छन्’, उनका प्रअ देवबहादुर श्रेष्ठ भन्छन्, ‘हाम्रो यस छात्रले अन्य विद्यार्थीलाई समेत हौसला मिलेको छ ।’

कक्षामा आफ्ना सहपाठी भाइबहिनीलाई पढाइको महत्व बुझाउँदै बस्नेतले आप्mनो अनुभवको बारेमा धेरै कुराहरूको जानकारी दिएर पढाइप्रति सकारात्मक कुराहरु गर्ने गरेको भन्दै प्रअ श्रेष्ठले उनको प्रशंसा गरे । ‘पहिलो दिन अंग्रेजी विषयको परीक्षा राम्रोसँग गरेँ’, ५५ वर्षीय वृद्ध बस्नेतले भने, ‘एसइइ पास गरेँ भने मेरो जीवनमा उज्यालो आउनेछ र भविष्य उज्ज्वल हुने अपेक्षा मैले गरेको छु ।’ अब केही गरौँ भन्ने आशा जागेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया