काठमाडौँ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको ७औँ बार्षिकोत्सव तथा अवार्ड कार्यक्रम हिजो राजधानीस्थित प्रज्ञा भवन कमलादीमा भब्यताकासाथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रमा मुख्य योगदान पुर्याउने विभिन्न स्वास्थ्य चिकित्सक र स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरुलाई अवार्डले सम्मान गरिएको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा डा. शशांक कोइरालाले हेल्थ अवार्डबाट सम्मान गरेका हुन् । साेही अवार्डबाट सम्मानित हुनेहरुमा चिकित्सकतर्फ प्रदेश १ बाट डा. सञ्जीवकुमार शर्मा, २ बाट डा. श्यामसुन्दर दास र ३ बाट डा. मदनकुमार पिया रहेका छन् भने गण्डकी प्रदेशबाट प्रा.डा. श्यामराज जोशी, प्रदेश ५ बाट प्रा.डा. भरतबहादुर खत्रीले सम्मान पाएका छन् ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले लेखेका स्वास्थ्य दर्पण नामक पुस्तक बिमाेचन गर्दै महामन्त्री डा. शशांक कोइराला ।
त्यसै गरि कर्णाली प्रदेशबाट डा. सुरेश कनोडिया र सुदूरपश्चिम प्रदेशबाट डा. निरेश थापा र डा. चन्द्रप्रकाश पाण्डेले स्वास्थ्य अवार्ड हात परेका छन् । सोही क्रममा युवा चिकित्सकमा साइराम डेन्टल केयर भरतपुरका डेन्टल सर्जन डा. अजय न्यौपानेलगायत स्वास्थ्यकर्मी विधाबाट कृष्णप्रसाद रिजाल, गोविन्द नेपाल अवार्डसहित सम्मानित भएका छन् ।
सोही समारोहमा स्वास्थ्य पत्रकारिता क्षेत्रतर्फ हेल्थ टिभी अनलाइनकी प्रधानसम्पादक कल्पना आचार्य, अतुल मिश्र, दिपक दाहाल, पदमराज जोशी र उद्धव भेटवाल सम्मानित भए । त्यस्तै ललितपुरस्थित नेपाल क्यानन्सर अस्पताललाई पनि साेही समाराेहमा सम्मान गरिएको छ ।
कार्यक्रमकाे सञ्चालन गर्दै हिमालय टेलिभिजनकी सञ्चारकर्मी कमला गुरुङ ।
सोही क्रममा स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले लेखेका स्वास्थ्य दर्पण नामक पुस्तक महामन्त्री तथा डा. शशांक कोइरालाद्वारा बिमोचन समेत गरिएको छ । उक्त कार्यक्रममा बोल्दै डा. कोइरालाले पत्रकारिता देशको चौथो अङ्ग भएको बताउँदै स्वास्थ्य पत्रकारिताले अझै स्वास्थ्य क्षेत्रमा सकारात्मक कलम चलाएर आम नेपाली नागरिकको सेवा गर्न पर्ने बताए ।
उनले भने, ‘स्वास्थ्य दर्पण नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ र उहाँको घर परिवारलाई नै मैले नजिकबाट चिन्दछु, नवलपरासीको पहाडी क्षेत्र बुलिङटारमा जन्मिनु भएको सन्दीपले लामो समयदेखि स्वास्थ्य पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ, उहाँको यो महत्वपुर्ण याेगदानकाे कदर गर्दै आगामी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्नुहुनेछ भन्ने आशा गरेको छु ।”
महामन्त्री डा. शशांक कोइरालाबाट सम्मानित हुँदै प्ररदेश ३ बाट डा. मदनकुमार पिया ।
सोही क्रममा नेटवर्कका अध्यक्ष श्रेष्ठले स्वास्थ्य विधामा कलम चलाउने सञ्चारकमीले गाउँगाउँ पुगेर जनस्वास्थ्य समस्या उजागर गर्नुपर्ने र नेपालका कुनैपनि पत्रकारिता क्षेत्रलाई राज्यले सकारात्मक दृष्टिकोणले हेरेर अझै सहज वातावरण बनाइदिनका लागि आग्रह गरे । कार्यक्रम हिमालय टेलिभिजनकी सञ्चारकर्मी कमला गुरुङले सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया