नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिका गएका छन् । यसलाई कतिपयले व्यक्तिगत भ्रमणका रूपमा पनि लिएका छन् ।
जारी उनको अमेरिका भ्रमणलाई लिएर केही दिन नेपालमा निकै चर्चासमेत भयो । अमेरिकामा उनलाई पक्राउ गर्न भन्दै एक नेपालीले उजुरी गरेपछिउनी प्रति अमेरिकाले गर्ने व्यवहार कस्तो होला भनेर निकै चासोका रूपमा लिएएको थियो । तर, त्यो विषयलाई सामान्यरूपमा लिइयो । उनी अमेरिकी दूतावासकै अनुमतिमा गएकाले पनि उनी विरुद्धको उजुरीले प्राथमिकता पाएन ।
प्रचण्ड परिवारका केही अन्य सदस्यसहित पत्नी सीताको उपचारका लागि अमेरिकाको बाल्टिमोर गएका हुन् । प्रचण्ड पत्नी सीताको त्यहाँ जोन्स हप्किन्स आउटपेसन्ट सेन्टरमा उपचार हुँदै छ । तर, अमेरिका बसाइका क्रममा प्रचण्डले राजनीतिक भेटघाटसमेत गर्न सक्ने बताइएको छ । उनको भ्रमण पत्नीको उपचारमा मात्रै सीमित नरहने अनुमान गरिएको छ ।
नेपालमा भएको १० वर्षे लामो सशस्त्र संघर्षको नेतृत्व गरेको तत्कालीन माओवादी पार्टीका नेता प्रचण्डको यो दोस्रो अमेरिका भ्रमण हो । दुई चोटि प्रधानमन्त्री हुँदा प्रचण्डले केही देशहरूको औपचारिक भ्रमण गरेका थिए । यसबीचमा उनले केही देशको निजी भ्रमणसमेत गरेका छन् ।
पहिलो चोटि प्रधानमन्त्री हुँदा उनी सन् २००८ मा एकपटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका थिए । पुनः दोस्रोपटक प्रधानमन्त्री हुँदा सन् २०१६ को सेप्टेम्बरमा उनी संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका थिए । तर, देशभित्रको आन्तरिक कारण देखाउँदै उनले अन्तिम समयमा सो योजना स्थगित गरेका थिए ।
दोस्रो पटकको अमेरिका भ्रमणका स्थगित भएको विषयमा दाहालको सचिवालयले देशमा विभिन्न दल र समुदायले आन्दोलन गरिरहेको एवं नयाँ संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको काममा ध्यान दिनुपर्ने भन्दै भ्रमण स्थगित भएको जनाएको थियो ।
सोही वर्ष जुन महिनामा उनले अस्ट्रेलियाको भ्रमणसमेत स्थगित गरेका थिए । उनी पार्टीको वैदेशिक विभागको निम्तोमा एउटा कार्यक्रममा सिड्नी जान लागेका थिए । आन्तरिक कारण देखाइएर भ्रमण स्थगित भएको भए पनि अस्ट्रेलियामा पक्राउ परिने डरका कारण भ्रमण स्थगित भएको समाचार त्यतिवेला सञ्चार माध्यममा प्रकाशित भएको थियो । उक्त समाचारलाई आधार मान्ने हो भने उनले पक्राउको डरले अस्ट्रेलियाको भ्रमण स्थागित गरेका थिए ।
तर, प्रचण्डविरुद्ध अस्ट्रेलियाले कुनै कारबाहीको तयारी नगरेको दाबी तत्कालीन महान्यायाधिवक्ता हरि फुयालको थियो । हजारौँ मानिसहरूको ज्यान जानेगरी नेपालमा भएको सशस्त्र द्वन्द्वका क्रममा प्रचण्डले मानवाधिकार उल्लंघन गरेको भन्दै अस्ट्रेलियामा उनीविरुद्ध उजुरी परेको स्रोतको दाबी छ । तर, त्यसको पुष्टि भएको छैन ।
नेपालमा सशस्त्र द्वन्द्वकालमा मानव अधिकार उल्लंघन र यातना दिएको भन्ने उजुरीका आधारमा सन्् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि माओवादी दल र उसले नेतृत्व गरेको सरकार झस्किएका थिए । तर, पछि महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाए ।
प्रचण्डका महत्वपूर्ण विदेश भ्रमण
सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौतापछि १० वर्षे सशस्त्र युद्धमा लागेको पार्टी माओवादीलाई मूलधारको राजनीतिमा आउन बाटो खुल्यो । त्यसपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो राजनीतिक दल बन्यो र प्रचण्ड मुलुकको प्रधानमन्त्री बने । उनले त्यसवेलादेखि अहिलेसम्म गरेका महत्वपूर्ण वैदेशिक भ्रमणहरू यस प्रकार छन् ।
चीन, अगस्ट २००८
सन् २००८ मा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणका क्रममा चीन गएका थिए । बेइजिङ जारी ओलिम्पिक्सको समापन समारोहमा भाग लिन उनी माओको देश चीन पुगेका थिए ।
उनको चीन भ्रमणलाई लिएर निकै चर्चा पनि भएको थियो । नेपालका प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गरेको भनेर चर्चा भएपछि प्रचण्डले आफ्नो प्रथम औपचारिक भ्रमण भारतबाटै हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।
नेपालमा प्रधानमन्त्री भए पछि पहिलो विदेश भ्रमण भारतबाट हुने गरेको विगतको परम्पराजस्तै छ । प्रचण्डको चीन भ्रमणलाई भारतले पनि चासोको रूपमा हेरेको थियो । कतिले त्यसलाई परम्परा तोडियो भन्दै पक्ष र विपक्षमा समेत तर्क गरेका थिए ।
भारत, सेप्टेम्बर २००८
सन् २००८ सेप्टेम्बरमा चीनबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा प्रचण्ड पाँचदिने भारत भ्रमणमा गएका थिए । सायद उनले चीन भ्रमणबाट फर्किएपछि उनले भने जस्तै त्यो नै उनको पहिला औपचारिक दिनेश भ्रमण थियो !
संयुक्त राष्ट्रसंघ, सेप्टेम्बर २००८
सन् २००८ सेप्टेम्बरमा प्रचण्ड संयुक्त राष्ट्रसंघको ६३औँ महासभामा सहभागी हुन जर्मनी हुँदै अमेरिकाको न्युयोर्क गएका थिए । अमेरिका भ्रमणका क्रममा उनको भेट अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुससँग पनि भएको थियो ।
फिनल्यान्ड, अप्रिल २००९
सन् २००९ अप्रिलमा प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा दाहालले युरोपेली मुलुक फिनल्यान्ड भ्रमण गरेका थिए । उक्त भ्रमणमा नेपालको शान्तिप्रक्रिया, नयाँ संविधान बनाउने प्रक्रिया आदि विषयमा छलफल भएको थियो ।
थाइल्यान्ड, मे २०११
सन् २०११ मेमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रचण्ड एउटा चिनियाँ संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन थाइल्यान्ड पुगेका थिए ।
भारत, अप्रिल २०१३
सन् २०१३ अप्रिलमा एकीकृत माओवादीको अध्यक्षको हैसियतमा प्रचण्ड चारदिने भ्रमणमा भारत गएका थिए । उक्त भ्रमणको क्रममा दाहालले तत्कालीन भारतीय प्रधानमन्त्री र अन्य नेताहरूसँग छलफल गरेका थिए ।
थाइल्यान्ड, जनवरी २०१६
सन् २०१६ जनवरीमा माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दाहाल एक महिनामा दुई चोटि थाइल्यान्ड गएका थिए ।
भारत, सेप्टेम्बर २०१६
सन् २०१६ सेप्टेम्बरमा दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि प्रचण्डले भारतको चारदिने राजकीय भ्रमणमा गरेका थिए । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गरेका थिए ।
भारत, अक्टोबर २०१६
सन् २०१६ अक्टोबरमा आयोजना भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण र दक्षिण पूर्वीएसियाली मुलुकहरूको संगठन बिम्स्टेक राष्ट्रका सरकारप्रमुख र राष्ट्रप्रमुखलाई निम्तो दिएका थिए । प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड एक महिना नबित्दै पुनः भारत भ्रमणमा गएका थिए ।
उक्त भ्रमणका क्रममा गोवामा प्रचण्डको भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीसँग त्रिपक्षीय भेट भएको थियो । उक्त भेटको विषयलाई पनि चर्चाको रूपमा लिइएको थियो ।
युनाइटेड अरब इमिरेट्स, जनवरी २०१७
सन् २०१७ जनवरीमा अबु धाबीमा आयोजित वल्र्ड फ्युचर एनर्जी समिटमा भाग लिन प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा गएका थिए ।
चीन, मार्च २०१७
सन् २०१७ को मार्च महिनामा प्रधानमन्त्रीकै हैसियतमा प्रचण्ड चीनले आयोजना गरेको बोआओ सम्मेलनमा भाग लिन चीनको हाइनान प्रान्त गएका थिए ।
थाइल्यान्ड, जुलाई २०१७
सन् २०१७ को जुलाईमा पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणका लागि उनी थाईल्यान्ड गएका थिए ।
सिंगापुर, जुन २०१८
सन् २०१८ को जुनमा पुनः पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणका लागि उनी सिंगापुर गएका थिए ।
भारत, सेप्टेम्बर २०१८
सन् २०१८ सेप्टेम्बरमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी–एमालेबीच एकीकरण भएर नेकपा गठन भएपछि उक्त पार्टीको नेताका रूपमा प्रचण्डले भारतको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराज लगाएत अन्य नेतासँग पनि भेट गरेका थिए ।
चीन, सेप्टेम्बर २०१८
सन् २०१८ सेप्टेम्बरमा भारतबाट फर्केको एक हप्ता नबित्दै प्रचण्ड चार दिनका लागि चीन भ्रमणमा गएका थिए । उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रणा गरेको थियो । सोही निम्तामा उनी चीन गएका थिए ।
अमेरिका, मार्च २०१९
भेनेजुएला प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएको एक महिनापछि दाहाल पत्नी सीताको उपचार गर्न अमेरिका गएका छन् । उनको यो भ्रमण १० दिन लामो हुने बताइएको छ । अहिलेको उनको अमेरिका भ्रमणलाई लिएर मान्छेमा चासो बढेको थियो । तर, त्यसलाई साम्य पार्ने काम अमेरिका आफैँले गरिदिएको छ । (बिबिसीको सहयोगमा)
प्रतिक्रिया