उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो । त्री–देशीय नाकाको रूपमा लिइएको किमाथांका नाकाका कारण भोटखोला गाउँपालिका राज्यको पहिलो नजरमा परेको छ ।

तर, विषयगत रूपमा रहेको आधारभूत विकासका कार्यहरू नहुँदा भोटखोलावासी राज्यको पहुँचबाट टाढा बस्नु परेको छ । विशेषगरी यहाँका स्थानीय सडक सञ्जालले नजोडिँदा यातायात तथा ढुवानी सेवाबाट वञ्चित हुनुपरेको त छनै आधारभूत स्वास्थ्य सुविधासमेत नपाउँदा राज्यबाटै उपेक्षा गरिएको महसुस गर्ने गरेका छन् ।

विभिन्न समयमा भएको मुलुक परिवर्तनले देशका कुनाकाप्चासम्म राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा व्यापक परिवर्तन आयो । तर, भोटखोला गाउँपालिका क्षेत्रले यो परिवर्तनको अनुभव नै गर्न सकेको छैन । न छिमेकी मित्रराष्ट्र चीनबाट आधारभूत सेवा लिन सके । जसले गर्दा स्वास्थ्य क्षेत्रकै सेवा लिन आयस्रोत नभएका भोटखोलावासीले काठमाडांै पुग्नुपर्छ र लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यताका कारण घरखेत बेच्नुपर्ने अवस्था रहेको डुक्पा थिकेपा भोटेले बताए ।

बिरामीले उपचार सुविधाका लागि स्वास्थ्य केन्द्रमा पुग्न हवाइ यातायातका साधन हेलिकोप्टरका लागि खर्च गर्नुपरेको छ । मौसम प्रतिकूल भएको वेला यो यातायात पनि भरपर्दो हुँदैन । मौसम अनुकूलता र आर्थिक क्षमताका आधारमा हेलिकोप्टर सेवा लिन सकिन्छ । तर, दुवै मध्ये एक मात्र अवस्था भएमा यो सेवा भरपर्दो हुँदैन, वङ्जुक भोटेले बताए । आर्थिक क्षमता भएकाले बिरामी पर्दा हेलिकोप्टर चार्टर गर्छन् । तर, यहाँ उडान निषेधित क्षेत्र भएकाले उडान भर्न अनुमति लिनुपर्ने प्रक्रिया भने झन्झटिलो छ । जसले गर्दा बिरामीले अकालमा ज्यान गुमाउनु परेको हेलिकोप्टर व्यवसायी मिङ्मा शेर्पाले बताए ।

विगत पाँच वर्षदेखि हवाई एम्बुलेन्सको रूपमा काम गर्दै आएका मिङ्माले हालसम्म यस क्षेत्रबाट ३० भन्दा बढी बिरामीको उद्धार गरिसकेका छन् । सडक सञ्जाल नजोडिएका कारण स्थानीयहरू हेलिकोप्टर चार्टर गुर्नपर्ने बाध्यता छ । तर, निषेधित क्षेत्रका कारण समयमा बिरामी उद्धार गर्न पनि समस्या भएको छ । तर, उद्धार गर्ने कुरामा उडान अनुमति प्रक्रिया छिटो समयमा उपलब्ध गराउनुपर्ने हेलिकोप्टर व्यवसायी बताउँछन् ।

किमाथांका भ्रमणमा देशका प्रभावशाली नेता तथा निकाय पुगिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छेदार, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वअर्थमन्त्री रामशरण महत लगायतका दर्जनौँ नेताले उक्त क्षेत्रको भ्रमण गरिसकेका छन् । तर, उनीहरू आएर पटकपटक सडक र किमाथांका नाका सञ्चालन गर्ने प्रतिवद्धताहरू भोटखोलावासीहरूले अझै बिर्सेका छैनन् ।

अहिले संखुवासभाबाट प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ६ जना सांसदहरू निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले भोटखोलामा स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुली बत्तीलाई प्राथमिकता दिनेछौँ भनेर निक्कै आशावादी बनाएका थिए । तर, ती चुनावी एजेन्डा नारामा मात्र सीमित भए ।

प्रतिक्रिया