गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि: महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।

महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै हिन्दु राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको उनले स्पष्ट पारे ।

सरकारले नेपाल कम्युनिष्ट पार्टीका (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गर्दै उनले वार्ता र संवादमार्फत समस्याको सामाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको बताए ।

महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको बताए ।

कांग्रेस प्रतिपक्ष भए पनि सो अनुसारको भूमिका निर्वाह गर्न नसकेको चर्चागर्दै उनले कांग्रेस पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको योगदानले देश यहाँसम्म आएको बताए ।

प्रतिक्रिया