कच्ची सडकको धुलोले स्थानीय बासिन्दा आजित

काठमाडौँ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै भएको हो । शंखरापुरवासीले शहरको सुविधा खासै पाएका छैनन् । अधिकांशलाई धुलो सताएको छ ।

चाबहिलबाट साँखु हुँदै मेलम्ची पुग्ने सडकखण्ड अन्तर्गतको जोरपाटी, थली इन्द्रेणी, साँखु, जहरसिंह पौवा, नाङलेभारे, छापभन्ञ्याङ हुँदै मेलम्चीसम्म सडक नजीक नजीक धेरै बस्ती बसेका छन् । सडकको मर्मत तथा स्तरोन्नति नहुँदा धुलोले उक्त सडकखण्ड र नजीकका बस्ती कुइरीमण्डल बन्न पुगेको छ भने सडक छेउका बासिन्दा धुलोको प्रत्यक्ष शिकार बन्न पुगेका छन् ।

शंखरापुर नगरपालिका–२ जहरसिंह पौवाका अजय चौलागाईं भन्छन्, “सडक छेउमा निकै सुविधा र सहज हुन्छ भनेर घर बनाएँ । अहिले सडकको अवस्था र धुलोका कारण निकै ठूलो गल्ती गरें जस्तो लागिरहेको छ । धुलोले प्रदूषण निकै बढाएको छ । धुलोले घर पूरै कुरुप बनेको छ । कच्ची सडक छेउमा घर हुनु भनेको सास्ती खेप्नु बाहेक केही नरहेको चौलागाईंले बताए ।

चाबहिलबाट साँखु ११ दशमलव ४६ किलोमिटर र साँखुदेखि मेलम्ची करीव २९ किलोमिटर कच्ची सडकखण्ड छ । सडकमा बाक्लो धुलो उड्छ । मेलम्ची पुग्ने छोटो सडक भएकाले उक्त सडकखण्डमा यातायातको चाप निकै छ । नियमित गुड्ने सवारीसाधनले उडाएको धुलोको कारण स्थानीय बासिन्दा आजित भएका छन् ।

शंखरापुर–१ नाङलेभारेका एकादत्त दंगाल भन्छन्, “श्वास फेर्न समेत गाह्रो छ । दिउँसै झ्यालढोका थुनेर बस्नुपर्ने अवस्था छ । जाडो महिनामा केही सहज त हुन्छ तर, गर्मी बढेसँगै न झ्यालढोका थुनेर भित्र बस्न सकिन्छ न त बाहिर नै बस्न सकिन्छ ।

शंखरापुर नगरपालिका पांग्रेबासकी सिलसिला ढकालले कपडा धोएर सुकाउनसमेत नपाउने गुनासो पोखिन् । “धुलोले आँगनमा कपडा सुकाउन सकिँदैन, अन्त लैजाने ठाउँ छैन, सडक कहिले बन्छ टुङ्गो छैन, उनको प्रश्न छ, “कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?

सडक नबन्दा सडक नजीकका बासिन्दाहरु रोगी बन्ने मुख्य कारण नै सडकबाट उडेको धुलोे हुन पुगेको छ । यस्तो समस्या चाबहिलबाट शंखरापुरको जहरसिंह पौवा हुँदै मेलम्चीसम्मको यात्रा गर्ने यात्रुहरु तथा सडक छेउका बासिन्दामा देखिएको छ ।

प्रदूषणकै कारण अहिले उक्त क्षेत्रका बासिन्दा धेरै पटक बिरामी परेका छन् । कतिपयलाई लामो समय नाक बन्द हुने समस्या छ । घाँटी चिलाउने तथा धुलोका कारण एलर्जी हुने समस्याबाट ग्रसित पनि धेरै छन् । हावामा मिसिएका मसिना कणहरु श्वासमार्फत शरीरभित्र सजिलै पस्ने भएकाले दीर्घकालीन रोग लाग्ने डर भएको शंखरापुरका भरत दंगालले बताए ।

जहरसिंह पौवाका नवराज ओझाले संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि आफूहरु सोही अधिकारबाट वञ्चित हुनुपरेको गुनासो गरे । शंखरापुर नगरपालिकाको प्रायःजसो क्षेत्र धुलोको प्रदूषणबाट आक्रान्त छन् । कतै कतै मान्छे नै ठम्याउन नसक्ने स्थिति आउने भएकाले यात्रा निकै सकसपूर्ण हुने गरेको यात्री लक्ष्मण दुलाले बताए ।

शंखरापुर भारेगाउँका मनोज दंगाल भन्छन्, “मान्छे नचिन्ने धुलोका बीच यात्रा गर्दा बिमारी नै भइन्छ । यसरी कति वर्षसम्म हामीले धुलो खानुपर्ने हो ? सडक बनाउन नसके ट्याङ्करबाट पानी खन्याएर धुलो मारे पनि निकै राहत पुग्ने उनको भनाइ छ ।

विसं २०७२ मा सडक विस्तार सुरु गरिएको भए पनि चाबहिल, साँखु सडकखण्डको करीव ११ दशमलव ४६ किलोमिटर सडक मर्मत अझै सम्पन्न हुन सकेको छैन । त्यस्तै, साँखुबाट शंखरापुरको नाङलेभारे हुँदै मेलम्ची पुग्ने सडक कसले निर्माण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माण भएको एक दशकभन्दा बढी समय बित्दासमेत उक्त सडकको स्तरोन्नति हुन सकेको छैन ।

त्यस्तै, चाबहिल–साँखु सडकमा पर्ने जग्गाको मुआब्जा दिन सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएपछि मुआब्जा प्रक्रियामा जाँदा सडक निर्माण केही ढिला हुन पुगेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले बताए ।

चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजनासहित अहिले धमाधम निर्माण कार्य भैरहेको उनले बताए । कालोपत्रका लागि गिट्टी राख्ने काम भैरहेको छ । अब छिट्टै सडकको निर्माण सम्पन्न हुने श्रेष्ठको विश्वास छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा उक्त सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत गर्ने यस सडकखण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेकाले सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या पर्ने गरेको दक्षिणढोकाका स्थानीयवासी नानुमैयाँ खड्काले बताइन् ।

सडक नबन्दा व्यापार व्यवसाय गर्नेहरुका लागि त झन् धेरै समस्या छ । धुलोका कारण पहिलेको तुलनामा ८५ प्रतिशत व्यापार घटेको नारायणटार डेरीका भीमसेन सापकोटाले बताए । अहिले व्यापार घटेर भाडा तिर्नै नपुग्ने अवस्था पुगेको भन्दै उनले सडक निर्माणमा तीव्रता दिन आग्रह गरे ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार जोरपाटी, साँखु हुँदै मेलम्चीसम्म दैनिक २५० भन्दा बढी टिप्पर गुड्छन् । सडकको अवस्था नाजुक र गाडीको चाप अत्यधिक भएकाले प्रायः उक्त सडकखण्डमा सवारी दुर्घटना हुने गरेको प्रभागकी प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।

साँघुरो सडकमा भारी बोकेका टिप्परले झनै धेरै धुलो उडाउने गर्छन् । यस अतिरिक्त दैनिक सयौंको सङ्ख्यामा अन्य सवारीसाधन गुड्दा वायु प्रदूषण बढ्छ नै । लामो समयदेखि धुलोको समस्या खेपेका शंखरापुरवासीको एउटै माग छ, सडक छिटो बनाइदेओस् । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लागोस् ।

प्रतिक्रिया