नौवटा स्थानीय तहमा १८ परीक्षा केन्द्र

हस्त चौलागाईं, कालिकोट । चैत १० गतेदेखि २१ गतेसम्म हुने एसइई परीक्षाका लागि कालिकोटका ९ स्थानीय तहमा १८ वटा परीक्षा केन्द्र निर्धारण गरीएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटले जनाएको छ । ती केन्द्रबाट जिल्लाका ३ हजार ८ सय परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकर भण्डारीका अनुसार, तीमध्ये नियमित साधारण तर्फ २ सय ६५ , नियमित प्राविधिक धारतर्फ ४७ जना, अपग्रेड ०७४ यताका २ सय ७० जना रहेका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा उत्तर पुस्तिका पुगिसकेको र प्रश्नपत्र भने ८ गते एकै साथ दिने भण्डारीले बताए ।

यसभन्दा अगाडि विद्यायालयले परीक्षा फितलो गरी सिकाई उपलब्धिमा वृद्धि गराउने तर, विद्यार्थी भने माथिल्लो तहमा कमजोर परिणाम देखिएकाले स्थानीय तहमा गठित शिक्षा विभागले यसपालिको परीक्षा कडाइ गरीने जनाएको छ । कडाईकाविच उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई स्थानीय तहले उचित पुरस्कार र अनुदानको पनि व्यवस्था गरेको नर्हरिनाथ गाउँपालिका शिक्षा विभाग प्रमुख गगनबहादुर फडेराले बताए ।

एकाइले परीक्षार्थीको संख्या र विद्यालयदेखि परीक्षा केन्द्रको दूरीका आधारमा पायकपर्ने ठाउँहरूमा केन्द्र निर्धारण गरेको जनाएको छ । कालिकोटको महावैदेखि पलातासम्मका नौ स्थानीय तहमा परीक्षार्थीको संख्याका आधारमा एसईई परीक्षा केन्द्र निर्धारण गरीएको छ ।

समन्वय एकाइले माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्न केन्द्राध्यक्षहरूलाई एकदिने प्रशिक्षण दिई परीक्षा केन्द्रमा खटाइसकेको बताए । उनले, पहिलो जस्तो परीक्षा फितलो नहुने पनि बताएका छन् ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९ (संशोधनसहित), एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नीतिगत व्यवस्था र निर्देशनहरूको अनिवार्य रूपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासँग सम्बन्धित सवै सरोकारवालाका लागि लागू हुनेगरी आचारसंहिता समेत निर्माण गरीएको छ ।

आचार संहिताअनुसार परीक्षार्थीहरूले परीक्षाको समयमा अनिवार्य रूपमा प्रवेशपत्र साथमा राख्नुपर्ने, प्रवेशपत्रमा उल्लिखित निर्देशनहरू तथा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका भएका परीक्षार्थीले पालन गर्नुपर्ने, प्रवेशपत्रविना परीक्षामा बस्न नपाउने, नबसाउने, अन्यथा परीक्षाबाट निष्कासित गर्न सकिने पनि नियम बनाइएको छ ।

प्रतिक्रिया