अस्थायी शिक्षकलाई बिदा गर्दै सरकार

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगले आन्तरिक परीक्षामा असफल भएका तथा परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकलाई बिदाइ गर्ने तयारी गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिने प्रक्रिया सुरु गरेको हो ।

केन्द्रले शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा (९) अनुसार ती शिक्षकको विवरण यकिन गरी सेवाको अवधि प्रमाणितसहित शिक्षक किताबखानामा सिफारिस गरेको छ । केन्द्रले फागुन २८ गते सबै एकाइलाई पत्राचार गरी विवरण संकलनका लागि सूचित गरेको हो । ऐनको ११ (च) को उपदफा १० (१) बमोजिम शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिएको आन्तरिक परीक्षामा दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई अधिकतम २० वर्षे मानी तोकिएको सुविधा दिइनेछ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका अनुसार देशभरबाट २७ हजार बढी अस्थायी शिक्षकलाई बिदा गरिने भएको छ ।

आयोगले असार २९ र ३० गते कुल २२ हजार ७६ पदका लागि भएको अस्थायी शिक्षकको परीक्षामा २२ हजार २ सय ३५ परीक्षार्थी सहभागी थिए । प्राथमिक तहमा १५ हजार ६ सय ९०, निमाविमा ३ हजार ५ सय ७५ र माविमा २ हजार ९ सय ७० परीक्षार्थीले प्रतिस्पर्धा गरेका हुन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका थिए । लिखित परिक्षामा छनोट भई अन्तर्वार्तामा अनुत्तीर्ण हुने शिक्षकको संख्या पनि निकै रहेको थियो ।

यसैबीच, शिक्षा तथा मानव स्रोत केन्द्रले यसरी अनुत्तीर्ण भएका र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकको अवकाश संख्यासहित बजेटसमेत माग गरिसकेको छ । यसरी, अवकास पाउने अस्थायी शिक्षकले सञ्चयकोष र औषधी उपचारबाहेक स्थायी शिक्षक सरह सबै सुविधा पाउने भएका छन् ।

प्रतिक्रिया