माछपुच्छ्रे उपयोगको मामिला

माछपुच्छ्रे हिमाललाई आरोहणको सूचीमा राख्ने कि नराख्ने ? भन्ने विषयमा मुलुकका पर्यटनविद्हरूबीच विवाद तथा बहस जारी छ । २०२० सालमा माछपुच्छ्रे हिमाल आरोहणका लागि निषेध गरिएको थियो । त्यस अघि अनेकौँ व्यक्ति तथा टोलीले यो हिमाल आरोहणको प्रयास गरेका थिए । तर, कोही पनि सफल भएनन् । त्यसैले माछपुच्छ्रे लाई कुमारी हिमालका नामले पनि पुकारिने गरिएको छ ।

सुन्दर पर्यटकीय नगरी पोखराको मख्य आकर्षक भनेकै माछपुच्छ्रे हिमाल हो । सुन्दरता हेरेरै पर्यटकहरू लोभिइरहेको अवस्थामा आरोहणकै अनुमति किन दिनुपर्यो ? भन्नेतर्क एकथरी पर्यटनविद्हरूको छ । उनीहरू भन्छन्, माछपुच्छ्रेको सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन । माछपुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ ? आजसम्म हिमाल आरोहणबाट कति कमायौँ र अब माछपुच्छ्रेबाट पनि कमाउने आशा राखेका छौँ ? ’ अर्काथरीको तर्क छ–‘आरोहणको अनुमति दिएर माछपुच्छ्रेको सौन्दर्यमा कमी आउँदैन, माछपुच्छ्रे जस्तो सुन्दर हिमाल आरोहणका लागि पर्यटक लोभिने भएकोले पोखरामा पर्यटन उद्योग अझ फस्टाउँछ । स्थानीय माछपुच्छ्रे गाउ “पालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ भन्छन्, ‘प्राकृतिक सम्पदालाई कत्ति पनि नोक्सान नपु¥याई जीविकोपार्जनसँग जोड्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्क गरेर हुँदैन । ’

माछपुच्छ्रे हिमाल उचाइका कारण प्रख्यात भएको होइन । सुन्दरता तथा भौगोलिक अवस्थितिका कारण प्रख्यात भएको हो । माछपुच्छ्रेको उचाइ ६ हजार ९ सय ९३ मात्रै हो । यो भन्दा बढी उचाइका हिमालको संख्या मुलुकमा ३ दर्जन भन्दा बढी छ । तर, झट्ट हेर्दा माछाको पुच्छरजस्तै देखिने यो सुन्दर हिमालको भौगोलिक अवस्थिति यस्तो छ कि जताबाट हेर्दा पनि उस्तै देखिन्छ धेरै टाढा तथा धेरै ठाउँबाट यो हिमाल निकै उचाइमा देखिन्छ ।

यो हिमाल झट्ट हेर्दा निकै अग्लो देखिनुको मुख्य कारण हो– ‘करिब आठ सय मिटर उचाइमा रहेको पोखरा उपत्यकाबाट ८ किलोमिटर टाढा हुनु ।’ उदाहरणका लागि ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथा हिमालको शीरदेखि फेदसम्म हेर्न पाँच हजार मिटर उचाइको आधार शिविर पुग्नु पर्छ तर आठ सय मिटर उचाइको पोखरा उपत्याकाबाटै करिव सात हजार मिटरको माछपुच्छ्रेको फेददेखि शीरसम्म देखिन्छ ।

कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्वीट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्यान्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौँ नम्बरमा माछपुच्छ्रे रहेको छ । सुन्दर माछपुच्छ्रेलाई कुमारी राख्दा नै उपयुक्त हुन्छ कि आरोहणका लागि खुल्ला गर्दा उपयुक्त हुन्छ ? भन्ने प्रश्नमा विवाद गरिरहनु जरुरी छैन । स्थानीय तहले जे उपयुक्त देख्छ त्यही निर्णय गर्न दिनु सर्वोत्तम विकल्प हो ।

दृश्यावलोकनको लागि मात्रै उपयोग गर्दा पोखरा महानगरपालिकाले फाइदा लिइरहेको छ । पोखराको पर्यटन व्यवसायबाट मुलुकले पनि ठूलो फाइदा लिइरहेको छ । तर, जुन ठाउँमा हिमाल छ त्यो ठाउँका स्थानीयका लागि ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मातं भने जस्तै देखिएको छ । आरोहण खुला गर्दा स्थानीय जनताले पनि त्यतिकै लाभ लिन सक्ने अवस्था रहन्छ जसरी सगरमाथा क्षेत्रका स्थानीयहरूले लाभ लिइरहेका छन् ।

जुन ठाउँको सम्पदाका नाममा आम्दानी भइरहेको छ त्यो आम्दानीको मुख्य हिस्सेदार त्यही ठाउँका स्थानीय हुन्छन् । तर, माछपुच्छ्रेको हकमा त्यस्तो हुन सकिहरको छैन । यदी माछपुच्छ्रेलाई कुमारीकै रूपमा राख्ने हो भने पोखराका हरेक पर्यटन व्यवसायीसँग निश्चित अतिरिक्त शुल्क लिएर माछपुच्छ्रे क्षेत्रका जनताको आर्थिक समृृद्धिका लागि खर्च गर्ने नीति ल्याउनुपर्छ । यदि त्यसका लागि पोखराका पर्यटन व्यवसायी तयार नहुने हो भने माछपुच्छ्रेको उपयोगको जिम्मा स्थानीयतहलाई नै दिनुपर्छ ।

प्रतिक्रिया