सरकार नै बलात्कारी र अपराधीको संरक्षणमा लागेको छ: नेता लेखक

अछाम । नेपालि कांग्रेसका नेता रमेश लेखकले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार नै बलात्कारी र अपराधीको संरक्षणमा लागेको आरोप लगाएका छन् ।

आज अछामको ढकारी गाउँपालिकामा आयोजित कांग्रेसको स्तरिय आमसभामा बोल्दै कञ्चपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ८ महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न नसकेकोमा उनले बलात्कारी र हत्याराको संरक्षणमा सरकार नै लागि परेको बताएका हुन् ।

उक्त ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाको सभापतित्व रहेको कार्यक्रममा कांग्रेस नेता लेखकले बिप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिकको निकास नभई यो निर्णयले झन् मुलुकमा द्वन्द्व मच्चाउने संकेत भएको ठोकुवा गरे ।

सोही क्रममा उनले भने, ‘सरकारले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर समस्याको सामाधान गर्न खोज्नु मुर्खता हो, शान्तिपूर्ण वार्ता गरेर समस्याको सामाधान खोज्नु पर्छ । सोही क्रममा बोल्दै नेता लेखकले हत्या हिंसा जस्ता गलत बाटोलाई त्यागेर नेत्र बिक्रम चन्द (बिप्लव) लाई शान्तिपूर्ण वार्तामा आउनसमेत आग्रह गरे ।

नेपाली कांग्रेस सधै हत्या, हिंसा र अपराधको बिरुद्धमा लडिरहेको नेता लेखकले दाबी गरे । गत २४ गते राष्ट्रिय सभागृहमा डा. सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता पनि राष्ट्रघाती सम्झौता भएको भन्दै गम्भीर आरोप लगाएका छन् ।

विखण्डकारीसँग सम्झौता गरेर सरकार पनि मुलुक टुक्राउने पक्षमा लागेको भन्दै कांग्रेस नेता लेखकले उक्त सम्झौताको बारेमा सरकारले खुल्ला रुपमा प्रष्ट पार्नु पर्ने माग गरे । सोही आमसभामा नेपालि कांग्रेस अछामका सभापति लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया