विद्यालयमा १५ वर्षपछि तालिमप्राप्त शिक्षक

सल्यान । जिल्लामा सुस्त श्रवण भएका विद्यार्थीका लागि सञ्चालित एक मात्र स्रोत विद्यालयले १५ वर्षपछि तालिम प्राप्त शिक्षक पाएको छ । सुस्त श्रवणसम्बन्धी अपांगता भएका बालबालिकाका लागि त्रिभुवन जन माध्यमिक विद्यालय भोटेचौर सल्यानमा ०५९ सालदेखि सञ्चालित स्रोत विद्यालयले बल्ल एक शिक्षक पाएको हो ।

राहत दरबन्दीमार्फत स्रोत विद्यालयमा एक जना शिक्षिकाको व्यवस्थापन भएपछि विद्यालयमा विद्यार्थीसमेत बढेको विद्यालयका प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए । पहिले जिल्लाभरिबाट १० जना जति सुस्त श्रवण भएका विद्यार्थी स्रोत विद्यालयमा पढ्दै आएका थिए उनले भने, ‘तालिम प्राप्त शिक्षक आएपछि अहिले भने विद्यालयमा १५ जना विद्यार्थी पुगेका छन् ।’

उनले केही विद्यार्थी स्रोत विद्यालयमा आउनका लागि अहिले पनि सम्पर्क गरिरहेको बताए । पहिलेको तुलनामा आफूले पढाउन सुरु गरेपछि अहिले विद्यार्थीको सिकाइ उपलव्धी बढेको स्रोत विद्यालयकी शिक्षिका शान्ता केसीले बताइन् । स्रोत विद्यालयमा अहिले ११ छात्र र चार छात्रा गरी १५ विद्यार्थी अध्ययनरत छन् । १० वर्षसम्म निजी विद्यालयमा पढाएकी शिक्षिका केसीले पढाउने क्रममा स्वरसम्बन्धी समस्या भएपछि सांकेतिक भाषा सिकेकी थिइन् ।

सिकेको सीप अहिले काम लाग्यो उनले भनिन्, ‘सुरुसुरुमा त सांकेतिक भाषामा पढाउादा निकै गाह्रो भयो । पछिपछि बालबालिकाहरूले सजिलै सिक्न थाले ।’ सुस्त श्रवण भएका बालबालिकालाई पढाउन सजिलो होस् भनेर छत्रेश्वरी गाउँपालिकाले स्मार्ट बोर्ड सहयोग गरेको छ । ‘गाउँपालिकाले स्रोत विद्यालयका लागि स्मार्ट बोर्डको सहयोग गरेको छ’, प्रधानाध्यापक भण्डारीले भने, ‘स्मार्ट बोर्डमा पनि सांकेतिक विधिबाट सिकाएका भिडियोहरू देखाउने गरेका हौँ ।’ स्रोत विद्यालयका १ देखि ५ कक्षा एक जना शिक्षिकाको भरमा चलिरहेका छन् ।

‘अहिले १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई पढाइरहेकी छु’, शिक्षिका केसीले भनिन्, ‘एउटै शिक्षकले सबै कक्षाका सबै विषय सिकाउनु पर्दा गाह्रोचाहिँ हुने गर्छ ।’ स्रोत विद्यालयमा पढ्न चाहने अपांगता भएका विद्यार्थीका लागि अहिले सरकारले प्रतिविद्यार्थी चार हजार रुपैयाँ प्रदान गर्दै आएको छ । विद्यालयले जिल्लाभर रहेका सुस्त श्रवणसम्बन्धी अपांगता भएका बालबालिका विद्यालय बाहिर रहेमा आपूmहरूले पढाउन सक्ने बताएको छ ।

पहिले प्रभावकारी पढाइ भएन भनेर अभिभावकहरूले पठाउन मान्दैनथे तर अहिले त्यो अवस्था छैन हामी जति पनि विद्यार्थी पढाउन सक्छौँ । स्रोत विद्यालयमा प्रभावकारी पढाइ हुन थालेपछि यसले जिल्लाको साक्षरता दर पनि बढ्नमा सहयोग पुग्नेछ । विद्यालय बाहिर रहेका बालबालिका मध्ये अपांगताको कारण पनि एक हो ।

प्रतिक्रिया