कला संस्कृति प्रस्तुतीका लागि ५३ विद्यार्थी बेलायत जाँदै

काठमाडौं । नेपाल र बेलायतबीच मौलिक कला संस्कृति तथा आदानप्रदान कार्यक्रमका लागि नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना बेलायत प्रस्थान गर्ने भएका छन् ।

हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङजास्थित त्रिशहिद पब्लिक स्कुल र काठमाडौंको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत जाने भएका हुन् ।

बिहीवार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले आगामी चैत्र १५ गते बेलायत प्रस्थान गर्ने बताए ।

स्याङजाकै पुरानो स्कुल त्रिशहिद पब्लिक स्कुलका २० जना विद्यार्थी र भ्याली पब्लिक स्कुलका २० जना विद्यार्थीका साथै अन्य विषयका शिक्षक गरी करीब ५३ जनाको टोली बेलायत जान लागेका छन् । उनीहरु त्यहाँका विभिन्न १४ स्कुलमा जाने कार्यक्रम तय भएको जानकारी दिए ।

त्यहाँ नेपाली विद्यार्थी र बेलायती विद्यार्थीहरुले आ आफ्नो कला र संस्कृतिलाई गीत नृत्यमार्फत प्रस्तुत गर्नेछन् । बेलायतको लण्डनबाट लगभग ३०० किलोमिटरको दुरीमा रहेको योर्कशायर शहरमा यो कार्यक्रम हुन लागेको हो । त्यहाँ उनीहरुको एक अर्कामा अन्तरसंवाद, छलफलसमेत हुनेछ ।

प्रतिक्रिया