निर्मला पन्त प्रकरण, यातना दिएकाे आरोपमा ६ प्रहरी हिरासतमा

कञ्चनपुर । १४ बर्षीया बालिका निर्मला पन्त प्रकरणले फेरी उग्ररुप लिन थालेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएकाे र प्रमाण मेटाएको आरोपमा प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर भए लगत्तै अदालतमा उपस्थित ६ जनालाई प्रहरी हिरासतमा राखेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालतमा मुद्दा पेश गरेपछि आरोपिहरुलाई हिरासतमा राखिएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

अवस्थिका अनुसार मुद्दा दायर भएलगत्तै अदालतमा हाजिर भएका छ जनालाई प्रहरी हिरासतमा राखिएको हो । आज बिहीबारदेखि नै थुनछेक बहस सुरु हुने हरिकृष्णले बताए । यातना र प्रमाण मेटाएको आरोपमा मुछिएका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा हाजिर नभएको अवस्थिको भनाई छ ।

यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रमाण मेटाएको आरोपमा यातनामा जोडिएका चार सहित थप चार जनाविरुद्ध मुद्दा दर्ता भएको बताइएको छ । पुस तीन गते तत्कालीन एसपी बिष्टसहित चार जनाको नाममा यातना कसुर र ४ जनाको नाममा प्रमाण मेटाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

प्रतिक्रिया